राष्ट्रपतिले प्रधानमन्त्रीको कार्यकर्ता जस्तो भएर संसद भंग गर्नुभयो : देउवा

डिसी नेपाल
१६ असार २०७८ १७:५६

काठमाडौं। काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता जस्तो भएको टिप्पणी गरेका छनद्। विपक्षी गठबन्धनले बुधबार नागरिक समाजका प्रतिनिधिहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संसद भंग गर्ने व्यवस्थाबारे यसअघि सर्वोच्च अदालतले स्पष्ट व्याख्या गरिसकेको भन्दै अहिले भंग गर्ने अवस्था नै नरहेको बताए। उनले राष्ट्रपतिले प्रधानमन्त्रीको कार्यकर्ता जस्तो भएर संसद भंग गरेको टिप्पणी गरे।

सभापति देउवाले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम आफूले दावी गरेकाले आफूलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेकेमा असन्तुष्टि पोखे।

प्रनिधिसभा विघटन र देउवालाई प्रधानमन्त्री नियुक्त नगरेको विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ। सर्वोच्चको संवैधानिक इजलासमा यो मुद्दामा बहस भइरहेको छ। रिट निवेदकको बहस सकिएपछि सरकारी पक्षले बहस गरिरहेको छ। बुधबार पनि सरकारी पक्षको बहस जारी रह्यो। विहीबार सरकारी पक्षको बहस सकिएपछि शुक्रबार रिट निवेदकले जवाफी बहस गर्नेछन्। त्यसपछि एमीकस क्युरीको ३ घण्टाको बहस सकिएपछि आगामी सोमबार वा मंगलबारसम्म यो विषयमा सर्वोच्चको फैसला आउने सम्भावना छ।

फरक प्रसंगमा कार्यक्रममा सभापति देउवाले छिमेकी बदल्न नसकिने भन्दै दुबै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने बताएका छन्। उनले छिमेकीसँग सँधै राम्रो सम्बन्ध हुने भन्ने नरहेको भन्दै कहिलेकाही ठाकठुक हुने बताए। तर, छिमेकीसँग सम्बन्ध सुधार गरेर अगाडि जानुको विकल्प नरहेको उनको भनाइ छ। उनले छिमेकीले पनि नेपालप्रति सकरात्मक सोच राख्नुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *