कांग्रेस महाधिवेशन : अलमलमा पौडेल समूह

डिसी नेपाल
१५ असार २०७८ ८:१३

काठमाडौं। नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिँदै गर्दा भावी नेतृत्वका लागि नेताहरुले सक्रियता बढाएका छन्। सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले सभापतिका लागि उम्मद्वारी दिने घोषणा गरेपनि संस्थापनइतर पक्षबाट हालसम्म कसैले पनि उम्मेद्वारी घोषणा गरेका छन्।

इतरपक्षमा सभापतिका आकाक्षी धेरै हुँदा उम्मेद्वारी घोषणामा समस्या भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरुलाई एक पटक आफूलाई कांग्रेसको सभापति बन्ने इच्छा भएको भन्दै सहयोगको अपेक्षा गरेका छन्।

उता केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आफूलाई सभापतिमा सहयोग गर्न पौडेललाई आग्रह गरेका छन्। सोमबार पौडेल भेट्न पौडेल निवास बोहोराटार पुगेका कोइरालाले यो पटक आफू उम्मेद्वारी दिने र पछि नहट्ने भन्दै सहयोगका लागि आग्रह गरेका छन्।

संस्थापनइतर समूहबाट महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंह पनि सभापतिका आकांक्षी हुन्।
संस्थापन पक्षबाट हालसम्म दुई जनामात्रै उम्मेद्वार देखिएपनि इतर समूहमा आकांक्षी धेरै देखिएका छन्।

संस्थापन पक्षबाटै उम्मेद्वारी दिएको विमलेन्द्र निधिले इतर समूहको पनि मत जित्ने प्रयास जारी राखेका छन्। विशेष गरी उनले महामन्त्री शशांक र पूर्व महामन्त्री प्रकाशमानको साथ खोजेका छन् र विभिन्न चरणमा उनीहरुबीच संवाद पनि भएको छ।

संस्थापनइतर समूहका आकांक्षी सभापतिको उम्मेद्वारका आकांक्षी धेरै भएपनि अहिले साझा उम्मेद्वारको खोजी सुरु भएको छ। सोमबार नेतृ सुजाता कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलालाई आफ्नो निवासमा बोलाएर संस्थापन इतर पक्षलाई मिलाउने प्रयास गरेकी छन्।

सुजाताले पौडेल समूहबाट एकजना साझा उम्मेद्वार बनाउन सुझाव दिएकी थिइन्। सो छलफलमा नेता सिटौलाले पौडेल समूहबाट एकजनामात्रै उम्मेद्वार भए आफूले पनि सहयोग गर्ने बताएका थिए।

तर पौडेल समूहलाई सभापतिको साझा उम्मेद्वार चयन गर्न समस्या देखिएको छ। पौडेलको एकपटक सभापति हुने इच्छा, उता कोइराला परिवारमा नेतृत्व लिनुपर्छ भन्ने तीन जना कोइराला (डा.शेखर, डा. शशांक र सुजाता) को मान्यताले साझा उम्मेद्वार चयन गर्न समस्या भएको हो।

१३ औं महाधिवेशनका सिटौलाले दोस्रो चरणमा देउवालाई समर्थन गर्दा देउवा सभापतिका विजयी भएका थिए। त्यसैले अहिले सिटौलालाई मिलाउन सुताजा सक्रिय भएकी हुन्।

सोमबार नै पौडेल समूहबाट सभापतिका आकांक्षी डा. शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका थिए।
कोइरालाले पौडेललाई आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका थिए।

जवाफमा नेता पौडेलले आफूलाई पनि एकपटक पार्टी सभापति बन्ने चाहना रहेको भन्दै यसपटक आफूलाई सघाएर अर्कोपटकका लागि मैदानमा उत्रने गरी वातावरण बनाउन आग्रह गरेका थिए। कांग्रेसको १४औं महाधिवेशन आगामी १६ देखि १९ भाद्रसम्म काठमाडौंमा हुने तय भइसकेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *