नेकपाबाट राष्ट्रियसभामा निर्वाचित भुसालको संसद सचिवालयलाई पत्रः म कुनै दलमा छैन, मेरो लेवी नकाट्नू

डिसी नेपाल
१३ असार २०७८ २१:०६

काठमाडौं। तत्कालिन नेकपाबाट राष्ट्रिय सभामा निर्वाचित एमालेको विद्रोही खेमाका नेता बेदुराम भुसालले नेकपा खारेज भएपछि आफू दलविहीन भएको जानकारी संसद सचिवलायलाई दिएका छन्। उनले आइतबार संसद सचिवालयलाई जानकारी दिएको डिसी नेपाललाई बताए।

२०७६ को माघमा राष्ट्रिय सभाको उपनिर्वाचनमा भुसाल तत्कालिन नेकपाको चुनाव चिन्ह सूर्यबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए। तर, २०७७ को फागुन २३ मा सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरु आ आफ्नो पूर्वपार्टीमा क्रियाशील भएका थिए। तर, भुसाल भने एमालेको माधव समूहमा छन्। अहिले सो समूह एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संघर्ष गरिरहेको छ।

भुसालले डिसी नेपालसँग भने, ‘नेकपा खारेज भएपछि हामी दलविहीन भएका छौं। माओवादी वा एमाले रोज्न पाउने कुरा हो। मैले दुबै दल रोजिन। म स्वतन्त्र हुँ। मैले यही जानकारी सचिवलायलाई गराएको छु।’ उनले राष्ट्रिय सभामा आफूलाई स्वतन्त्र सांसदको हैसियतमा कुर्सी व्यवस्थापन र एमालेको नाममा काटिँदै आएको लेबी पनि नकाट्न पत्राचार गरेका छन्। एमाले सांसदहरुले मासिक १२ हजार रुपैयाँ पार्टीलाई लेबी बुझाउँदै आएका छन्। सचिवालयले सांसदहरुको तलबबाट सोझै लेबी रकम एमालेको खातामा पठाउने गरेको छ।

भुसालले पनि एमाले ब्युँतिएपछि तीन महिनाको ३६ हजार रुपैयाँ एमालेलाई लेबी बुझाइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *