विपक्षी गठबन्धनको बैठकमा निर्वाचन आयोगको भूमिकामाथि छलफल

डिसी नेपाल
६ असार २०७८ २०:५१

काठमाडौं। विपक्षी दलहरुको गठबन्धनको आइतबार बसेको बैठकमा निर्वाचन आयोगको भूमिकाबारे छलफल भएको छ। निर्वाचन आयोग संवैधानिक आयोग भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सेटिंगमा’ चलेको भन्दै आयोगको भूमिकाबारे छलफल भएको हो। बैठकमा सहभागी माओवादी केन्द्रकमा नेता देव गुरुङले निर्वाचन आयोगको भूमिका निष्पक्ष नदेखिएको विषयमा गठबन्धनका नेताहरुबीच छलफल भएको बताए। उनले डिसी नेपालसँग भने, ‘निर्वाचन आयोग संवैधानिक दायित्वबाट विमुख भएको सबैको निष्कर्ष रह्यो। अब त्यस विषयमा पनि एकजुट हुने कुरा भएको छ।’

काँग्रेस सभापति निवास बुढानिलकण्ठमा काँग्रेस, माओवादी केन्द्र, एमालको माधव समूह र जसपाका नेताहरुबीच छलफल आइतबार २ घण्टा छलफल भएको थियो। साँझ साढे ७ बजेसम्म चलेको बैठकमा गठबन्धनमा रहेका सबै दलहरु एक ढिक्का भएर लोकतन्त्र रक्षाका लागि अगाडि बढ्ने सहमति भएको गुरुङले जानकारी दिए।

छलफलमा विपक्षी गठबन्धनले प्रदेश नम्बर १, वागमती प्रदेश र लुम्बिनी प्रदेशमा पनि आफ्नो पक्षको सरकार बनाउन राजनीतिक पहल जारी राख्ने समझदारी गरेको छ। य स्तै बैठकमा पछिल्लो दिनका विकसित राजनीतिक घटनाक्रमको समीक्षा भएको छ। बैठकमा प्राकृतिक विपत्तिमा जनतालाई राहत दिन सरकार असफल भएको निष्कर्ष निकालिएको छ।

बैठकले गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश नम्बर २ मा गठबन्धन पक्षका सरकार बनेकाले ती सरकारलाई जनपक्षीय काममा केन्द्रित हुन निर्देशित गरेको छ। बैठकमा एमाले एकताको प्रयास जारी रहे पनि माधव नेपाल पक्षले गठबन्धन नछाड्ने जानकारी गराएको छ।

बैठकमा नेपाली काँग्रेसका तर्फबाट सभापती शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए। यस्तै माओबादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रबक्ता नारायणकाजी श्रेष्ठ र नेता देव गुरुङ सहभागी थिए। जनता समाजवादी पार्टीको तर्फबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिसद अध्यक्ष बाबुराम भट्टराई सहभागी थिए। यस्तै नेकपा एमाले माधव समूहको तर्फबाट वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावल सहभागी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *