अमेरिकाबाट खोपः राष्ट्रपति भण्डारीको पत्र र खोप किन्ने विषय कहाँ पुग्यो ?

काठमाडौं। नेपालमा कोरोना महामारीको दोस्रो लहरले हाहाकार मच्चिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक भारत र चीनका राष्ट्रपति लगायत कोरोना विरुद्धको खोप उत्पादन गर्ने विश्वका शक्ति राष्ट्र अमेरिका र रुसका राष्ट्रपतिलाई पनि पत्र लेखेर सहयोग मागिन्। राष्ट्रपति भण्डारीले मे २८ मा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेर खोप सहयोग मागेकी थिइन्। वासिङटनस्थित नेपाली राजदूत डा. युवराज खतिवडाले सो पत्र राष्ट्रपति बाइडेनका सल्लाहाकार इर्भिन मसिंगालाई पत्र हस्तान्तरण गरेका थिए।
राष्ट्रपति भण्डारीले यो पत्र लेखेको एक महिनाभन्दा धेरै भइसक्दा उनको आग्रह अनुसार अमेरिकाले खोप सहयोग गर्ने कुनै निश्चित मिति नतोकेको वासिङटनस्थित नेपाल राजदूतवासले जनाएको छ। दूतावासका अनुसार सो पत्र हस्तान्तरण गर्दा नेपालको महामारीप्रति अमेरिकाले समवेदना प्रकट गर्दै सक्दो सहयोग गर्ने बचन दिएको दूतावासले जनाएको छ। त्यसपछि अमेरिकाले कोभ्याक्स कार्यक्रम अन्तरगत नेपाललागयत एसियाली मुलुकलाई खोप सहयोग गर्नें घोषणा गरे पनि सो घोषणा अनुसारको सहयोग कहिले नेपाल आउँछ भन्ने यकिन भएको छैन। दूतावासका अनुसार कोभ्याक्स कार्यक्रम अन्तरगत आगामी अगस्टदेखि सहयोग आउने सम्भावना छ। तर कति डोज आउँछ भन्ने यकिन भने भइसकेको छैन।
नेपालमा कोरोनाले हाहाकार मच्चाएपछि नेपालले अमेरिकाबाट खोप किन्ने तयारीसमेत गरेको थियो। अमेरिकी खोप उत्पादन गर्ने कम्पनी जोन्सन एण्ड जोन्सन र मडेर्नाबाट खोप किन्ने प्रक्रिया शुरु गरेको थियो। जोन्सन एन्ड जोन्सनसँग नेपालले ५० लाख डोज किन्नका लागि १७ जुनमा जोन्सन एन्ड एन्डका प्रतिनिधि र स्वास्थ्यमन्त्रालयबीच छलफल भएको थियो। जोन्सन एण्ड जोन्सनले नेपाललाई २०२२ भन्दा पहिला खोप विक्री गर्न नसक्ने जवाफ दिएको दूतावासले जनाएको छ। विश्वव्यापी सप्लाइ चेनका कारण २०२२ भन्दा पहिला उसले खोप दिन नसक्ने जनाएको हो।
यस्तै अर्को अमेरिकी कम्पनी मडेर्नाले पनि २०२२ भन्दा पहिलो खोप दिन नसक्ने जनाएको छ। उसँग नेपालले २० लाख डोज किन्ने तयारी गरेको थियो। उसले पनि ग्लोवल सप्लाइ चेनको कारण देखाउँदै २०२२ भन्दा पहिला खोप दिन नसकिने जनाएको हो।
नेपालले अर्को अमेरिकी कम्पनी नोभाभ्याक्ससँग पनि खोप किन्नका लागि अप्रोच गरेको थियो। तर, सो कम्पनीले कमर्सियल उत्पादनका लागि अनुमति नै नभएको जनाएको छ। उसले अनुमति पाएपछि यो विषयमा कुरा गर्न सकिने जनाएको छ।
Facebook Comment