एमाले विवाद के हुँदैछ?

डिसी नेपाल
६ असार २०७८ १४:०८

काठमाडौं। पार्टी विभाजनको संघारमा पुगेपछि त्यसलाई रोक्न भन्दै सत्तारुढ दल नेकपा एमालेका दोस्रो तहका नेता सक्रिय छन्। नेताहरुको भनाइलाई विश्वास गर्ने हो भने पार्टी सहमति नजिक नेताहरु पुगेका छन्। तर बाहिर कुनै ठोस परिणाम देखिएको छैन।

सर्वोच्च अदालतले नेकपा बदर गरेपछि पूर्ववत अवस्थामा फर्किएको एमालेको विवाद समाधानका लागि दोस्रो तहको नेताहरू सक्रिय रहेका छन्।

माधव नेपाल समूहको पार्टीलाई पुरानै अवस्थामा फर्काउनु पर्ने मागमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली तयार भएपछि दुवै पक्षबीच सहमति हुन लागेको हो। संस्थापन पक्ष र माधव नेपाल समूहका नेताहरुबीच घनिभूत छलफल भइरहेको र छलफल निष्कर्षउन्मुख भइरहेको नेताहरुले दाबी गरेका छन्।

दुवै समूहका नेताबीच पार्टीलाई एकतावद्ध बनाएर लैजाने विषयमा घनिभूत छलफल भइरहेको छ। ‘हामी दैनिकजसो छलफलमा छौं,अहिले सबै कुरा सुनाउने बेला भएको छैन,’ छलफलमा सहभागी एक नेताले भने, ‘अहिले म के मात्रै भन्छु भने छलफल सकारात्मक ढंगले अगाडि बढिरहेको छ। आशा गरौ चाँडै निष्कर्षमा पुग्छौं।’

नेपाल पक्षले सर्वोच्च अदालतको फैसलाअनुसार जेठ २ गतेको स्थितिमा पार्टी, जनसंगठन र पेसागत संगठनका सबै संरचनाहरूलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील बनाउन माग गर्दै आएको छ। सोहीअनुसार अगाडि बढ्न ओली पक्षका नेताहरू तयार भएका हुन्।

पार्टीभित्रको आन्तरिक विवाद बढ्दै जाँदा विपक्षी मोर्चा शक्तिशाली हुँदै जानु र प्रधानमन्त्री ओलीले एकपछि अर्को क्षति व्यहोर्नु पर्ने अवस्था आएपछि ओली पार्टी विवाद समाधान गर्न सकारात्मक भएका हुन्।

दुवै समूहकाे  सहमितअनुसार पहिलो बैठकले वर्तमान परिस्थितिअनुसार पार्टी केन्द्र र अन्य संरचनालाई अद्यावधिक गर्ने सहमति जुटेको दाबी गरिएको छ।

प्रधानमन्त्री ओलीले अन्य विषयमा सहमति जुट्दा नेपाल पक्षले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राख्नुभएको थियो। सो विषयमा पनि मध्यमार्गी बाटो खोज्ने सहमति भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *