असारे विकास संस्कृति परिणाममुखी विकासको बाधक

डिसी नेपाल
१२ असार २०७८ १०:४५

कर्णाली । कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले असारे विकास संस्कृति परिणाममुखी विकासको बाधक भएको बताए।

उर्जा मन्त्रालयका सचिव, योजना महाशाखा तथा दशवटै जिल्लाका कार्यालय प्रमुखसँगको आजको भर्चुअल बैठकमा मन्त्री श्रेष्ठले असारको अन्त्यतिर गरिने विकासले कामको गुणस्तरमा प्रश्न चिन्ह खडा गर्ने जनाए। तोकिएकै समयमा बजेट कार्यान्वयन गर्ने परम्पराको विकास गर्न मन्त्रालयले कार्यान्वयनमुखी बजेट ल्याएको उनको दावी छ।

“असार महिनाको अन्त्यतिर निर्माण कार्य सम्पन्न गरेर प्रगति विवरण बुझाउने विद्यमान संस्कृतिको अन्त्य गर्न सबै क्षेत्र लाग्नुपर्दछ”, उनले भने, “परम्परागत विकासशैलीको निरन्तरताले आजको व्यवस्था प्रणालीलाई पनि त गिज्याइरहेको छ नि? सबैले इच्छाशक्ति देखाएर आ–आफ्नो दायित्व पुरा गरौं। हरेक योजनाहरु निर्धारित समयमै सम्पन्न हुन्छन् । असार कुर्नै पर्दैन।”

आगामी आवको बजेट समयमै कार्यान्वयन गर्नेतर्फ अहिलेदेखिनै योजना बनाउन कार्यालय प्रमुखहरुलाई उनले निर्देशन दिएका छन्। “मन्त्रालयले वितरणमुखी होइन, कार्यान्वयनमुखी बजेट ल्याएको छ। बेलैमा सम्पन्न गर्ने लक्ष्यका साथ अहिलेदेखिनै योजना बनाउनतर्फ लाग्नुहोस्”, मन्त्री श्रेष्ठले भने।

कर्णालीमा विकास योजनाहरुको कार्यान्वयन पक्ष एकदमै कमजोर रहेको औंल्याएका उनले बजेट अख्तियारी पाउनेबित्तिकै कार्यान्वयनतर्फ लागे असार कुर्नु नपर्ने र सबै योजना सम्पन्न हुने दावी गरे। भर्चुअल बैठकमा १० जिल्लाका कार्यालय प्रमुखहरुले आवश्यक प्राविधिक जनशक्ति नहुँदा काममा समस्या हुँदै आएको गुनासो राखेका थिए। उनीहरुले समयमै अख्तियारी नआउने विषयले पनि तोकिएको समयमा काम गर्न गाह्रो हुने गरेको औंल्याएका थिए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *