अब जसपाको विवाद के हुन्छ?

डिसी नेपाल
९ असार २०७८ १६:५२

काठमाडौं। जेठ २१ र २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रिपरिषद्लाई सोमबार सर्वोच्च अदालतबाट कार्यान्वयन नगर्न आदेश दिएपछि जसपाको महन्थ ठाकुर समूहबाट मन्त्री बनेकाहरु पदमुक्त भएका छन्। जसपाबाट मन्त्री बनेका ११ जनाले पद गुमाएका हुन्।

पार्टीमा विभाजनकै जोखिम मोलेर मन्त्री बनेकाहरुले एक महिना पनि पदमा बस्न नपाएपछि उनीहरु अहिले बिखलबन्दमा परेका छन्।

जसपा भित्र ओली सरकारमा जाने कि नजाने भन्ने विषयमा विवाद हुँदा ठाकुर समूह विभाजनको जोखिम नै मोलेर सरकारमा गएको थियो। ठाकुर समूह सरकारमा गएपछि जसपाको उपेन्द्र समूहले मन्त्री बनेका सबै र अध्यक्ष ठाकुर तथा नेता सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गरेका छन्। र निर्वाचन आयोगमा पार्टी आधिकारिकताका लागि निवेदन पनि दिएका छन्।

तर अदालतको पछिल्लो फैसलाले एक महिनापनि नभई मन्त्रीपद गुमेपछि ठाकुर समूहको अबको रणनीति कस्तो होला? संसदीय दलमा बहुमत जुटाए पनि कार्यकारिणी समितिमा बहुमत गुमाएको ठाकुर समूह अहिले विघटित संसदमा न सांसद, न मन्त्रीको अवस्थामा पुगेको छ।

मधेश राजनीतिका जानकार पत्रकार चन्द्र किशोर दलहरुका आन्तरिक संघर्ष र दलका आन्तरिक कुराहरु अदालतमा पुग्ने गरेको भन्दै यस्ले दलहरुप्रति अदालतको हस्तक्षेप बढाउने सम्भावना पनि रहेको बताउँछन्।

अदालतको फैसलाले पार्टी विभाजनको संघारमा पुगेको जसपाको निलम्वित मन्त्रीको भविष्य कस्तो होला ? भन्ने प्रश्नमा उनले भने, ‘अहिले प्रजातन्त्रवादी नेता कहलिएका शेरबहादुर देउवा राजाबाट न्याय पाइएको भन्दै गएको हो। अर्का नेता माधवकुमार नेपाल आधा प्रतिगमन सच्चियो भनेर अहिले लोकतन्त्रवादी भएकै हुन्। त्यसकारण राजनीतिमा कुनै एउटा घटनाले नै नेताको भूमिका सकिन्छ भन्ने कुरा गलत हुन्छ।’

उनले अगाडि थपे, ‘जसपाबाट मन्त्री भएका नेताहरु कति दिन मन्त्री भए? भन्ने प्रश्न भन्दा पनि मधेश आन्दोलनका मुद्दाहरुमा ती नेताहरु कति संवेदनशील भए त्यो मुख्य प्रश्न हो।’

त्यसकारण जसपाको एक समूह सरकारमा गएर मधेश आन्दोलन लागेका कारण जेलमा परेका व्यक्तिहरुको लागि राहत मिलेको उनको तर्क छ।
उनले भने, ‘विपक्षी गठबन्धनलाई साथ दिएका उपेन्द्र यादव र उक्त गठबन्धनको नेतृत्व गरेका देउवाजीहरुबाट मधेश आन्दोलनका मुद्दाबारे कुनै पनि धारणा आएको छैन। त्यसकारण सरकारमा सहभागी भएर भए पनि केही माग मुद्धा सम्वोधन हुनु राम्रो कुरा हो। अब अदालतले मन्त्रिमण्डललाई वैधानिकता नदिएपनि उक्त मागहरु सम्वोधन गर्ने,नगर्ने ओलीजीको नैतिकतामा भर पर्छ।’

जसपा अध्यक्ष ठाकुर समूहका नेता तथा निवर्तमान मन्त्री विमलप्रसाद श्रीवास्तवले अदालतको पछिल्लो फैसला राजनीतिकरुपमा गलत भएपनि अदालतको निर्णय पालना गर्नुको विकल्प नरहेको बताए।

सरकारबाट बाहिरिए पनि राजनीतिक रुपमा कुनै पनि संकट नपरेको उनको तर्क छ। ‘अदालतको निर्णय अनुसार सरकारबाट हामी बाहिरियौँ। तर आफ्नो माग र मुद्दाप्रति अडिग रहेका छौँ’, उनले भने।

अब पार्टीभित्रको विवाद् भने तत्काल समाधान नहुने उनको भनाइ छ। उनले भने, ‘पार्टी भित्रको विवादबारे फेरि पनि निर्वाचन आयोगमा गएका छौँ। सोही अनुसार निकास निस्किने छ।’

सरकारबाट बाहिरिए पनि पार्टी भित्रको जिम्मेवारीमा कुनै पनि कम नहुने र सरकारमा गएर केही माग सम्वोधन गराएकाले जनताले आफूहरुलाई साथ दिने श्रीवास्तवको दावी छ। उनले भने, ‘हामी सरकारमा गएर नै धेरै मागहरु सम्वोधन गरायौँ।’ बाँकी रहेका र प्रक्रियामा रहेका मुद्दाहरु पनि प्रधानमन्त्री ओलीले पुरा गर्ने उनको विश्वास छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *