कांग्रेस महाधिवेशन : नेतृत्वका लागि नेताहरुबीच रस्साकस्सी

डिसी नेपाल
१० असार २०७८ ९:१०

काठमाडौ। महाधिवेशनको मिति नजिकिएसँगै नेपाली कांग्रेसभित्र चुनावी सरगर्मी बढेको छ। नेताहरुले धमाधम नेतृत्वमा दाबी गर्दै उम्मेद्वारी घोषणा गरेका छन्।

वर्तमान सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा कांग्रेसलाई पहिलो पार्टी बनाउने भन्दै पुन सभापतिमा दोहोरिने इच्छा देखाएका छन् भने लामो समयसम्म देउवाको सहयोगी रहेका वर्तमान उपसभापति विमलेन्द्र निधिले पनि आफूलाई सभापतिका रुपमा अगाडि सारेका छन्।

संस्थापन पक्षबाट देउवा र निधिले सभापतिमा उम्मेद्वारी दिने तय भइसक्दा पनि संस्थापन इतर पक्षबाट भने औपचारिक रुपमा सभापतिको उम्मेद्वारीको घोषणा भएको छैन। तर आकांक्षी धेरै हुँदा इतर पक्षमा समस्या देखिएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेल आफैं सभापतिका आकांक्षी हुन्, भने कोइराला परिवारबाट डा. शेखर कोइरालाले यसअघि नै आफू सभापतिमा उम्मेद्वारी दिने बताइसकेका छन्। वर्तमान महामन्त्री डा. शशांक कोइरालालाई पनि आकाक्षीका रुपमा हेरिएको छ भने पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि सभापतिमा उम्मेद्वारी दिने बताउँदै आएका छन्।

संस्थापन पक्षबाट अध्यक्षको उम्मेद्वारी दिने घोषणा गरेका उपप्रधानमन्त्री विमलेन्द्र निधिले १३ औं महाधिवेशनमा आफू र सभापति देउवाबीच १४ औं महाधिवेशनमा आफूलाई सघाउने सहमति भएको दाबी गर्छन्। तर देउवाले उक्त सहमतिको पालना गर्ने लक्षण देखाएका छैनन्।

आफू सभापतिमा उम्मेद्वारी दिने भन्दै सहयोग माग्न भन्दै बुढानिलकण्ढ पुगेका निधिलाई देउवाले आफूलाई नै सहयोग गर्न आग्रह गरेका थिए। तर निधि आफू कुनै पनि अवस्थामा पछि नहट्ने बताउँछन्। ‘म अगाडि बढिसकेँ अब रोकिन्न,’ उनले भने।

देउवाले आफू पुन एक पटक पार्टीको नेतृत्व गर्न इच्छुक रहेको भन्दै सातै प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गरिसकेका छन्। उक्त छलफलमा नेताहरुले देउवालाई टिम बनाएर अघि बढ्न सुझाव दिएको देउवा निकट स्रोतले जनाएको छ।

शुक्रबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति टुंगो लगाएको छ। मिति टुंगिएसँगै अहिले नेतृत्वका लागि शीर्ष नेताहरूको दौडधुप बढेको छ।

१३ औं महाधिवेशनमा तीन जनाबीच सभापतिका लागि प्रतिष्पर्धा भएको यिो। तर १४ औं महाधिवेशनमा सभापतिको आकांक्षी धेरै छन्। यो पटक देउवासँगै उपसभापति विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंहलगायत नेताहरूको दाबी सभापतिमा रहेको छ।

यस्तै, १३ औं महाविधेशनमा पराजित रामचन्द्र पौडेललगायतका नेताहरूले औपचारिक रूपमा घोषणा नगरे पनि आकांक्षा भने रहेको छ।
जुनसुकै परिस्थितिमा देउवा र निधि सभापतिका उम्मेदवार बने पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई महाधिवेशनमा नतिजा आफ्नो पक्षमा पार्न सहज भने छैन।

पौडेल समूहबाट महामन्त्री कोइराला, डा. शेखर कोइराला र पूर्व–महामन्त्री सिंहले समेत सभापतिको दाबी गरेका छन्। देउवा र पौडेल मात्रै नभएर १३ औं महाधिवेशनबाट तेस्रो शक्तिको रूपमा पूर्व–महामन्त्री कृष्णप्रसाद सिटौला समूह उदाएको छ। सभापतिमा तेस्रो धारबाट सिटौलाको पनि दाबी पर्ने सम्भावना छ।

यद्यपि, पार्टीभित्र पुस्तान्तरणको सन्दर्भमा चर्चा हुन थालेदेखि निधि, कोइराला र सिंहको दाबेदारीलाई पनि कम आँक्न नसकिने कांग्रेसका नेताहरूको तर्क छ ।

१३ औं महाधिवेशनमा देउवा, पौडेल र सिटौलाबीच प्रतिस्पर्धा भएको थियो । पहिलो निर्वाचनमा कुनै उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा सिटौलाको समर्थनमा देउवा निर्वाचित भएका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *