‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्य योजना २०७८’ पारित

काठमाडौं। भारी बर्षाका कारण मुलुकभर बाढी पहिरोको विपत्ति आइलागेका बेला सरकारले मनसुनको समयमा विपद्बाट हुन सक्ने घटनाको न्यूनीकरणका लागि ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्य योजना २०७८’ पास गरेको छ।
सरकारले विपद्बाट हुने जोखिम र क्षति कम गर्न भन्दै विपद् प्रतिकार्य योजना पास गरेको हो। यसवर्ष सिन्धुपाल्चोकको मेलम्ची, मनाङको चामे लगायतका स्थानमा बाढी र पहिरोले ठूलो संख्यामा जनधनको क्षति पुर्याएको बेला सरकारले प्रतिकार्य योजना पास गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज दाहालले प्रतिकार्य योजना पारित भएसँगै सरकारका सबै संयन्त्रलाई बाढी, पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको काममा परिचालन गर्न सजिलो भएको बताए।
‘प्रतिकार्य योजना पास भएपछि उद्धार, राहतका साथै सबै संयन्त्र परिचालनमा सहयोग पुग्नेछ र अझ प्रभावकारी रुपमा संयन्त्रहरु परिचालित हुनेछन्’, प्रवक्ता दाहालले भने। प्रतिकार्यको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीन वटै सुरक्षा निकाय सम्मिलित डेडिकेटेड डिजास्टर रेस्पोन्स टिम (डीडीआरटी) समेत गठन गरेको छ।
प्रतिकार्य योजनामा विपद्बाट प्रभावित भएका स्थानमा ३० मिनेट भित्रमा उद्धारसमेत गर्ने गरी रणनीति तयार गरिएको छ। सडक सुविधा भएको स्थानमा सो समय भित्र प्रभावितहरूको उद्धारमा सुरक्षा संयन्त्र पुगिसक्ने सो रणनीतिमा उल्लेख छ।
प्रतिकार्य योजनामा घटना न्यूनीकरणका लागि जोखिम क्षेत्रको नक्सा तयार गरिएको,नक्सालाई आधार मानेर विपद्को जोखिमको मूल्याङ्कन र आवश्यक तयार पारिएको छ। विपद् प्रतिकार्य योजनामा मुख्य गरी पहिरोको वडा स्तरीय नक्सा तयार पारी जोखिम न्युनकिरणका कार्यक्रम समावेश गरिएको छ।
यस्तै बाढी र कोभिड तथा पहिरोको र कोभिडको जोखिम पहिचान गरी नक्सा समेत तयार पारिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष मनसुनजन्य विपद्का घटनाबाट १८ लाख बढी मानिस प्रभावित हुने पूर्वानुमान गरेको छ।
प्राधिकरणका अनुसार यस वर्ष २३ जिल्लाका १६ लाख ८७ हजार मानिस बाढी तथा डुबानबाट र २६ जिल्लाका एक लाख १७ हजार मानिस पहिरोबाट प्रभावित हुने पूर्वानुमान रहेको छ। मन्त्रालयले पारित गरेको प्रतिकार्य योजनामा मानिसको सुरक्षित व्यवस्थापनका लागि मुलुकका विभिन्न क्षेत्रमा १५५ वटा खुला स्थान तय गरिएको छ।
Facebook Comment