सालकोटमा निःशुल्क ‘विशेषज्ञ स्वास्थ्य शिविर’ शुरु

कर्णाली । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा पर्ने सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क ‘विशेषज्ञ स्वास्थ्य शिविर’ शुरु गरिएको छ। कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र कर्णाली प्रदेश अस्पतालले बिहीबारदेखि पाक्षिकरूपमा शिविरमार्फत विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गरेको हो। सेवा शुरु भएसँगै सानो उपचारका लागि पनि सदरमुकाम वीरेन्द्रनगर धाउनुपर्ने यहाँका नागरिकको बाध्यता तत्कालका निम्ति हटेको छ।
सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा शुरु हुँदा बराहताल, पञ्चपुरी, चौकुनै गाउँपालिकालगायत अछाम, कैलाली र दैलेखका केही बासिन्दा खुशी भएका छन्। साउनसम्म यो सेवा पाक्षिक र भदौदेखि साप्ताहिक सेवा शुरु गर्ने लक्ष्य लिइएको मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले जानकारी दिए।
उक्त शिविरमा पहिलोपटक हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा पदम गिरी र डा रविन केसीले पश्चिम क्षेत्रका नागरिकलाई निःशुल्क विशेषज्ञ सेवा उपलब्ध गरेका छन्। “शिविरमा एकै दिन ५५ जना स्थानीयवासीको जाँच ग¥यौँ”, डा गिरीले भने, “अधिकांशमा हड्डी र नशाको समस्या देखियो ।” विशेषज्ञ स्वास्थ्य शिविरमा आएका बिरामीलाई एक्सरे, ल्याबसहितका सेवा पनि निःशुल्क उपलब्ध गराइएको थियो।
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले राजधानीभित्रकै भूगोल भए पनि पश्चिम सुर्खेत स्वास्थ्यका दृष्टिकोणले निकै पछाडि रहेकाले तत्काललाई ‘विशेषज्ञ स्वास्थ्य घुम्ती शिविर’ सञ्चालन गरिएको बताए। कर्णालीमै उपलब्ध जनशक्तिबाट यहाँका सबै नागरिकलाई घरआँगनमै विशेषज्ञ सेवा उपलब्ध गराउने लक्ष्य प्रदेश सरकारले लिएको मन्त्री बुढाक्षेत्रीले बताए।रासस
Facebook Comment