कोभिडको असर : संरक्षणलाई अवसर

डिसी नेपाल
१९ असार २०७८ ८:०६

यो वर्षको मनसुनले प्रारम्भ मै सबैको सातो लगिदियो। हिमालमा घाउ बनाइदियो। निकुञ्जको हरियो हिस्सा भत्काइदियो। अकल्पनीय बाढी र खोलाले पुरानो साँध सीमाना खोज्यो।

यही घडीमा ३७औँ चीफ वार्डेन र १९औँ मध्यवर्ती क्षेत्र अध्यक्षहरुको वार्षिक २ दिने गोष्ठीमा पूर्णकालीन सहभागिता जनाउने अवसर मिल्यो। फिल्ड कमाण्डर, विज्ञ, प्राविधिक, संरक्षणकर्मी र अग्रजहरुको प्रतिवेदन, अनुभव मार्ग निर्देशन र सुझाव श्रवण गर्न पाइयो। पैदल यात्रा गरेर घुमे देखेका निकुञ्ज आरक्ष र संरक्षण क्षेत्रहरुमा पुनः सशरीर दुगुरेको जस्तो अनुभूत भयो।

१ सेकेण्ड गयल नपरी एकाग्रताका लिएको शिक्षा १ वर्षे युनिभर्सिटी प्रशिक्षणभन्दा महत्वपूर्ण र उपयोगी थियो। प्राप्त शिक्षा, स्वसमीक्षा, सिकेका पाठ र सुझाव सेयर गर्न यो आलेख पस्केको छु।

भर्चुअल गोष्ठीका बेफाइदा

चम्किलो अनुहारमा हाँसो खुशी सन्तुष्टी र सफलता मापन गर्न सकिन्थ्यो पूर्व सशरीर समुपश्चित गोष्ठीमा। गस्ती गरेर घटाएको बारुले कम्मर, उडौंला जस्तो स्फूर्ति, चुस्त शरीरमा टमक्क मिलाएर लगाएको संरक्षण पोसाकको प्रदर्शनले प्रकृतिको इमान्दार रक्षा, सम्मान, स्वामित्व झल्किन्थ्यो।

दिनभरको गोष्ठी थकानपछि हरेक साँझ मादल बाँसुरीसहितको क्याम्प फायरले बढाएको आत्मियताले वृहद् टिमबिल्डिङलाई सिमेण्टको लेपन लगाइदिन्थ्यो। व्यापक सिक्लाई, मस्त मोज र गहिरो निन्द्राले सम्पूर्ण संरक्षण साझेदारहरुलाई रिचार्ज गरेर रकेट बनाएर कर्मभूमिमा फिर्ता गर्ने परम्परा थियो।

भर्चुअल गोष्ठीमा निकुञ्जबाट बोलेको हो कि घर बिदाबाट, कार्यालयबाट कि ससुराली घरबाट, छुट्याउन कठिन थियो। कोरोना कहर कसैलाई सास्ती, कसैलाई मस्ती छँदै थियो। मौसमी प्रतिकुलता, पावर सप्लाईको अवरुद्धता, इण्टरनेटको समस्या बहानाबाजीलाई काफी थिए। पोशाकीय अनुशासन गर्व र धर्म पटक्कै देखिएन। भर्चुअल गोष्ठीका यी बेफाइदाले अग्रजहरु जस्तै पंक्तिकारलाई खल्लो लाग्यो।

स्मरण गरेँ–आफू आँखा झिमिक्क नगरी पूर्व गोष्ठीहरुमा सहभागी भएको। सम्पूर्ण गणपति गुल्मपतिहरु अनिवार्य उपस्थित भइ प्रस्तुति अन्तरक्रिया र आरोप प्रत्यारोपको शान्तिपूर्वक संयमित भइ जवाफ दिएको। गोष्ठीलाई आवश्यक बन्दोबस्ती सामान, उपलब्ध गराएर क्याम्प खडा गर्न योगदान गरेको। गोष्ठीको अपनत्व लिएको।

गोष्ठीको आधा खर्च व्यहोर्दै ३ मध्ये एउटा साँझको सानदार भोज नेपाली सेनाको तर्फबाट आयोजना गरेको। र, अन्त्यमा एउटा साझा उद्देश्यको लागि एउटै छातामुनि एकढिक्का भइ संरक्षणका खातिर इमान्दार त्याग गर्ने प्रतिवद्धता र संकल्प गरेर जोस जाँगरका साथ कर्मभूमिमा फिर्ता भएको।

प्रकृति र प्रकृतिका सच्चा मालिक स्थानीय जनसमुदाय दुबैलाई विनविन हुने संरक्षण खाका आजको आवश्यकता हो। मध्यवर्ती क्षेत्रलाई कोरोनाले कटौती गरेको राजश्व हिस्सा सरकारले विनियोजन गरेर उनीहरुको जीविकोपार्जन सहज बनाउँदै त्यो समूहलाई कट्टर संरक्षणकर्मी बनाइराख्नु पर्दछ।

२ वर्ष अगाडि बर्दिया राष्ट्रिय निकुञ्जमा सम्पन्न भएको यो गोष्ठीले परम्परालाई अक्षुण्ण राखेर उद्देश्यप्रति एकाग्रसाथ अगाडि बढेको देखेर गर्व बोध भयो। प्रकृतिको भविष्य उज्वल छ भन्ने विश्वास जागृत भयो। झन् एक्लो वृहस्पति राष्ट्रिय निकुञ्ज विभागका तत्कालीन महानिर्देशकको ऐन कानुन नीति नियममा टेकेर लिएको फलामे अडान देखेर उहाँको जयजयकार पुकार्न मन लाग्यो।

संरक्षणको इतिहासमा पहिलो भर्चुअल बैठक देखेर मैले कोरोना कहरप्रति चिन्ता व्यक्त गरें। न मनोविज्ञान अध्ययनको अवसर, न त सफलता मापनको मौका। अँधेरोमा यात्रा गरेको जस्तो खल्लो भयो।

संरक्षण हस्तीको समुपस्थिति

भर्चुअललाई जागा गराउनु भयो संरक्षण हस्ती संस्थापक पूर्व महानिर्देशक विश्वनाथ उप्रेतीले। सबैका श्रद्धेय मान्यवर अग्रज पूर्व महानिर्देशकको उपस्थितिले गोष्ठीको शोभा र गरिमा बढाएको थियो। उस्तै शोभा बढाइदिनु भयो अर्का संरक्षण हस्ती रामप्रित यादवले।
संरक्षणमा कटिबद्ध खरो स्वभावका पूर्व महानिर्देशकले जिब्रो नचपाई खबरदारी गर्नुभयो–कतै ऐन कानुन नीति नियम फितलो नहोस्।

प्रशासन अग्राख जस्तो खरो उभियोस्। विश्वनाथ सरको आँखाले बोलिरहेको थियो, ‘हाम्रा दुखले नाप नक्शा स्थापना गरेका संरक्षण क्षेत्रहरु बेचेर नखाउ। सक्छौ बढाइदेउ, टल्काइदेउ र चम्काइदेउ। सक्दैनौ, हानि नोक्सानी नगरी जस्ताको त्यस्तै राखिदेउ। भावी सन्ततीलाई सास फेर्नु पर्दछ संचिति गरिदेउ।’

मैले मनमनै सरलाई नमन गरेँ –८० वर्ष नाघिसकेको अग्रजको भिडमा उपस्थिति जोखिमपूर्ण त थियो नै। तर त्यो उपस्थितिमा संरक्षणप्रतिको निष्ठा सबैभन्दा धेरै थियो। संरक्षण ओतप्रोत भावनाले उहाँलाई हुटहुटी लगाइरहेको थियो। आफ्ना सहकर्मी संरक्षणकर्मी पूर्व महानिर्देशक श्याम बजिमयको वजनदार समीक्षा र नीतिगत मार्गदर्शन उस्तै प्रेरणादायी थियो।

‘खुट्टा कामाएर होइन, फलाम जस्तो भएर संरक्षण गरौं। दहिचिउरे पाराले संरक्षण संभव छैन। कि गरौं अथवा नगरौं।’ पूर्व महानिर्देशकहरु गोपाल भट्टराई र फणिन्द्र खरेलले पनि संरक्षण समपर्णको लागि सबैलाई जोडदार अभिप्रेरित गर्नु भयो। पूर्व महानिर्देशक तथा वर्तमान सचिव प्रमुख अतिथि भएर दिएको सारगर्भित अर्ती उपदेश गौरवयोग्य थियो।

नारा र प्रस्तुतिको व्यहोरा

यो वर्षको नारा सान्दर्भिक थियो– ‘कोभिड १९ को असर–संरक्षणमा चुनौती र अवसर।’  प्रस्तुतीको व्यहोरा थियो–वनजंगल र वन्यजन्तुलाई मालामाल। सुन्दर शान्त प्रजनन र सन्तान वृद्धि। प्रदुषण नियन्त्रण, शान्ति सुरक्षाको अनुभूति, प्रकृतिको पुनर्वहाली र पुनरताजगी, सडक–वन्यजन्तु दुर्घटना न्यून।

प्रकृतिमा निर्भर मानवजातिको बेहाल। राजश्वमा व्यापक ह्रास। आर्थिक सामाजिक पक्ष प्रभावित र कष्टकर। जीविकोपार्जन नकरात्मक। रोग भोक बेरोजगारले समाज आक्रान्त र आक्रोशित। मानव–वन्यजन्तु द्वन्द्व व्यापक।

संरक्षण क्षेत्रभित्र अवैध घुसपैठ, चोरी शिकारी, अतिक्रमण, उत्खनन व्यापक। वन्यजन्तुको अवैध व्यापार र तस्करी व्यापक। प्राकृतिक र मानव सृजित प्रकोपमा वृद्धि। संघ, प्रदेश र स्थानीय सरकारको अधिकार र कर्तव्य अस्पष्ट हुँदा दोहन र बिनासमा तछाड् मछाड्।

समग्रमा प्रस्तुती २० वर्ष पुरानो कपी पेष्ट थियो। पृष्ठभूमि, परिचय, विशेषता, चुनौती र भावी योजना। सबै प्रस्तुतीको सार एउटै थियो–‘प्रकृतिलाई मालामाला, प्रकृतिपुत्र मानवलाई बेहाल।’

संरक्षण इश्यूहरु

नेपाल सरकारको कराई र गराईले उत्पन्न संशय र त्रासले सहभागी सबैलाई खिन्न र दुखी तुल्याएको मनोविज्ञान प्रष्ट पढ्न सकिन्थ्यो। विश्वव्यापी रुपमा मानिएको सर्वमान्य, लोकप्रिय निकुञ्ज ऐनलाई आफू अनुकूल तोडमोड गरेर विश्व प्रशिद्ध लाङटाङ राष्ट्रिय निकुञ्जको खोला यति होल्डिङलाई दिने सरकारी निर्णयले सारालाई स्तब्ध तुल्याएको र सर्वोच्चले धन्य प्रकृतिलाई न्याय दिलाएको संघारमा यो गोष्ठी आयोजना भएको थियो।

विश्व सम्पदामा सूचिकृत सगरमाथा राष्ट्रिय निकुञ्जको सुन्दर क्वाङ्दे हिमाल यतिले छिनेर लगिसकेको, कंचनजंघा संरक्षण क्षेत्रको पाथिभारा क्षेत्र माथि जोडदार धावा बोलिसकेको, शिवपुरीमा गाभ्न तयार गोकर्ण वन क्षेत्रलाई एक गाँस बनाइसकेको र देवघाटस्थित दियालो बंगला तथा रत्न मन्दिर एवं धेरै निकुञ्जहरुमाथि फणा फिंजाइसकेको यतिको चट्याङले सबैको सातो लगेको देखिन्थ्यो।

मातृभूमि बेचेर व्यापार घाटा कम गर्ने सरकारी नीति र कार्यक्रमले संरक्षणकर्मीहरुको होसहवास उडाएको थियो। किनभने उनीहरुले वैज्ञानिक वन व्यवस्थापनबाट मुलुक काठमा आत्मनिर्भर हुने र सम्वृद्धिको ढोका खुल्ने सरकारी दावीको अन्तर्य बुझिसकेका थिए। सुकुम्बासीलाई वन क्षेत्रमा बसोबास गराउने कथित योजनाको चुरो कुरो पनि बुझेका थिए।

संरक्षण कि विकास भन्ने दुविधाले उसै व्यवस्थापक र संरक्षणकर्मीहरुलाई अन्यौलग्रस्त बनाएकै थियो। त्यसमाथि ३ पत्रे शासकीय संरचनाको कर्तव्य बिनाको अधिकार माग दाबी दोहन र बिनासको किचलोले व्यवस्थापकहरुलाई किंकर्तव्यबिमुढ बनाएको थियो।

चरम राजनीतिकरणले संरक्षणको नसानसा काटिँदा संरक्षण क्षेत्रहरु सिथिल भइसकेका र राजनीतिको पहिलो निशानामा परेका थिए। विकासको नाममा मुलुकलाई शिघ्र मरुभूमिकरण गर्न हिमालय श्रृङ्खला र हिमनदी माथि विदेशीको अधिपत्य तथास्तु गर्न सबैलाई नेपाली सेना घाँडो भएको बुझ्न कठिन थिएन।

राजश्व नउठेको वर्तमान सन्दर्भमा कष्ठकर जीवन बिताउन बाध्य मध्यवर्ती क्षेत्रलाई संरक्षणप्रेमी बनाइराख्न साँच्चिकै चुनौती थियो। हाम्रा विश्व सम्पदा र प्राकृतिक श्रोतका भण्डार भनेर खाली पेट गर्व गरेर बस्न वन्यजन्तु पीडित जनतालाई धर्मसंकट थियो।

‘आफू निकुञ्ज ऐनको अक्षरश पालना गरेर जीउ धन वन्यजन्तुलाई चढाएर बस्ने, सरकार ऐन मिचेर सुन्दर प्रकृति र प्रकृतिका उपहार बेच्ने’ भन्ने आक्रोश देखिन्थ्यो मध्यवर्ती क्षेत्र अध्यक्षहरुमा।  अझ सौराहास्थित निकुञ्ज कार्यालय तोडफोडमा स्थानीयहरुको संलग्नता भनेर राज्यको लगानी खेर गएको टिका टिप्पणीले संरक्षणमा समर्पित इमान्दार अध्यक्षहरुलाई दु:खी तुल्याएको देखिन्थ्यो।

सगरमाथाका अध्यक्ष सोनामले ‘न आफूले गर्न सक्यौं न हामीलाई अधिकार सम्पन्न बनायौं’ भनेर दुखेसो पोखे। आफ्नो निकुञ्जको खोलो सुकाएर पानी बेच्ने सरकारी गुप्त षड्यन्त्रको लाङटाङ राष्ट्रिय निकुञ्ज कि महिला प्रमुख संरक्षण अधिकृतले कटाक्ष गरिन्–‘कोर एरियाको अस्मिता भताभुङ्ग पार्न पाइँदैन।’

३ खम्बे संरक्षण रणनीति विश्वमा अनौठो तर अचुक सफलताको सुत्रपात हो। टिम बिल्डिङको जिम्मेवारी कार्यकारी विभागको हो। लचकता, सहनसिलता र सिमेण्ट भर्ने काम दोश्रो संरक्षण खम्बा नेपालीको हो। वृहद संरक्षण टिमलाई एकढिक्का बनाउन १ सकेण्ड बिलम्ब गर्नु हुँदैन। संरक्षणमा १ सेकेण्ड लामो समय हो।

अपिनाम्पा संरक्षण क्षेत्रको प्राकृतिक श्रोत लंकाको सुन भएको र कंचनजंघा संरक्षण क्षेत्रलाई न हास न बकुल्ला बनाएर छाडेको प्रतिवेदन मार्मिक थियो। ढोरपाटन, डोल्पा, मकालुवरुण, चितवन, कोसीटप्पु, बाँकेको सुरक्षा मजबुत गर्न सुरक्षाकर्मी र सुरक्षापोष्ट बढाउनु पर्ने आसयको माग मनासिव थियो।

कोशिटप्पु विस्तारको काम किन अगाडि नबढाएको भनेर चिन्ता व्यक्त गर्नुभयो श्याम बजिमयले। गर्नैपर्ने काम नगर्ने र गर्नै नहुने काम उफ्रेर फत्ते गर्ने संरक्षण विरोधी चालाको शान्त विरोध र खबरदारी थियो त्यो। प्राणी उद्यानहरुको कन्तबिजोकले ऐन नीतिले सास फेर्न बिर्सेको र डस्टबिनमा थन्किएको संकेत गर्दथ्यो। संरक्षण साझेदार संघ संस्थाहरु हिजो सुनको भाँडो आज बेकारका ठाँडो भएको व्यवहार देखिन्थ्यो। अहोरात्र फिल्डमा खटिने र २४ घण्टा जोखिम उठाउने संरक्षणकर्मीहरुको उचित स्याहार सुविधा र सम्मान हुनुपर्ने जोडदार साझा मागमा दम थियो।

कोरोना असर-मनोवैज्ञानिक पक्ष

कोरोना कहरमा बन्दाबन्दीको फाइदा लिएर जे निर्णय गरेपनि हुन्छ भनेर अधेरोमा पेलपाल र ठोकठाक गर्ने दाउमा थियो सरकार र वन मन्त्रालय।

प्रकृति र प्रकृतिका उपहार रक्षा गर्न फलामे अडान लिनुपर्ने कार्यकारी तालुक अड्डा राष्ट्रिय निकुञ्ज विभाग बाहिर अडान भित्र शरण परेर अँधेरोमा सही गरेर प्रकृति होइन आफ्नो वृत्ति विकासको रक्षा गर्न आतुर देखिन्थ्यो।

हामी ज्यान फ्याँकेर जोगाउने तिमीहरु सिध्याउने भन्ने अटेर मनोविज्ञानले क्रुद्ध थिए फिल्ड फ्रण्ट लाइनर्सहरु। कुन लुटको हिस्सेदार हुने र अन्तिममा आफ्नो भागको खुला आकास मात्र बाँकी रहने डरले चिन्तित देखिन्थे मध्यवर्ती क्षेत्रका अध्यक्षहरु।

अन्तर मन्त्रालय, अन्तर विभागीय, अन्तर कार्यालय, अन्तर साझेदार संघ संस्थाको सम्पर्क, सम्बन्ध, समन्वय, सहकार्य र विश्वासको डोरी चुँडिसकेको र  अन्तरविरोधको तहमा ओर्लिसकेको संरक्षण पहल कामयावी नहुने मनोदशाले चिन्तित थिए अग्रज संरक्षणकर्मीहरु।

आरोप प्रत्यारोप सुन्न सहन र शान्तिपूर्वक संयम भइ निधान गर्ने धैर्यता टुटिसकेको दृश्यले टिमबिल्डिङ र टिमवर्क धरापमा परेको संकेत गर्दथ्यो। संरक्षणका ३ खम्बा बीच दूरी बढेर आइसोलेसनमा गएको दृश्यलाई कसरी सुखद भनम् ?

सुझाव

सरकारलाई संरक्षण ऐन नियमको पालना गरेर पवित्र जिम्मेवारीलाई प्राथमिकता दिन गरिएको फिल्डको जोडदार माग दमदार र वजनदार छ। यो नेपाली सेनाको झन् ठूलो अव्यक्त माग हो। राजनीतिक नेतृत्व र सरकारले यो मागको मर्म र भावना बुझ्नु पर्दछ। र, संरक्षण क्षेत्रलाई किचलोमा धकेल्ने र गिजोल्ने काम कदापि गर्न हुँदैन। प्रकृति श्राप, पशुश्राप, संरक्षण सहिद श्राप, जनश्राप लाग्ने काम किन गर्ने?

प्रकृति र प्रकृतिका सच्चा मालिक स्थानीय जनसमुदाय दुबैलाई विनविन हुने संरक्षण खाका आजको आवश्यकता हो। मध्यवर्ती क्षेत्रलाई कोरोनाले कटौती गरेको राजश्व हिस्सा सरकारले विनियोजन गरेर उनीहरुको जीविकोपार्जन सहज बनाउँदै त्यो समूहलाई कट्टर संरक्षणकर्मी बनाइराख्नु पर्दछ। यो समूहको आर्थिक सामाजिक उत्थान र सम्वृद्धि दिगो संरक्षणको जग हो। यो अभिभारा पूरा गर्न वन मन्त्रालय र सम्बन्धित सबै निकायले अर्जुनदृष्टि लगाउनु पर्दछ।

बफरजोनले संरक्षण क्षेत्र अँगालो हालेर राख्ने सरकारले संरक्षण क्षेत्र छिनेर धनी व्यापारी पोस्ने मनोवैज्ञानिक त्रासबाट स्थानीय जनतालाई हमेसा मुक्त राख्नुपर्दछ।

२ दिने गोष्ठी छोटो भयो। समयाभावले पूर्व सचिव श्रद्धेय उदयराज शर्मा लगायतका संरक्षण हस्तीहरुको अनुभव सुन्न पाइएन। न विज्ञहरुको प्रस्तुती र सुझाव सुन्न समयले दियो। फिल्डको प्रस्तुती छलफल आलोचना झगडालाई पनि समयको पावन्दी भयो। स्वस्थ आरोप–प्रत्योरोप र आलोचना नभई संरक्षणमा निखार आउँदैन। आगामी वर्षबाट गोष्ठीको समय ३ दिने होस र सशरीर उपस्थितिको अवसर मिलोस्।

३ खम्बे संरक्षण रणनीति विश्वमा अनौठो तर अचुक सफलताको सुत्रपात हो। टिम बिल्डिङको जिम्मेवारी कार्यकारी विभागको हो। लचकता, सहनसिलता र सिमेण्ट भर्ने काम दोश्रो संरक्षण खम्बा नेपाली सेनाको हो। वृहद संरक्षण टिमलाई एकढिक्का बनाउन १ सकेण्ड बिलम्ब गर्नु हुँदैन। संरक्षणमा १ सेकेण्ड लामो समय हो।

हिजोका सुनका भाडो संरक्षण साझेदार संघसंस्थाहरुलाई आजको अप्ठेरोमा ठाँडो होइन मान सम्मान गर्नु पर्दछ। संरक्षण साझेदार संघ संस्थाहरु भागेर होइन झन् जागेर संरक्षणमा होमिनु पर्दछ। बफरजोन उत्थान र विकासका लागि ईमान्दार सहयोग कामयावी हुनेछ। तर ईण्टेलिजेन्स, एण्टिपोचिङ्ग श्रोत साधन, सिआईबि परिचालन बजेट र आईटी बजेटको व्यवस्था अनिवार्य रुपमा राष्ट्रिय बजेट भित्र गर्नु पर्दछ। आईएनजीओ/एनजीओलाई दिने अक्षम्य भुल दोहोर्‍याउनु हुँदैन।

अन्त्यमा प्रकृतिले सिंगारिएको जैविक विविधताको धनी देश नेपालले सम्वृद्धि प्रकृतिको विनासबाट होइन रक्षा भित्रबाट खोज्नुपर्दछ। हरित क्रान्ति हरित सम्बृद्धिले मात्र राष्ट्रिय हित रक्षा हुन सक्दछ। विपद् न्यूनिकरण, चुस्त दिमाग, सुस्वास्थ्य र दीर्घायूको सुत्र पनि प्रकृतिको दिगो संरक्षण हो। यसबाट कुनै पनि सरकार कहिले पनि बिचलित हुनु हुँदैन।

हिजो असल संरक्षण मोडल प्रस्तुत गरेर विश्वमा चर्चित मुलुकले इतिहासका उपलब्धि मान सम्मान, कदरको रक्षा गर्दै संरक्षण मोडललाई समयानुकूल झन् परिस्कृत गर्दै लैजानु पर्दछ। र, समग्र मुलुकलाई नमूना संरक्षण भएको विश्वकै एकमात्र प्राकृतिक पार्क, प्राकृतिक ल्याब, प्राकृतिक अनुसन्धान केन्द्र बनाएर देखाउनु पर्दछ। पशुआशिष प्राप्त प्रकृतिको धनी मुलुकको उज्वल भविश्य अवश्यम्भावी छ।

(लेखक पूर्व संरक्षणकर्मी र आई यु सि एन/सि ई ई एस पि सदस्य हुन्)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *