नवलपरासी प्रहरीको एक वर्षको उपलब्धीः ५५ फरार अपराधी पक्राउ, ७ करोड राजस्व दाखिला

नवलपरासी। नवलपरासी प्रहरी प्रमुखको रुपमा १३ महिना नेतृत्व सम्हालेका प्रहरी उपरीक्षक अजय केसीको कार्यकालमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले ५५ जना फरार अपराधी पक्राउ गर्न सफल भएको छ भने ७ करोड राजस्व दाखिला गरेको छ।
कार्यालयले दिएको जानकारी अनुसार सो अवधिमा ३४ वर्षदेखि फरार रहेका एक अभियुक्त सहित बिभिन्न अपराधमा संलग्न ५५ जना अपराधीलाई पक्राउ गर्न सफल भएको हो। पक्राउ गरिएका ती अभियुक्तहरुलाई अपराधमा संलग्न मुद्दाका आधारमा कारगार चलान गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए। जिउ मास्ने बेच्ने मुद्दाका फरार अभियुक्त सुनवल नगरपालिका–१२ भूमहीका ७६ वर्षीय पदमदत्त सापकोटालाई गत कात्तिकमा पक्राउ गरि कारगार चलान गरिएको प्रहरी नायब उपरीक्षक लामाले बताए।
यस्तै सो अवधीमा कार्यालयले बहुचर्चित पुजारी हत्या काण्डको सफल अपरेसन गरेर घटनामा सम्लग्न भारतीय नागरिकलाई समेत पक्राउ गर्न सफल भयो। गत कात्तिकमा जिल्लाको सुस्ता गाँउपालिका–४ पश्चिम टांडी स्थित हनुमान मन्दिरका ७२ बर्षीय पुजारी महंगु केवटको धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। हत्याकाण्डको अनुसन्धान गर्दै जाँदा उक्त घटनामा सम्लग्न भारतको महाराजगञ्ज जिल्ला ग्राम कबेलवा महेशपुरका २१ बर्षीय धनञ्जय मौर्यलाई पक्राउ गरि कर्तब्य ज्यान मुद्दामा कारगार चलान गरिएको प्रहरी उपरीक्षक अजय केसीले बताए। पुजारी हत्याकाण्डको सफल अनुसन्धान गरि अभियुक्तको सार्वजनिक गरेका केसीको त्यसबेला चौतर्फी प्रशंसा समेत भएको थियो।
१३ महिना बढी जिल्लाको कमाण्ड सम्हालेका एसपी केसीले जिल्लाको समग्र शान्ति सुरक्षा मजबुद बनाएका थिए भने सो अन्तरालमा झण्डै ७ करोड राजस्व दाखिला गर्न सफल भए। सो अवधिमा जिल्लाका बिभिन्न स्थानबाट ६ करोड ६९ लाख ५७ हजार ५ सय ८३ मूल्य बराबरको भन्सार छली नेपाल भित्र्याइएका हरियो केराउ, मरिच, छोडा, खाद, लत्ताकपडा, मोबाईल, बिद्युतीय सामाग्री, सवारी साधनका पार्टपुर्जा लगायतका अवैध मालसामान बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय चलान गरिएको सूचना अधिकारी लामाले जानकारी दिए। जिल्लाको बिभिन्न स्थानबाट ३ लाख २३ हजार ८ सय ४० मूल्य बराबरको अवैध काठ बरामद गरी डिभिजन बन कार्यालयमा बुझाईएको प्रहरी नायब उपरीक्षक लामाले बताए। यस्तै जिल्लाका बिभिन्न नदी तथा खोलाबाट नदीजन्य पदार्थको अवैध उत्खनन्मा संलग्न १ सय वटा ट्रयाक्टर, ३ वटा टिपर र २ वटा स्काभेटर समेत गरी जम्मा १ सय ५ वटा सवारी साधन पक्राउ गरी सम्बन्धीत स्थानीय तहमा बुझाइएको र सो बाट प्राप्त भएको २६ लाख ८१ हजार ७ सय १२ ?पैयां राजश्व सहित सो अवधिमा कुल ६ करोड ९९ लाख ६३ हजार १ सय ३५ रुपैयाँ बराबरको राजस्व दाखिला भएको डीएसपी लामाले बताए।
लामाका अनुसार चालु आर्थिक बर्ष ०७७÷०७८ को जेठ मसान्त सम्ममा जिल्ला प्रहरी कार्यालयमा ३२ वटा लागुऔषध कारोबार सम्बन्धी मुद्दा दर्ता भएको छ। सोही अवधिमा प्रहरीले गाँजा २ केजी ९० ग्राम ४८२ मिलिग्राम, डाईजोपाम १८२६ एम्पुल, नुर्फिन १८४६ एम्पुल, फेनार्गन १७७४ एम्पुल, नाईट्रोभेट २४३८ ट्याव्लेट, स्पास्मो ३२९६ एम्पुल, फेन्सिडिल ८६०० एम.एल र ओनेरेक्स १६१०० एमएल लगायतका लागुऔषध सहित सो कारोबारमा सम्लग्न ब्यक्तिलाई पक्राउ गर्न सफल भएको डीएसपी लामाले बताए। उक्त लागुऔषध कारोबारमा सम्लग्न ४३ जना नेपाली पुरुष र ४ जना विदेशी पुरुष गरी जम्मा ४७ जनालाई पक्राउ गरी कानून बमोजिम कारवाही गरिएको उनले बताए। यस्तै सवारी दुर्घटना मध्येका ४ ठूला दुर्घटनाका फरार अभियुक्तलाई कानुनी दायरामा ल्याई कार्वाही गर्न सफल भएका केसीको सो कार्यलाई स्थानीयले प्रशंसा समेत गरेका थिए।
कोरोना महामारीका बिच जिल्लाको सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्न सफल भएका केसीले जिल्लामा रहँदा हत्या, हिंसा, अपराध, चोरी डकैती, सिमा नाकाबाट हुने तस्करी र लागुऔषध ओसारपसार नियन्त्रण लगायत जिल्लाको समग्र शान्ति सुरक्षामा खरो सुरक्षा रणनीति अपनाएका थिए। संभावित चोरी, डकैती र अपराधजन्य घटनालाई मध्यनजर गर्दै सो रोकथाम र नियन्त्रणका लागि प्रहरी परिचालन, मोबाईल गस्ती, पट्रोलिङ, चेकिङ लगायतका गतिबिधिलाई उच्च प्राथमिकतामा राखेर काम गरेका केसीले जिल्ला मातहत रहेका युनिट इन्चार्ज र प्रहरी कर्मचारीहरुलाई उच्च मनोबलका साथ प्रहरीको आचरण र नैतिकतामा रहेर काम गर्न निर्देशन समेत दिएका थिए। जिल्लाको समग्र शान्ति सुरक्षालाई ध्यानमा राखेर केसीले जिल्लाको बिभिन्न स्थानमा सिसिटिभी क्यामेरा समेत जडान गरेका थिए। जिल्लाको सरवालमा ५, ज्यामिरेमा ४ र रामग्राममा ३ गरि १२ वटा सिसिटिभी क्यामेरा जडान गरिएको डिएसपी लामाले जानकारी दिए। यस्तै ज्यामिरेमा नाईट भिजन पोष्ट समेत खडा गरिएको उनले बताए।
एसपी केसीले जिल्लामा रहंदा आफू कुनै पनि खालको प्रलोभनमा नपरेको र कुनै पनि अपराधीलाई उन्मुक्ति नदिएको दाबी गरे। ‘म कसैको दबाब र प्रभावमा परिन।, मलाई कसैले पनि कुनै खालको दबाब पनि दिएनन्।, नवलपरासीका राजनीतिक दल, बुद्धिजिवी, नागरिक समाज, सञ्चारकर्मी र आम सर्वसाधारणबाट समेत मैले राम्रो सहयोग पाएँ। तर, कोरोना महामारीका कारण मैले सोचे जस्तो काम भने गर्न नसकेको अनुभूत गरेको छु’, केसीले भने।
आफू मातहत रहेका अन्य प्रहरी अधिकृत, युनिट इन्चार्ज र सबै प्रहरी कर्मचारीले उच्च मनोबलका साथ काम गरकोे स्मरण गर्दै केसीले आफूले कुनै नयां र नौलो काम नगरेको प्रतिक्रिया दिए। ‘मैले कुनै नयाँ र नौलो काम गरेको होइन, संगठनले दिएको जिम्मेवारी र दायित्व पूरा गरेको हो’, केसीले सहकर्मीको प्रशंसा गर्दै भने, ‘हामीले टिम वर्कमा रहेर काम गरेकै कारण संगठनको निर्देशन, ब्यबसायीक मर्यादा र जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न सक्यौं।’ यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा प्रहरी नायब उपरीक्षकका रुपमा कार्यरत रहेका केसीले बिभिन्न खालका घटना र मुद्दाको सफल अनुसन्धान गर्न सफल भएका थिए।
२०७७ बैशाख २४ गते नवलपरासी प्रहरी प्रमुखको रुपमा कमाण्ड सम्हाल्न जिल्ला आइपूगेका केसीको हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगालमा सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले गत मंगलबार केसी सहित एकसाथ ५२ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो।
Facebook Comment