कविता : आरक्षण
![कविता : आरक्षण](https://www.dcnepal.com/wp-content/uploads/2021/06/204001237_503656917627963_3498094173140329649_n.jpg)
युगदेखि युगसम्म
जूनलाई रात कै आरक्षणमा
घामलाइ दिन कै आरक्षणमा
दिनलाई दिन मात्रै
रातलाई रातमा बाधेर राखे झै
यो आरक्षणको अन्त्य कहिले हुन्छ
जवाफ देउ तिमी?
उ घाम बनेर उदाउँछ
तिम्रै आगनकै डिल बाट ट्क्रयाउँछ
जदौ मालिक
तिम्रो साइत बिग्रन्छ
यो आरक्षणको अन्त्य कहिले हुन्छ
जवाफ देउ तिमी ?
पिटिएर फलामका घनले
फुकिएर खलातीको बलले
कुदिएको मुर्ती भित्र भगवान भेट्छौ
उस्लाई अछुत बनाई
मन्दिर पस्न रोक लगाउछौ
यो आरक्षणको अन्त्य कहिले हुन्छ
जवाफ देउ तिमी ?
महल भित्र महेफिल सजाई
सारङ्गीको धुनमा रमाई
सिक्का भूईमा फ्याकेर
भन्छौ
आज त मेरो दिल नै छोयो तेरो गितले
यो आरक्षणको अन्त्य कहिले हुन्छ
जवाफ देउ तिमी ?
शहरका कुना काँप्चामा पुग्छ
फोहर उठाँउछ
कुचो झै रितिन्छ जिन्दगी
शहर सफा राख्नेलाई फोहोरीको सम्बोधन
यो आरक्षणको अन्त्य कहिले हुन्छ
जवाफ देउ तिमी ?
उमेर ले उ भन्दा कान्छो
अनुभवले उ भन्दा काँचो
सम्बोधन ” तिमी “नै लगाउछौ
यो आरक्षणको अन्त्य कहिले हुन्छ
जवाफ देउ तिमी ?
Facebook Comment