काँग्रेसमा महाधिवेशनको माहोल तातियो, देउवा फेरि सभापतिमा लड्ने !

डिसी नेपाल
५ असार २०७८ १६:५१

काठमाडौं। १४ औं महाधिवेशनको नयाँ मिति तोकिएसँगै नेपाली काँग्रेसमा महाधिवेशनको माहोल तातिएको छ। विहीबार र शुक्रबार बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको नयाँ मिति तय गरेको छ। यसअघि भदौ ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने मिति तय भएकोमा अब सो मितिलाई परिवर्तन गरी भदौ १६ देखि १९ सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय भएको छ।

काँग्रेस महाधिवेशनको मिति तोकिएको यो तेस्रो पटक हो। यसअघि २०७७ फागुनका लागि पहिलो मिति तोकिएको थियो, त्यसपछि भदौं पहिलो साता र अहिले भदौं दोस्रो तेस्रो साता।

भदौ १६ देखि १९ को मिति परिवर्तन गर्न नसकिने मिति भएकाले काँग्रेसमा अब महाधिवेशनबाट कुनै आशंका नरहेको नेताहरु बताउँछन्। संवैधानिक व्यवस्था अनुसार भदौमा महाधिवेशन गर्नुपर्ने बाध्यता रहेकाले अब काँग्रेसको महाधिवेशन हुनेमा सबै ढुृक्क देखिएका छन्। महाधिवेशनको माहोल तातिएसँगै सभापति शेरबहादुर देउवाले आफू निकटहरुसँग छलफल थालेका छन्। शनिबार सभापति देउवाले बढुानिलकण्ठस्थित आफ्नो निवासमा आफू निकट नेताहरुसँग छलफल गरेका छन्। छलफलमा सहभागी एक नेताले नाम नबताउने शर्तमा भने, ‘सभापति ज्युले अब आज महाधिवेशनबारे छलफल गर्न बोलाउनु भएको थियो। अब महाधिवेशन हुन्छ भन्नेमा सभापति ढुक्क हुनुहुन्छ।’

छलफलका क्रममा सभापति देउवाले आफू फेरि सभापतिमा उठ्ने भन्दै नेताहरुको सुझाव मागेका थिए। छलफलमा सहभागी नेताका अनुसार देउवाले अब फेरि आफै सभापतिमा लड्ने इच्छा व्यक्त गरेपछि नेताहरुले सहयोग गर्ने सुझाव दिएका थिए। छलफलमा सहमहामन्त्री सुनील थापा। केन्द्रीय सदस्यहरु भीष्मराज आङ्दाम्बे, ज्ञानेन्द्र बहादुर कार्की डिला संग्रौला, सीता गुरुङ, मीन विश्वकर्मालगायतका सहभागी थिए। एक नेताले डिसी नेपालसँग भने, ‘अब यसप्रकारका छलफल बुढानिलकण्ठमा निरन्तर हुनेछन्।’

देउवाले काँग्रेसले वर्तमान राजनीतिक संकटमा सबैसँग समन्वय गरेर अगाडि बढिरहेको र त्यसको नेतृत्व आफूले गरेको भन्दै फेरि पार्टीको नेतृत्व गर्दै पार्टीले सबैभन्दा ठूलो पार्टी बनाउने सोच रहेको बताएका थिए।

शनिबार देउवाले छलफल गरेको यो समूह देउवाको अति निकट समूह हो। तर, यो समूह पदाधिकारीमा प्रतिष्पर्धा गर्ने समूह भने होइन। देउवाले अब उपसभापति विमलेन्द्र निधी र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्री डा. प्रकाशसरण महतलगायतसँग छलफल गर्ने एक नेताले जानकारी दिए।
यसअिघ उपसभापति निधीले आफू पनि सभापतिको आकांक्षी रहेको भन्दै छलफल चलाएका थिए। तर, फागुन यता भने निधीले यो विषयमा छलफल गरेका छैनन्। तर, अब फेरि उनले छलफल चलाउन शुर गर्नेछन्।

उता देउवा इतर समूहमा भने महाधिवेशन केन्द्रित छलफलहरु निरन्तर हुँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *