प्रवेशाज्ञा प्रणालीमा नयाँ फड्को

डिसी नेपाल
१४ असार २०७८ २१:१०

काठमाडौं । सरकारले लामो समयदेखि विदेशी नागरिकलाई प्रदान गर्दै आएको हस्तलिखित प्रवेशाज्ञा प्रणालीलाई विस्थापन गर्दै विद्युतीय बनाएको छ । अध्यागमन विभागले विदेशी नागरिकलाई विगत ४५ वर्षदेखि हस्तलिखित प्रवेशाज्ञा उपलब्ध गराउँदै आएको थियो । विभागमा आज आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले क्यूआर कोड सहितको ‘प्रिन्टेड भिसा प्रणाली’को शुभारम्भ गरे ।

क्यूआर कोड सहितको प्रिन्टेड भिसा प्रणालीमा कम्यूटरमा प्रविष्ट गरिएका विवरणका आधारमा नेपाली पोर्टलले नै भिसा गरी भिसा स्टिकर छपाई गर्ने हुँदा साविकमा जस्तो हातले लेख्दा हुने त्रुटी तथा केरमेट नहुने र कम्प्युटरबाट प्रिन्ट गरी सिधै टाँस्न सकिने हुँदा सेवा प्रबाह छिटो छरितो हुने विभागको भनाइ छ ।

कसैले भिसा स्टिकरमा भएको विवरण केरमेट थपघट गरेमा क्यूआर कोडामा भएको विवरणका आधारमा पत्ता लगाउन सकिन्छ । विदेशी मूलुकका अध्यागमन विन्दुहरुमा पासपोर्ट हेर्ने क्रममा नेपालको भिसा अन्य देशहरुसंग मिल्दो जुल्दो हुने भएको कारण राष्ट्रिय स्वाभिमान अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने विश्वास लिईएको छ । सरकारी सेवालाई विद्युतीय माध्यमबाट प्रवाह गरी प्रभावकारीता ल्याउने र सुशासन स्थापना गर्न यस कार्यले टेवा पुग्ने गृहमन्त्री पौडेलको भनाइ थियो ।

उनले प्रवेशाज्ञामा गरिएको प्रविधियुक्त सुधारले नेपाली भिसालाई अन्तराष्ट्रिय स्तरमै विश्वसनीय, सुरक्षित र गुणस्तरीय बनाउन बल पुग्ने र नेपालको राष्ट्रिय सुरक्षा प्रणालीमा समेत सकारात्मक योगदान दिने उल्लेख गरे। कार्यक्रममा गृह सचिव, विभागका महानिर्देशकलगायतको उपस्थिती रहेको थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *