‘एक्लो नायक’ कृष्णप्रसाद भट्टराई
उपन्यास भन्ने बित्तिकै मलाई लाग्दथ्यो कपोलकल्पित कथा, कथाका नायक नायिका, असल खराब पात्र, ठाउँ, वियोगान्त वा संयोगान्त अन्त्य र त्यसले दिएको शिक्षा। ‘एक्लो नायक’ हरि अधिकारीले उपन्यास भनी कृष्णप्रसाद भट्टराईबारे प्रस्टसँग जीवनी शैलीमै लेख्नुभएको छ।
उपन्यास बुझाइको सन्दर्भमा मेरो ज्ञान ‘एक्लो नायक’ले फराकिलो बनाइदिएको अनुभूति भएको छ। त्यसमा पनि आफूले अत्यन्तै श्रद्धा भक्तिले मानेको नेता र आफ्नो राजनैतिक प्रतिबद्धता उहाँकै तालिम र प्रेरणाबाट जागेको हुनाले ‘एक्लो नायक’का पाना तीन सय एकहत्तर ध्यान दिएर पढें।
विगतमा ‘एक्लो नायक’को संगतबाट आफूले पनि थाहा पाएका सुख, दुःख मनन गरेका विषय घटना, दृश्य परिदृश्यलाई वर्तमानमा स्मरण गराइदिएर लेखकले मलाई साह्रै संवेदनशील बनाइदिनुभयो। शायद त्यही संवेदनशीलताको परिस्थिति सृजना गर्न सक्नु नै लेखकको सफलताको कसी होला।
लेखकीयको सुरुकै पहिलो हरफमा लेखक लेख्नुहुन्छ ‘‘एक्लो नायक’ विशुद्ध आख्यान होइन न त यो ऐतिहासिक वृत्तान्त नै हो।’ अतः उपन्यासकारले मूल नायकको जीवनवृत्त लेख्ने सिलसिलामा उनको जीवनसँग गाँसिएका र आवद्ध अन्य पात्र, परिस्थिति, सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, राजनैतिक, जातीयता सरर उधिनिँदै गएका छन्।
खोतल्नु नै नपर्ने गरी कथावस्तु नै तानिएर, उनिएर प्रस्टिँदै गएका छन्। सन्त नेता कृष्णप्रसाद भट्टराईजीलाई प्रायःले सम्बोधन गर्ने नाम नै यस उप्रान्त म प्रयोग गर्नेछु, सरलताका लागि ‘किसुनजी’।
‘एक्लो नायक’ सुरु भएको छ किसुनजी ब्रह्मलीन हुनुभएको क्षण २०६७ साल फागुन २० गते बिहान नर्भिक अस्पतालबाट। संवेदनशीलताले रसाएका आँखा नसुक्दै उहाँको ८७ औं जन्मउत्सवको माहोलमा पुर्याउँदा पाठक त्यहीँ उहाँको सरकारले दिएको आश्रममा सजीव रमझममा रमिरहन्छन्।
मेरो सौभाग्य भन्नुपर्यो त्यस महोत्सवमा म पनि जेठो छोरा संयोगलाई लिएर गएकी थिएँ। त्यो रमाइलो माहोलबाट फेरि अस्पताल फर्कँदाको पाठकको पीडाबोध त्यतिबेला उहाँका नजिकका व्यक्तिहरु भेला भएका ६ जना अनिता कपाली, पिएल सिंह, मदन अमात्य, रामहरि खतिवडा, दीप उपाध्याय र अंगरक्षक ऋषि गुरुङलाई जत्तिकै हुन्छ। डा. भरत रावतको भूमिका उत्तिकै महत्वपूर्ण देखिन्छ।
यो दृश्यमा मनै थाम्न गाह्रो चाहिँ मलाई पिएल र अनिता किसुनजीको अस्पतालको ओच्छ्यानको दुईतिर उभिएका, अन्यमनस्क रहेको दृश्य र अनितालाई बोल्न लगाएको लाग्यो। शायद मनमनै बोलेको होला–
‘उनको बुढा र थकित नशाहरुको जन्जालजस्तो देखिने कृशकाय देब्रे हातलाई आफ्ना दुवै हातको बीचमा राखेर हलुकासँग सुम्सुम्याएकी थिएँ मैले। एकैछिन आफ्नो बिल्कुल खालीजस्तो देखिने नेत्रकोटरभित्र धसिएका मलिन आँखाको ढकनीलाई विस्तारै उघारेर उनले मतिर हेरे। उनको नजर र चेतनामा मेरो अनुहार प्रस्ट हुन केही बेर लागेको हुनुपर्छ।
मैले भने निभ्ने तरखरमा लागेका उनका सतासी वर्ष पुराना धमिला आँखामा आँसु छचल्किएको देखें। डाँको छोडेर रुन मन लाग्यो मलाई। अस्पतालको सघन उपचार कक्षमा मलाई धक फुकाएर रुने छुट नै कहाँ थियो र? पोखिनै आँटेको आँसुको धारा र घाँटीबाट बाहिर निस्कन लागेको चित्कारलाई बलैले दबाएर म उनको पछाडि निःशब्द, निरावेश र निष्प्राण झैं उभिइरहें।’
यसपछिका दुई पानामा उपन्यासकारले जुन प्रकारले माया प्रेमको चरम उत्सर्ग र बिछोड विह्वल अवस्था सृजना गर्नु भएको छ त्यो सबै सत्य भए म अनिता कपालीलाई पुज्दछु। उहाँ महामण्डलेश्वर हुनुभयो भनेर होइन तर एक महान नेताको जीवनको उत्तरार्धमा वर्णाश्रम धर्मअनुसार सन्यासी वानप्रस्त जीवनमा किसुनजीको निःस्वार्थ सेवा गर्नुभएकोले।
वीपी किसुनजी र सिंहको लाइन छोडी उग्रवादीहरुसँग हातेमालो गरेका कारण र विदेशी चलखेल समेत थपिँदा दरबार हत्याकाण्ड र तत्पश्चात ‘एक्लो नायक’को नैतिक अवसानले गर्दा नेपालको हालको सम्हाल्न नसकिने अवस्थाको सृजना भएको छनक ‘एक्लो नायक’मा देखिन्छ।
किसुनजी र अनिताको सम्बन्धलाई अमेरिकी समाजमा पार्टनर भन्ने चलन छ। नेपालमा सहयात्री भन्दा हुन्छ। किन निजी सहायक भन्ने? अघिल्ला निजी सहायकद्वय कविता भट्टराई र जयन्द्र पाण्डेबारे उल्लेख्य केही छैन।
हरिजीले किसुनजीको आध्यात्मिक जीवनचर्याले गर्दा मृत्यु पनि सहज स्वीकार्य भएको अड्कल सही लाग्यो। मैले पनि मृत्युबारे एउटा सिद्धान्त बनाएर दुईटा लेख लेखें। माया गर्नेका छेउमा श्वास जान सजिलो हुन्छ। किसुनजीको जीवनमा यही चरितार्थ भएको देखिन्छ।
‘एक्लो नायक’को विशेषता उहाँको मृत्यु उपरान्त मात्र किसुनजीको राजनैतिक, बीपी कोइरालासँगको भेटघाट र सम्बन्ध, २०१७ सालपछिको कष्टकर जेलजीवन, गणेशमान सिंह र किसुनजीको जीवन्त छलफल, गिरिजा कोइरालासँगको वैचारिक टकराव घात प्रतिघात क्रमबद्ध रुपमा उधिनिँदै जानु हो।
जेलभित्रका सुरक्षाकर्मीका उपकथा उत्तिकै चाखलाग्दा गरी लेखिएका छन्। त्यस्तै किसुनजीको परिवारिक अवस्था, परिवारका सदस्यहरुको आनिबानी, परिस्थिति, ब्राह्मणले त्यतिबेला गर्ने कर्म जस्ता भित्रीभन्दा भित्री सन्दर्भहरु, बनारसी जीवनका साह्रै सजीव चित्रण गरिएको छ। तथापि यो किताब पढ्न थाल्दा अलिक अराजक लाग्न सक्छ।
किनकि नयाँ पिढीमा धैर्य कम हुँदै गएको मनोरोगले गर्दा यो ८७ वर्षे बुढो वास्तवमा को हो भन्ने त्यो अध्यायसम्म पुग्न पढिसक्ने हुन् कि होइनन् भनी मैले ‘एक्लो नायक’मै लेखिएका सत्य तथ्य आधारमा किसुनजीको मृत्यु उपरान्त उहाँको जीवन चक्र सिलसिलेवार मिलाएर लेख्ने धृष्टता गरें है हरिजी अन्यथा नहोस्।
किसुनजीको जीवनको सिलसिलेवार खोज्दै म १८ पाताबाट एकैचोटी १५३ मा पुग्दछु। पारिवारिक पृष्ठभूमि पनि उपन्यासकारले रोचक ढंगबाट लेख्नुभएकोले पाठकले धैर्य गरी १५२ पाना पनि पढिसक्नु राम्रो हुन्छ। सन्त नेता कृष्णप्रसाद भट्टराईका हजुरबा विश्वनाथ भट्टराई श्री ५ राजेन्द्रबिक्रम शाहका मूल राजपुरोहित हुनुहुन्थ्यो।
राजा राजेन्द्रकी कान्छी रानी राज्यलक्ष्मी देवीका षड्यन्त्रबाट कोतपर्वमा रक्तपात भएपछि जंगबहादुरको उदयसँगै राजा राजेन्द्र पदच्युत गरिएका हुन्छन्। उनी रानी लिएर बनारस गइ बस्ने इच्छा प्रकट गर्दा सत्तामा आएका जंगले इजाजत दिन्छन्।
राजपुरोहितलाई पनि बनारस लिएरै जान्छन्। रानीले आफ्नो दरबार बनाउँदा उहाँलाई पनि घर बनाइदिन्छिन् बनारसको महामूरगञ्जमा । विश्वनाथ भट्टराईका छोरा संकटाप्रसाद र उहाँका कान्छा छोरा कृष्णप्रसाद भट्टराई हुनुहुन्छ।
एउटा रोचक र उल्लेख्य सन्दर्भ के देखिन्छ भने किसुनजीका हजुरबाकी जजमान रानी षडयन्त्रकारी भए पनि राजपुरोहित सँगै लिएर गइ पुरोहितलाई समेत घर बनाइदिन्छिन्।
तर किसुनजीका बाबाकी जजमान रामनगर भारतकी नेपाली मूलकी रानी क्षेत्रकुमारी देवीले षड्यन्त्रको आशंकामा पुरोहित संकटाप्रसादलाई दरबारबाट निकालिदिन्छिन्, सर्वस्व हरण सहित। उनी पनि रामनगरबाट निष्काशित भइ बनारस फिर्दछन् चार छोरासहित जेठा बटुक, माइला नारायण, साहिँला गोपाल र कान्छा कृष्ण।
पुरेत्याइँ वा पण्डित्याइँ गर्न जान्ने नेपाली पुरुषका लागि बनारस अनुकूल सहर रहेछ। त्यस्तै शिक्षा आर्जनका लागि पनि बनारस राम्रो मानिन्थ्यो। चार भट्टराई दाजुभाइले सुरुमा संस्कृत शिक्षा आर्जन गरेतापनि गोपाल र किसुनजीले पछि अंग्रेजी पनि राम्रो अध्ययन गरे। छोरी पढाउने चलन नभए पनि संकटाजीले छोरीलाई पनि साक्षर बनाएका रहेछन्।
आर्थिक स्थिति खस्किँदै गएकाले परिवार आर्थिक मारमा परेको भनिएतापनि नेपालबाट गएका पाहुनाहरुलाई सत्कार गर्ने परम्परा रहेछ। लक्ष्मीप्रसाद देवकोटाजस्ता विशिष्ट पाहुना पनि उहाँहरुका डेरामा पुगेका रहेछन् । किसुनजीकी बहिनी शान्ति र देवकोटाको मायाप्रितीको परिभाषा मैले पाइन।
देवकोटा छोराको मृत्यु भएकाले विरहले बनारस गएका भन्ने उल्लेख छ। शायद म आजको परिवेशको सम्बन्ध खोज्छु क्यारे । पुरुष प्रधानताको त्यो बेला शायद महिलाको उपस्थिति अर्कै अर्थमा हुन्थ्यो होला।
जे भए पनि शान्तिको मृत्यु हृदयविदारक देखिन्छ, सबैका लागि। किसुनजीको डेराबाट अगाडि देखिने गंगाजीको वर्णन र घाट वरिपरिका क्रियाकलापहरु रोचक छन् । किसुनजीकी आमालाई संकटाकी बाहुनी वा ब्राह्मणी मात्र लेखेको मलाई चित्त बुझेन। नाम के होला?
जुद्धसमशेरले किसुनजीका बाबुलाई सातसय रुपैयाँ त्यति सजिलै किन पठाइदिए जस्तो लाग्यो। युगवाणी प्रकाशनको प्रसंग चाहिँ त्यसैताका बनारसमा आयुर्वेद पढ्ने मेरा बा पनि भन्नुहुन्थ्यो । किसुनजी जन्मिँदा भारतमा अंग्रेजको शासन थियो।
उहाँ र दाई गोपाल युवा हुँदा भारतीयहरु अंग्रेजी शासनविरुद्ध आन्दोलन गर्न थालेका थिए। यी दुई भट्टराई दाइभाइ पनि पूरै आन्दोलनमा संलग्न हुन्छन्। त्यसो त जेठा र माइला पनि जेल बसिसकेका थिए। साइकलो स्टाइलमा पर्चा, झण्डा छापी वितरण गरेको घटनाले मलाई आफैं संलग्न भएर किसुनजीको नेतृत्वमा नेपालमै गरेको स्मरण भयो।
गोपाल र किसुनजीको हिन्दी र अंग्रेजी वार्तालाप मैले काठमाडौंमा निकैपल्ट सुन्ने मौका पाएकी हुनाले यो किताबमा पढ्दा आनन्द लाग्यो। चिलिममा तमाखु मेरा बा पनि तान्नुहुन्थ्यो। त्यो पढें । रोचक लाग्यो।
दाइ गोपालसँग किसुनजी मात्र होइन विराटनगरबाट आएका आफन्त पाहुना पनि गिरफ्तार भएको दृश्यले राणाकाल र पञ्चायत कालमा गिरफ्तार गर्ने प्रचलन झैं लाग्यो। थुनुवा कोठाको वर्णन सजीव छ। थुना र जेल आफू पनि बसेकीले मलाई त्यतिबेलाको भारत र पञ्चायतकालीन बन्दीलाई थुनामा गरेको व्यवहारमा फरक लागेन।
यो सन्दर्भ पढ्दै जाँदा मलाई आफू त्यहीँ चुर्लुम्म डुबेझैं अनुभूति भयो। किसुनजी २० दिनपछि छुट्दा मेरो मन पनि प्रसन्न भयो। उहाँका आमा बाबु, कलेजका प्रोफेसर र साथी सबैले दाइभाइ थुनिएकोलाई सह्राना र प्रशंशा गरी किसुनजीको मनोबल उचो गराइदिएको देखिन्छ। उपन्यासकारले सम्बन्धित व्यक्तिहरुकै बोलीमा उनीहरुको भावना व्यक्त गराइदिएको उहाँको लेखनको सफलता हो।
त्यस्तै रमाइलो क्षण मलाई लागेको अरु पाठकलाई पनि लाग्ला नै। छात्र संघको उपाध्यक्षमा चुनाब लड्न सल्लाह दिन आएका लिला नटेश्वर प्रसाद बराल र किसुनजीको सजीव वार्ता गंगा किनारमा बसी गरेझैं लाग्छ। यहीँनिर किसुनजीको समानान्तर र रोचक समाचार गणेशमान सिंह नेपालको जेलबाट भागेकोसँग जोडिन पुग्छ।
नेपालमा एकतन्त्रीय जहाँनिया राणा शासन विरोधी भूमिगत आन्दोलन र भारतमा अंग्रेजी शासनविरुद्धको आन्दोलनमा भट्टराई दाइभाइ र अन्य नेपाली विद्यार्थीको आन्दोलन गाँसिन खोज्छन् र अन्ततोगत्वा गाँसिन्छन्।
बनारसका नेपाली धनाढ्य व्यापारी रामशंकरलाल श्रेष्ठले उनको कोठीमा नेपाली पाहुनालाई छुट्याइदिएको दुई कोठाको प्रसंगबाट उनी उदार हृदयका भएको थाहा हुन्छ। उनकै छोरा देव शंकर लालले विश्वास साथ किसुनजी र बराललाई गणेशमान सिंहको असली परिचय दिँदाको क्षण नेपालकै प्रजातान्त्रिक इतिहासमा कति महत्वपूर्ण हुने रहेछ भनेर भावविभोर बनाइदिन्छ। गणेशमान सिंहलाई अनाकर्षक लेख्नुको सट्टा अरु नै लेखेको भए हुने जस्तो लाग्यो मलाई।
कृष्ण बहादुर छद्मा नाममा भारत छिरेका राणा शासनका प्रखर विरोधी युवालाई नेपाली समुदायले जेलबाट भागेर भारत आएका गणेशमान भनी उनका भाषणबाट चिन्न थालेपछि उनी बनारस असुरक्षित ठानी दार्जिलिङतिर जान्छन्। तथापि किसुनजी र सिंहको मित्रताको गहिरो सम्बन्धको थालनी गराइदियो त्यो वातावरणले।
४० वर्षपछि प्रजातन्त्र पुनस्र्थापनापछि २०४६ सालमा राजा वीरेन्द्रले गणेशमान सिंहलाई प्रधानमन्त्री हुनु भन्दा उहाँले किसुनजीलाई अघि सार्नुभयो। आजका सत्ता पिपाशुहरुले यस्तो गहन कुरा बुझिदिए पो।
पाठकलाई उत्सुकता हुन थाल्छ किसुनजी र वीपीको भेट कसरी कहाँ र कहिले हुन्छ? तीन सय एकहत्तर पानाको उपन्यासमा किसुनजीले विश्वेश्वर प्रसाद कोइरालाबारे ईश्वर बरालको मुखबाट दुई सय उन्नाइस पानामा पुगेर सुन्नुहुन्छ।
त्यो पनि वीपीकै वक्तव्य प्रकाशन गराउने सन्दर्भमा। किसुनजी अमृत बजार पत्रिका त्यतिबेला भारतको प्रसिद्ध प्रकाशनमा वीपीको अपिल छपाउन सफल हुनुहुन्छ। त्यसअघि पटनाबाट प्रकाशित हुने सर्च लाइटमा पनि छापिएको थियो।
त्यो अपिल नेपालको तत्कालीन क्रुर राणा शासनविरुद्ध नेपालीहरुलाई संगठित हुन आह्वान गरेको भए पनि अंग्रेजीको अनुवाद गर्दा एउटा गल्ती भएको हो कि जस्तो मलाई लाग्यो। ‘नेपाल भारतको अविभाज्य भाग हो…’ चाहिँ वीपीले ठ्याक्कै यही लेख्नुभयो होला भन्नेचाहिँ मलाई लागेन।
यो भौगोलिक बनावटको रुपमा भनेको हुनुपर्छ। दुई सय बाइस पानामा वीपी किसुनजीलाई भेट्न पुगेको सन्दर्भ साह्रै रोचक र नाटकीय लाग्ने। एक अर्काप्रतिको सद्भाव ज्यादै सौहार्दपूर्ण देखिन्छ। तर त्यतिबेलै वीपीको घाँटीको क्यान्सरको लक्षण प्रस्ट देखिएको भन्ने चाहिँ कति सत्य हो म भन्न सक्दिन । उपन्यासकारले अनुसन्धान गरेरै त लेखेको होला नि।
जे भएपछि राणा शासनविरुद्ध लड्न पहिलोपल्ट १९४६ अक्टोबर ३१ का दिन बनारसको दुग्ध विनायकस्थित नरेन्द्र रेग्मीको घरमा भेला भइ संगठन बनाउने तयारी समिति बनाएको प्रसंग उल्लेखनीय छ। अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको संयोजक वीपी र महामन्त्री किसुनजी रहेको तयारी समिति कालान्तरमा नेपाली कांग्रेस बनेको यथार्थ वर्णन रोचक लाग्यो।
राजनीतिक इतिहासमा पढेका अन्य पात्रहरु देवीप्रसाद सापकोटा, बालचन्द्र शर्मा, गोपालप्रसाद भट्टराई, दीनानाथ सापकोटा, लक्ष्मीप्रसाद सापकोटा, ईश्वर बरालहरुको परिचय प्रस्टसँग दिइएको छ।
तयारी समितिले ३ महिनामै १९४७ को जनवरी २५ र २६ का दिन कलकत्ताको खासला कलेजमा पहिलो अधिवेशन सफलतापूर्वक गरेको र विधान मस्यौदामा किसुनजी नै ईश्वर बराल र बालचन्द्र शर्माका साथ छानिनुभएको सन्दर्भले मलाई २०४६ सालको प्रजातन्त्र पुनस्र्थापनापछि उहाँकै प्रधानमन्त्रीत्व कालमा नेपाल अधिराज्यको संविधान निर्माण गराउन सफल भएको अवस्थामा पुर्याेयो। आफूले पाएको लिएको जिम्मेवारी तुरुन्तै फत्ते गर्ने ‘एक्लो नायक’ हुनुहुँदो रहेछ किसुनजी।
भारतभरि छरिएका समान विचारका युवालाई समेटेर एक ढिक्का बनाउन सक्नु ठूलै सामथ्र्य हो। अधिवेशनले नाम परिवर्तन गरी नेपाली राष्ट्रिय कांग्रेस बनाएको प्रस्ट हुन्छ। उपस्थित सबैले वीपीलाई अध्यक्ष हुन आग्रह गर्दा उहाँले नेपालमा राणा शासनको यातना खपेर जेलमा थुनिएका नेपाल प्रजा परिषदका संस्थापक टंकप्रसाद आचार्यको नाम अघि सारी आफ्नो महानता देखाएको तथ्य सत्ययुगीन जस्तो लाग्छ। स्मरण रहोस भारतबाट अंग्रेजी शासन गइसकेको अवस्था थिएन । अतः भारतका नेतालाई सघाउने कुरामा पनि वादविवाद चलेन।
नेपालको प्रजातान्त्रिक इतिहासले बिर्सिसकेजस्ता व्यक्तिहरुको भूमिका उजागर गरी ठूलो गुन लगाएको छ ‘एक्लो नायक’ उपन्यासले। धनमान सिंह परियार, डिएन प्रधान, सूर्यमान बान्तवा, देवब्रत परियार, रुद्र गिरी, रामहरि जोशी, जयनारायण गिरीजस्ता जोशिला, आँटिला व्यक्तिहरुको उल्लेख्य भूमिका जोडेर नेपाली कांग्रेसको जग बलियो बनाइदिएको अनुभूति भयो मलाई।
किसुनजीका साहिँला दाजु गोपालप्रसाद भट्टराईका घरमा कति पल्ट गएँ खाना खाएँ। छोराछोरीसँग राम्रो सम्बन्ध छ। तापनि मैले उहाँको जीवनी गोरखापत्रको सम्पादक देखिमात्र थाहा पाएकी थिएँ। उहाँ भारतमा समेत त्यस्तो सम्मानित हुनुहुँदो रहेछ । छोरा विनोद र छोरी अनिताले किताब नलेखेको भए लेख्नु भन्ने मेरो सल्लाह छ।
किसुनजी त्यही सम्मेलनदेखि नै संगठन विभाग प्रमुख हुनुभएको र उहाँको संगठन गर्ने क्षमता ज्यादै प्रभावकारी थियो। किसुनजीका बाबुको छोरो प्रोफेसर बनोस् भन्ने चाहना भन्दा पनि तत्कालीन समयको माग र उहाँको नियतिले उहाँलाई ‘एक्लो नायक’ हुनेतिर धकेलिदिएको देखिन्छ।
किसुनजीको वीपीसँग जिन्दगीभर प्रगाढ सहयात्रा हुने प्रस्थान विन्दु त्यही सम्मेलन भयो। वीपी र गणेशमानको वैवाहिक जीवन छोराछोरी नागिनातिनी हुँदै गए भने किसुनजी नितान्त एक्लो रहनुभयो। दुई नेताको मृत्युपश्चात नेपाली कांग्रेसको सैद्धान्तिक आदर्श बोक्ने थेग्ने व्यक्ति किसुनजी आफ्ना समकालीनमा ‘एक्लो नायक’ पर्नुभएको प्रस्ट देखिन्छ।
उपन्यासको अत्यन्त रोचक क्षण किसुनजी, वीपी र केदारमान व्यथितको छद्म भेष र रुपमा काठमाडौं प्रवेश लाग्दछ। त्यतिबेलाको संचारमाध्यम विकसित नभइसकेको अवस्थामा गोप्य रुपमा व्यक्ति दौडाएर सम्पर्क सूत्र बनाइ त्यस्ता ठूला नेता स्वयं अघि सरी राणा शासनविरुद्ध छद्म रुपमा अभियान छेड्ने काम पढ्दा आङ जिरिङ्ग हुन्छ । वीपी र किसुनजी पण्डित भएको र व्यथितजी राँगा व्यापारी भएको दृश्य साह्रै फिल्मी छ।
देवसमशेरको बारेमा ऐतिहासिक दृष्टिले अलिक बढी लेख्नुपथ्र्यो जस्तो लाग्यो। किनकि सुधारवादी कार्य गर्न खोज्दा रोलवाला शासकले भएको दिमाग खुस्केको भनेर राँची निर्वासन गरेका हुन्। राँचीको अस्पताल पागललाई निको पार्नेमा कहलिएको थियो।
किसुनजी र व्यथितजीलाई भगाएर वीपीले राणा शासकका अगाडि गिरफ्तारी दिएर नेताको अब्बल परिचय दिएका छन्। केही दिनको केरकारपछि जेल चलान जहाँ आफ्ना दुई भाइ छन् तर देखादेख गर्न पाइँदैन त्यो परिदृश्य संवेदनशील र पीडादायक लाग्दछ।
अर्काको नाम र छद्म भेषमा उपत्यका छाडेका किसुनजीले दरभंगामा तेस्रो अधिवेशन गराउन सफल भए पनि वीपीको अनुपस्थितिले खल्लो भएको थियो । यता सदरजेल काठमाडौंमा वीपीलाई दिएका यातना सजीव छ। वीपीले गोप्य रुपमा स्वतन्त्र भारतका प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुलाई लेखेको चिठी र वीपीलाई छुटाउन नेहरुले गरेको प्रयास अविष्मरणीय छ।
राणा शासनको पतनको कारणमा उपन्यासकारले प्रधानमन्त्री पद र अन्य पदहरु रोलक्रम अर्थात जेठोबाट क्रमैले भाइहरुमा जाने गराइँदा धेरै श्रीमती राख्ने राणा शासकका सन्तानमै को जेठो भन्ने झगडा सुरु भयो।
त्यसलाई सम्हाल्न श्रीमतीको शुद्धताको आधारमा राणा ३ वर्गमा वर्गीकृत भएकाले सी क्लास राणाले प्रजातन्त्रवादीलाई सघाएर राणा शासनको अन्त्य भएको पुष्ट्याइँ दिएका छन्। यदि सी क्लासका राणाको अगुवाइमा भारतमा खोलेको दल र किसुनजी वीपीको दलमा कार्यगत एकता भएको सप्रमाण लेखिएको छ। यसमा सुवर्ण समशेर र महावीर समशेरको अथक प्रयास जोडिएको देखिन्छ।
सी क्लास राणाको दल र किसुनजीको दल मिली ९ अप्रिल १९५० मा नेपाली कांग्रेसको विधिवत जन्म हुन्छ। अप्रिल १० मा नव नेपाली कांग्रेसले वक्तव्य जारी गरी क्रुर राणा शासनको अवसानका लागि सशक्त लड्ने अठोट गर्दछ । वर्गले समेत हातहतियारले सहयोग गर्नेबारे उल्लेख गर्न छुटेको छैन ‘एक्लो नायक’।
नेपाली कांग्रेसका नेताद्वय वीपी कोइराला र सुवर्ण समशेरले क्रमशः युगवाणी साप्ताहिक बनारस र नेपाली कांग्रेसको मुखपत्र नेपाल प्रकाशमा आफ्नो लेखहरु लेखेर सशस्त्र क्रान्तिकारे प्रस्ट पारेपछि र बेरगनिमा सम्मेलनले सशस्त्र क्रान्ति स्वीकृत गरेपछिको माहोल अत्यन्तै रोचक, खतरापूर्ण र आशलाग्दोको सम्मिश्रण देखिन्छ। क्रान्तिको प्रक्रिया कसले, कहाँ कसरी र उत्सर्ग भन्ने थाहा पाउन मन भएमा ‘एक्लो नायक’को पाना २७३ – २८१ आफैं पढ्नु पर्छ ।
यति दुःख कष्ट र संघर्ष गरेर राजा त्रिभुवनलाई राजगद्दीमा बसाएको नेपाली कांग्रेस निर्वाचनमा बहुमतले जितेको नेता प्रधानमन्त्री र अन्य सबैलाई प्रजातान्त्रिक राजाको छोरा महेन्द्रले २०१७ साल पुस १ गते गरेको कू याने राजनैतिक षडयन्त्र संसारका कुनै पनि प्रजातन्त्रवादीलाई ग्राह्य हुन सक्ने अवस्था थिएन। राजा महेन्द्रले प्रजातन्त्रको मूल्य बुझेका भए निर्वाचित प्रधानमन्त्रीलाई यसरी जेल हाल्दैनथे । अन्ततः जेलमै उनको मृत्यु भयो।
किसुनजी सिद्धान्तवादी हुनाले राजा महेन्द्रले कागज गरी रिहा गर्ने प्रस्ताव गर्दा मञ्जुर नगरेकाले अझ लामो समय जेल बस्नु परेको थियो । फेरि महेन्द्रका छोरा वीरेन्द्रका पालामा तीन दशकपछि पुनः किसुनजी र गणेशमानजी प्रजातन्त्र पुनस्र्थापनाका लागि संघर्ष गर्नुपर्याे। यस पटक अनुदार राजा महेन्द्रका उदार प्रजातन्त्रप्रेमी छोरा राजा वीरेन्द्रले सजिलैसँग प्रजातन्त्र आन्दोलनकारीसँग सहयोगी हात बढाएकाले धेरै जनधनको क्षति हुन पाएन।
राजतन्त्र र प्रजातन्त्र सँगै हातेमालो गरेर हिँडेको देख्न नचाहने तत्वका चंगुलमा वीपीका भाइ गिरिजा परेकाले सुरुमा उल्लेख गरेको किसुनजीमाथिका घात प्रतिघातका कारण नेपाली कांग्रेस पंगु मात्र नभइ विभाजन र जोडिने कार्य भए पनि भावनात्मक रुपमा जोडिएन।
वीपी किसुनजी र सिंहको लाइन छोडी उग्रवादीहरुसँग हातेमालो गरेका कारण र विदेशी चलखेल समेत थपिँदा दरबार हत्याकाण्ड र तत्पश्चात ‘एक्लो नायक’को नैतिक अवसानले गर्दा नेपालको हालको सम्हाल्न नसकिने अवस्थाको सृजना भएको छनक ‘एक्लो नायक’मा देखिन्छ।
अन्तमा मैले लेख्नैपर्ने हुन्छ किसुनजीसँग राजनैतिक दीक्षित भएकी म धेरै वर्ष संगत गर्दा भन्दा यो उपन्यास पढेर उहाँको बारेमा जान्ने मौका पाएँ। मैले किसुनजीका बारेमा किताब लेखेकै भए यति संगठित रुपले घटनाक्रम उजागर गरी लेख्न शायद सक्तिन थिएँ। ‘एक्लो नायक’मा प्रकाशन मिति छापिएको रहेनछ।
२१ मेका दिन व्यक्तिगत भेटघाटका क्रममा सोध्दा हरिजीले भन्नुभयो २०७२ साल। अनुष्का प्रकाशनले ‘एक्लो नायक’ प्रकाशन गरेर नामै कमाएको हुनुपर्छ। मूल्य रु ४०० र अमेरिकी डलर १५ रहेको यो पुस्तकले दाम पनि कमाएको होला। दाम नकमाए पनि किसुनजीजस्ता महान व्यक्तित्वको बारेमा लेखिएको किताब प्रकाशन गर्न पाउनु नै अहोभाग्य हो।
‘एक्लो नायक’ नयाँ पिँढीका लागि नेपालमा नेपाली कांग्रेसको अगुवाइमा संघर्ष, प्रजातन्त्र प्राप्ति, अवसान र पुनः संघर्ष र प्राप्ति अनि किसुनजीको मृत्युसँगै नेपाली कांग्रेस, राजतन्त्र र प्रजातन्त्रको अर्धमृत्यु भएको कथाव्यथा थाहा पाउन भागवत गीता सावित हुनेछ।
प्रजातन्त्रवादी वा विरोधी सबैले पढ्दा किसुनजीको सैद्धान्तिक, संघर्षशील, सत्यवादिता र योगी प्रकृति र प्रवृत्तिले उहाँलाई सैद्धान्तिक ‘एक्लो नायक’ बनाए पनि उहाँसँग आत्मसात गर्ने धेरै राष्ट्रवादी शक्ति आज पनि रहेको छ। अस्तु।
Facebook Comment