टोखाको न्यायिक समितिमा चार वर्षमा १४० उजुरी

डिसी नेपाल
१४ असार २०७८ १०:०३

काठमाडाैं । टोखा नगरपालिकाको न्यायिक समितिमा चार वर्षमा १४० उजुरी परेको छ। काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा अधिकांश उजुरी बाटोको विवाद तथा जग्गाको सिमाना मिचिएकोलगायतका छन्। न्यायिक समितिका संयोजक एवं नगर उपप्रमुख ज्ञानमाया डङ्गोलले जग्गाको सिमाना विवाद, बाटोको विवाद तथा महिला हिंसासम्बन्धी उजुरी न्यायिक समितिमा पर्ने गरेको जानकारी दिइन्।

यस्तै सम्बन्ध विच्छेद, करारनामा कार्यान्वयन, भत्किएको घर टहरा हटाई जग्गा खाली गरिपाऊँ भन्नेलगायतका उजूरीसमेत पर्ने गरेका छन् । टोखामा आर्थिक वर्ष २०७४/०७५ मा ३१, आव २०७५/०७६ मा ३६, आव २०७६/०७७ मा ३९ र चालु आव २०७७/७८ मा ३४ उजुरी परेका छन् । चालु आवमा परेका ३४ उजुरीमध्ये १७ उजुरी फैसला भइसकेको नगरपालिकाले जनाएको छ।

टोखाको न्यायिक समितिमा उपप्रमुख डङ्गोलको संयोजकत्वमा गोपीकृष्ण पाठक, चन्द्रप्रकाश श्रेष्ठ, दुर्गाप्रसाद अर्याल र सत्यनारायण डङ्गोल सदस्य रहेका छन्। सदस्य अर्याल र डङ्गोल कानूनी सल्लाहकारका रूपमा रहेका छन्। नगरपालिकामा आउने उजुरी सबै लिखितरूपमै आउने गरेको उपप्रमुख डङ्गोलको भनाइ छ।

नगरपालिकामा उजुरी आउने क्रम बढेपछि टोखाले प्रत्येक वडामा ‘मेलमिलाप केन्द्र’ स्थापना गर्ने भएको छ । टोखाको बुधबार सम्पन्न नवौँ नगरसभामा नगरप्रमुख प्रकाश अधिकारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेलमिलाप केन्द्रमा आवश्यक जनशक्तिलाई तालिम प्रदान गर्ने कार्यक्रम अगाडि सारेका छन्।

विसं २०७४ पुस २७ मा स्थापना भएको टोखाको न्यायिक समितिमा मुद्दाको सुनुवाइका लागि प्रत्येक सोमबार इजलास बस्दै आएको छ । सोमबार बस्ने इजालसका लागि आइतबार उजुरीको अध्ययन गर्दै आएको टोखाले जनाएको छ । मुद्दाको आवश्यकता हेरेर इजलास बस्ने दिन पनि बढाइने गरेको उपप्रमुख डङ्गोलले बताइन्। नगरपालिकाले कार्यविधि ऐन, २०७५ अनुसार न्याय दिँदै आएको छ । टोखा नगरपालिकामा ११ वडा छन्।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *