कोरोना माहामारीमा औषधि व्यवसायीलाई भ्याई नभ्याई
सप्तरी। कोरोनाको माहामारीमा अन्य व्यवसाय ओरालो लागेको बेला औषधि व्यवसायीलाई भने भ्याई नभ्याई भएको छ। औषधि र मेडिकल सामग्री बिना डाक्टरले समेत उपचार गर्न नसक्ने भएकोले औषधि व्यवसायीहरू पहिलेभन्दा बढी खट्नु परेको हो।
सप्तरीका औषधि व्यवसायी तुला माझीका अनुसार कोरोना सङ्क्रमणबाट जोगिन सर्वसाधारण घरभित्रै बसिरहेका बेला उनीहरू भने पसल सञ्चालन गरेर बसेका छन्। माझीले भने, ‘औषधि विना कुनैपनि विरामीको ज्यान जोखिममा नपरोस् भनेर २४ घण्टा सेवा दिइरहेका छौं।’
राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालको छेउमा २० वर्षदेखि न्यू माझी मेडिकल औषधि पसल संचालन गरिरहेका माझी भन्छन्, ‘कोरोनाको महामारीमा स्वास्थ्यकर्मी, प्रहरी जस्तै हाम्रोपनि जिम्मेवारी बढेको छ।’
माझीले थपे, ‘हामी चुपलागेर बसिदियौं भने सरकारले जति प्रयास गरेपनि माहामारी न्यूनीकरण गर्न सक्दैन।’ माझीले भने, ‘अहिलेको परिस्थितिमा माहामारी न्यूनीकरणका लागि हामी पूर्णरूपमा जिम्मेवार भएका छौँ।’
यस्तो माहामारीका बेला पनि जोखिमबाट बच्न छोडेर सबै औषधि व्यवसायीहरुले पसल खुल्ला राखेको दावी गरेका छन्। माझीको अनुभव छ, ‘कसलाई के भएको छ ? हामीलाई थाहा हुदैन।’ ‘आउँछन्, औषधि माग्छन्, पैसा दिएर जान्छन्’ माझीले थपे, ‘कतिबेला के हुन्छ ? डर लागि रहेको हुन्छ तर सावधानी अपनाएर काम गर्छौं।’
उनीहरूको व्यापार पहिले जस्तै भएपनि कोरोना सम्बन्धि औषधि अहिले बढी बिक्ने गरेको माझीले बताए। उनका अनुसार औषधि लिन बिरामी वा आफन्त आउँने बित्तिकै दिएर पठाउनुपर्ने बाध्यता छ पसलमा भीडभाड नगरी आफू जोगिएर कसरी सहज तरिकाले सेवा दिनुपर्छ त्यसका लागि आफै सावधान भएर काम गर्नुपरेको उनको अनुभव छ।
राजविराज नगरपालिका – २ तितरी गाछीमा १९ वर्षदेखि यमन मेडिकल औषधि पसल संचालन गर्दै आएका चन्द्रनारायण देवलाई कोभिडको दोस्रो लहर शुरू भएसँगै राम्ररी निन्द्रा लाग्न छोडेको छ। सामान्य बिरामीदेखि कोरोना सङ्क्रमित समेत सुझाव सल्लाहसँगै औषधि लिन पसलमा आउने गरेकोले भ्याइनभ्याई भएको उनको अनुभुति छ।
व्यवसाय एकातिर त छ नै तर घरमा स–साना बालबालिका नै आफ्ना कारणले सङ्क्रमित भइदिए झनै चुनौती थपिने चिन्ता छ। देवले व्यवसायिक जिम्मेवारीलाई पहिलो प्राथमिकता राखेको बताए।
समुदायमा पसल भएकोले कतिबेला कुन औषधि लिन बिरामी आइपुग्लान्? समयमा दिन नसकेर ज्यान जोखिममा पर्ने पो हो कि भन्ने चिन्ता लागि रहने उनको कथन छ।
सप्तरी सदरमुकाम राजविराजको मेरूदण्ड गजेन्द्र चोकको उत्तरपट्टि ३० वर्षदेखि शोभा मेडिकल पसल संचालन गर्दै आएका अजय झा समेत अहिले औषधि ब्यावसायीको ज्यान जोखिममा रहेको बताउँछन्।
उनी थप्छन्, ‘अस्पताल भित्र वा बाहिरका बिरामी स्वयं हाम्रो नजिक आउँछन्। हामीसँग सुझाब, सल्लाह माग्छन् दिनैपर्ने हुन्छ।’ ‘कतिबेला के हुन्छ? आङ्कलन गर्न सकिदैन।’ उनी भन्छन्, भ्याक्सिन पाएको छैन।
आपूmसँगै कोरना कालमा स्टाफहरूको ज्यान जोखिममा पर्न नदिन स्टाफलाई जागिरबाट हटाउन बाध्य भएको उनले बताए। पहिलेको तुलनामा अहिले ५० प्रतिशत मात्र ब्यापार भइरहेको जानकारी दिदैं झाले थपे, ‘पहिलेभन्दा अहिले यो व्यवसायमा पनि आम्दानी घटेको छ।’
पहिले बिरामी बिरामीका आफन्तले समस्या जानकारी गराएपछि आफै औषधि दिएर पठाउने गरेको तर अहिले डाक्टरसँग नजचाई औषधि नदिने गरेकोले ५० प्रतिशतले व्यापार झरेको झाको अनुभव छ।
उनी थप्छन्, ‘त्यसपछि बिरामी जचाँउछन्, जचाँउदैनन्, औषधि कहाँ किन्छन् थाहा हुदैन। जचाँएर मात्र औषधि लिनु भन्ने गरेको कारणले व्यापार पचास प्रतिशतमा झरेको झाको बुझाई छ।
उनी भन्छन् , ‘आफ्नो व्यवसायिक दायित्व निर्वाह गर्ने क्रममा औषधि व्यवसायीहरू पनि कोरोनाबाट अछुतो छैनन्।’
औषधि व्यवसायी संघ सप्तरीका अध्यक्ष तथा कोशी मेडिकल राजविराजका संचालक मनोहर सिंहले अरू बेलाभन्दा करोना कालमा औषधि व्यावसायीहरूले महत्वपूर्ण भूमिका खेलेको बताए।
सिंहले भने, ‘आफ्नो ज्यान जोखिममा राखेर बिरामीको ज्यान जोगाउन रातदिन हामी खटिरहेका छौं।’ औषधि बिना कसैको ज्यान नजाओस् भन्ने उनीहरूको चाहना छ।
उनले थपे, ‘२९ वर्षको मेरो व्यवसायिक अनुभवमा यो सबभन्दा डरलाग्दो अवस्था हो।’ सिंहका अनुसार यो भन्दा पहिले यस्तो अवस्था कहिले पनि आएको थिएन।
पसलमा काम गर्ने स्टाफलाई सङ्क्रमित हुन नदिन घर जान नदिएको सिंहले बताए। पसल सञ्चालन गर्नेलाई सावधानी अपनाउन लगाएर आफ्नो निगरानीमा राखेर काममा लगाई रहेको अध्यक्ष सिंहको भनाइ छ। सप्तरी जिल्लामा ३ सय ५० औंषधी पसल रहेको अध्यक्ष सिंहले बताए।
उनले थपे, ‘कोरोनाभन्दा पहिले कुनै डर थिएन। कोरोनामा आफैले सावधानी अपनाएर काम गर्नु पर्ने जोखिम बढेको छ।’ राजविराज नगरपालिका – २ की ७० वर्षीया सावित्रीदेवी देवले कोरोना महामारीको बेलामा समेत औषधि व्यवसायीहरूले आफ्नो जिम्मेवारी निर्वाह गरेको बताइन्। उनले भनिन्, ‘अरू सामान तत्कालै नभए पनि औषधि त तोकिएको समयमा नै नखाई हुँदैन।’
कोरोना सङ्क्रमित भएका बाहेक बुढापाका तथा अन्य बिरामीले समेत औषधि नियमित खानुपर्ने भएकोले औषधि पसलमा ग्राहकको भीड लाग्ने गरेको छ। अन्य पसलहरू जस्तो औषधि पसल बन्द भइदिएको भए कोरोनाभन्दा पनि अन्य कारणले बिरामीको ज्यान जाने संभावना बढ्ने निश्चित रहेको देवले बताइन्।
राजविराज नगरपालिका – १३ की ६४ वर्षीया रामकुमारी चौधरीलाई सुगर छ र दैनिक प्रेसरको औषधि पनि खानु पर्दछ। अहिले आएर उनलाई लाग्छ कि औषधि व्यावसायिहरू पेशा पनि अन्यन्तै जोखिम रहेको छ।
उनले भनिन्, ‘आफुलाई कोरोना सर्छ भनेर डरले बाहिर निस्किन, तर औषधि व्यवसायिलाई भन्ने बित्तिकै औषधि लिएर आईपुग्थे।’ ‘औषधि पसलेहरूले घरघरमा सेवा दिएकोमा उनी खुसी छन्।
‘औषधि समयमा नपाएको भए म त कोरोनाभन्दा पनि दीर्घ रोगले मर्ने थिए’ चौधरीले थपिन, ‘कोरोना कालमा औषधि व्यावसायीहरू चिकित्सक जस्तै भगवानको रूपमा प्रस्तुत भएका छन्।’
(सञ्चारिका समूह नेपाल)
Facebook Comment