जमिनमुनि लाखौं लुकाएर फेसबुकमा ‘हिन्ट’ दिए, जसले भेट्टाउन सक्छ पैसा उसको

डिसी नेपाल
१४ असार २०७८ १५:१९

काठमाडौं। कोरोना महामारीले पछिल्लो १ वर्ष कैयौं मानिसहरुलाई घरमै रहन बाध्य पारेको छ । तर, अमेरिकाका २ साथीहरुले भने समस्यामा परेका मानिसहरुको जीवनमा खुसी भर्ने योजना बनाएका छन् । यसको लागि उनीहरुले निकै रोचक आइडिया रोजेका छन् ।

जोन म्याक्सिम र डेभिड क्लिन नामका यी साथीहरुले गत वर्ष ट्रेजर हन्ट अर्थात खजानाको खोजी जस्तै एक रोचक प्रतियोगिता सुरु गरेका थिए । उनीहरुले आफ्नो ५ हजार डलर उटाहको पहाडमा लुकाएका थिए । त्यसपछि उनीहरुले आम मानिसहरुसँग जसले यो पैसा खोज्न सक्छ त्यो पैसा उसैको हुने भनेका थिए ।

उनीहरुको उद्देश्य कोरोनाको यो समयमा समस्यामा परेका मानिसहरुको जीवनमा यो खजानाको खोजी प्रतियोगिताको माध्यमले रमाइलो ल्याउनु थियो । तर, उनीहरुले लुकाएको त्यो खजाना ४ दिनमै खोजियो । अब यस वर्ष जोन र डेभिडले दोस्रो ट्रेजर हन्ट सुरु गरेका छन् । यस पटक उनीहरुले १० हजार डलर जमिनमुनि गाडेका छन् । र, यो पैसा पनि जसले भेट्टाउँछ उसकै हुन्छ ।

फक्स न्यूजसँगको कुराकानीमा डेभिडले भने ‘हामीले महसुस गरेका थियौं कि कोभिडका कारण मानिसहरु निकै हताश र निराश महसुस गरिरहेका थिए । उनीहरु महामारीका कारण कैयौं समयदेखि घरभित्र समय बिताउन बाध्य थिए । यस क्रममा हामीले सोच्यौं कि मानिसहरुलाई सुरक्षित र रोचक तरिकाले घरबाहिर निकाल्ने के तरिका हुन सक्छ भनेर सोच्यौं । त्यसपछि हाम्रो दिमागमा ट्रेजर हन्टको आइडिया आयो ।’

अब यी साथीहरुले हरेक शुक्रबार सामाजिक संजालमार्फत लुकाइएको खजाना खोजीका लागि हिन्ट दिन्छन् । डेभिडका अनुसारयो खजानाको खोजीका लागि अहिलेसम्म १ हजारभन्दा धेरै मानिस जोडिइसकेका छन् । उटाहमात्र नभइ अलास्का र हवाइका मानिसहरुले पनि यसमा भाग लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *