शहीद दशरथ चन्दको ११९ औं जन्मजयन्ती
बैतडी। शहीद दशरथ चन्दको ११९ औँ जन्मजयन्ती विहीबार मनाइएको छ । चन्दको जन्मजयन्ती उनकै जन्मभूमी बैतडीको दशरथचन्द नगरपालिकामा मनाइएको हो । कोरोना महामारीका कारण अन्य कार्यक्रम गर्न नसके पनि उनको शालिकमा माल्यार्पण गरी मनाइएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दका अनुसार शहीद दशरथचन्दको जन्मघर दशरथचन्द नगरपालिका–५ बस्कोट र दशरथचन्द नगरपालिका–४ गढीमा रहेको शहीद चन्दको शालिकामा माल्यार्पण गरिएको हो । जन्मजयन्तीको अवसरमा दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्द, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे लगायतको सहभागिता थियो । तत्कालिन जहानीया राणा शासनको अन्त्यका लागि आफ्नो जीवन बलिदान गर्ने चार शहीदमध्ये दशरथ चन्द पनि एक हुन् । शहीद दशरथ चन्दको जन्म विसं १९६० असार १७ गते बैतडी जिल्लाको बस्कोटमा पिता शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको कोखमा माहिला छोराका रूपमा भएको थियो ।
उनका पिता सुर्खेतमा टुँडिखेल बनाउने लेफ्टिनेन्ट शेरबहादुर चन्दका नामले चिनिन्नछन्। राणाशासनका विरोधीहरूमा सबैभन्दा सशक्त व्यक्तित्व शहीद चन्दले मानविकी तथा समाजशास्त्र विषयमा वनारसबाट प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए। त्यसअघि उनले नेपालगञ्ज, भारतको अल्मोडा, कुमाउँ, नैनीतालजस्ता ठाउँमा पढेका थिए। त्यही बेला उनले काशी नागरिक प्रचारिणी सभामा रहेर राजनीति गर्न थालेका थिए। महात्मागान्धीले भारतमा प्रारम्भ गरेको सत्याग्रहमा उनी सक्रिय रूपमा सहभागी भएका थिए।
विसं १९९० मा बारा जिल्लाको मौवादहमा टंकप्रसाद आचार्यसँग दशरथ चन्दको पहिलो पटक भेट भएको थियो । विसं १९९१ मा उनी सहयोगी शिवदत्त भट्टका साथ बर्मा पुगेका थिए। त्यसपछि थाइल्याण्ड पुगेर नेपालमा सशस्त्र क्रान्ति गर्ने योजना बनाएका थिए। उनी त्यही बेला नेपाल प्रजा परिषद्को कार्यकर्ता रहेका थिए । दशरथ चन्द र गंगालाल श्रेष्ठ एउटै जेलमा परेका थिए। तत्कालीन राणा सरकारले विसं १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएको थियो । प्रतिष्ठानले हरेक वर्ष शहीद चन्दको सम्झनामा बैतडीमा विभिन्न कार्यक्रम गर्दै आएको छ । रासस
Facebook Comment