कांग्रेस नेतात्रयको छलफल : केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने निर्णय

डिसी नेपाल
१५ असार २०७८ १५:१६

काठमाडौं। नेपाली कांग्रेसका नेतात्रय विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रशानमान सिंहले शुक्रबार सबै केन्द्रीइ सदस्यसँग छलफल गर्ने भएका छन्। मंगलबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको तीन नेताबीचको छलफलले शुक्रबार सबै कन्द्रीय सदस्यसँग छलफल गर्ने निर्णय गरेको नेता सिंहले जानकारी दिए।

तीन जनाले मात्रै छलफल गर्दा निष्कर्षमा पुग्न नसकिने भन्दै उनीहरुबीच शुक्रबार महामन्त्री शशांक कोइरालाको टोखास्थित निवासमा सबै केन्द्रीय सदस्यसँग छलफल गर्न लागिएको नेता सिंहले बताए।

‘विमलेन्द्रजीको वैवाहिक वर्षगाँठको दिन सुरु भएको हाम्रोे छलफलकै निरन्तरता आजको छलफल पनि हो,’ बैठकपछि नेता सिंहले संचारकर्मीसँग भने, ‘आजको भेट पहिला नै तय भएको थियो। हामी तीन जना नेताले छलफल सुरु गरेपछि त्यसले देशव्यापी चर्चा पाएको छ। अब हामीले मात्र छलफल गरेर निष्कर्षमा पुग्ने होइन। त्यसैले शुक्रबार महामन्त्री शशांक कोइरालाको टोखास्थित निवासमा केन्द्रीय सदस्यसँग छलफल गर्ने निर्णय गरेका छौं।’

केन्द्रीय सदस्यसँग छलफलपछि १३ औं महाधिवेशनमा उम्मेद्वारी दिएका नेताहरुसँग भने छुट्टै छलफल गर्ने नेता सिंहले जानकारी दिए।
असारको १४ मा तीन नेताबीच दही चिउरा खाँदै आगामी महाधिवेशन, क्रियाशील सदस्यता र समायोजनाका विषयमा लामो छलफल भएको थियो।

छलफलमा कांग्रेस लोकतान्त्रिक पार्टी भएपनि लोकतान्त्रिक विधि अनुसार संचालन हुन नसकेको भन्दै उनीहरुले त्यसका लागि लोकतान्त्रिक तरिकाबाट महाधिवेशन सम्पन्न गराउन क्रियाशील सदस्यता र समायोजना गरिनुपर्नेमा जोड दिएका छन्।

‘नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो, यसलाई त्यसैगरी संचालन गराउनुपर्छ,’ नेता सिंहले भने, ‘अहिले क्रियाशील सदस्यता र समायोजनमा देखिएको सबै असन्तुष्टिलाई हल गर्नुपर्छ। विधि प्रक्रिया पुर्याएकाले सदस्यता पाउनुपर्छ भने आवश्यक प्रक्रिया नपुगेकालाई दिनु हुँदैन।’

नेता विमलेन्द्र निधिले सभापतिमा उम्मेद्वारी घोषणापछि डा. शशांक कोइराला र प्रकाशमान सिंहबीच नियमित छलफल हुन थालेको छ। आजको बैठकमा पनि महाधिवेशनको विषयमा छलफल भएको थियो।

निधिले उम्मेद्वारी घोषणा गरेपनि कोइराला र सिंह पनि सभापतिका आकांक्षी हुन्। निधिले संस्थापन पक्षबाट उम्मेद्वारी घोषणा गरेका हुन्। कोइराला र सिंह भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *