कुन्ती र प्रल्हादले जस्तो अचम्मको वर शायदै कसैले माग्ला

डिसी नेपाल
१९ असार २०७८ ११:२१

मानिसले सामान्यतया भगवानसँग आफूलाई सुख, शान्ति होस्, धन, सम्पत्ति, यश आदि प्राप्त होस् भनी वर माग्छन्। तर पाण्डवहरुका माता कुन्ती र हिरण्यकशिपुका पुत्र प्रल्हादले यस्तो अनौठो वर माग्छन्, जसले सारा संसारलाई चकित पारिदिन्छन्।

श्रीमद्भागवत अनुसार कुन्तीले भगवान् श्रीकृष्णसँग यस्तो वर माग्छिन्ः

विपदः सन्तु नः शश्वत्तत्र तत्र जगद्गुरो ।
भवतो दर्शनं यत्स्यादपुनर्भवदर्शनम् ।। (भागवत १.८.२५)

हे भगवान्, हाम्रो जीवनमा पाइला, पाइलामा विपद् आइलागोस्। किनकि दुःखको समयमा तपाईंको दर्शन निश्चितरुपमा पाइन्छ र तपार्इंको दर्शन प्राप्त हुनाले हामी जन्म, मृत्युको चक्रबाट मुक्त हुन्छौं। विद्या, धन र ऐश्वर्यका कारण जसको घमण्ड बढ्छ, त्यस्ता व्यक्तिले त भगवान्को नाम पनि लिन रुचाउँदैनन्।

वास्तवमा, पाण्डवहरुलाई लाक्षागृहमा आगलागी हुँदा होस् वा राक्षसहले आक्रमण गर्दा, वा युद्धको समयमा होस् अथवा द्रौपदीको चिरहरणको समयमा हरेक पटक विपत्ति र दुःख आइपर्दा भगवानले रक्षा गर्छन्।

यसबाट के शिक्षा पाइन्छ भने मानिस दुःख र पीडाको समयमा आत्तिन हुंदैन, धैर्य धारण गर्नसक्नुपर्छ। हामीले भगवान्लाई स्वच्छ मनले उपासना गरेमा जस्तोसुकै आपत र विपदबाट पनि पार पाउन सकिन्छ।

मानिसहरु सामान्यतया हर्ष र सुखको समयमा आफ्नो धरातल बिर्सिन्छन्, उनीहरुलाई आफ्नो हैसियतको पनि ख्याल हुँदैन। सुखको समयमा र सत्ताको मात लागेको बेलामा सबै कुरा बिर्सने हाम्रो बानी छ।

तर जब सत्ता बाहिर हुन्छौं त्यसबखत हाम्रो आंखा खुल्छ। दुःखको समयमा नै हामीलाई वास्तविकताको ख्याल हुन्छ। यहाँ कुन्तीको वरले यसै कुरालाई संकेत गरेको बुझ्न सकिन्छ।

त्यसैगरी दैत्याधिपति हिरण्यकशिपुका पुत्र प्रल्हादले विष्णु भगवानसँग अनौठो वर मागेर सबैलाई चकित तुल्याइदिएको वर्णन भागवतको सातौं अध्यायमा उल्लेखित छ। नृसिंह अवतार लिएका भगवान्ले प्रल्हादसँग खुसी भइ तिमीलाई जे इच्छा छ मसँग माग भनी उनलाई आग्रह गर्दा प्रल्हादले यस्तो वर माग्छन्ः

यदि रासीश मे कामान् वरांस्त्वं वरदर्षभ ।
कामानां हृद्यसंरोहं भवतस्तु वृणे वरम् ।। (भागवत ७.१०.७)

अर्थात, हे वरदशिरोमणि स्वामी, यदि तपाईं मैले चाहे जस्तो वर दिन चाहनुहुन्छ भने यस्तो वर दिनुस् कि मेरो मनमा कुनै प्रकारको कामनाको बीज अंकुरित नै नहोस्। प्रल्हादले भन्छ, जो सेवक आफ्नो स्वामीबाट सेवाको वदला आफ्नो कामना पूर्ति गराउन चाहन्छ भने त्यो सेवक नभै लेनदेन गर्ने व्यापारी हो।

त्यस्तै जो स्वामी बन्नको निम्ति सेवकबाट आफ्नो सेवा गराउन चाहन्छ, वास्तवमा त्यो स्वामी नै हैन। भगवान्, तपाईंले मलाई भक्तमा हुनपर्ने गुण छ कि छैन भनी जाँच्न, वरदान माग्न भन्नु भएको होला। यस्ता मनका कामना पूर्ति गर्ने वरले हृदयमा विषय, भोगको गाँठोलाई मजबुत बनाइदिन्छ र बार, बार जन्म, मृत्युको चक्करमा फसाइराख्छ, प्रल्हादले भन्छ। वास्तवमा भगवान्को वास्तविक भक्त निःस्वार्थ र निष्काम हुन्छ, उसले विनाकारण नै भगवानमा भक्ति राख्दछ, कुनै स्वार्थ पूर्तिको निम्ति हैन।

मानिसका आवश्यकता असीमित हुन्छन् र मानिसले आफ्ना इच्छा, आकांक्षाहरु परिपूर्ति गर्नको निम्ति अनेक दुःख, कष्ट सहन्छ। मानिस आफ्ना इच्छा र कामनाहरु पूर्ति गरेर सुख र सन्तोष प्राप्त हुन्छ भन्ने विश्वास गर्छ। तर एउटा कामना पूर्ति हुन पाएको हुंदैन अर्को कामनाको जम्न भैसक्छ। यसरी कामनाहरुको चक्रव्यूहमा फसेको मानिसले चिरकालसम्म सुख वा सन्तुष्टि प्राप्त गर्न कदापि सक्दैन।

त्यसैले पूर्वीय दर्शनले कामनाहरुको पछि दौडिन हैन कामनाहरुमा अंकुश लगाउनमा जोड दिन्छ। वास्तवमा कामनाहरुको न्यूनीकरणले नै मानिसलाई सुख र सन्तुष्टि प्राप्त हुन्छ। तसर्थ कामनाहरुको बीजै अंकुरित नहोस् भनी प्रल्हादले भगवानसँग वर माग्नु मनासिव नै छ।

भगवानले त्यत्रो वर माग्ने अवसर दिँदा पनि वर नमाग्ने कस्ता मूर्ख रहेछन् त प्रल्हाद पनि कसै, कसैले भन्न सक्छ। तर प्रल्हादको त्यो बुद्धिमानी हो दूरदर्शिता हो, सच्चा सुख प्राप्त गर्ने उपाय। असीमित इच्छा र आकांक्षाहरुको पूर्ति गर्नतिर लाग्दा मानिसले कहिलेकाहीँ अनैतिक र गलत तरीका पनि अपनाउन सक्छ। त्यसैले कामनाहरुबाट छुट्कारा पाउनु नै दीर्घकालीन सुख र सन्तुष्टि हासिल गर्ने उपयुक्त माध्यम हो भन्ने शिक्षा प्रल्हादको यस कथाबाट पाउन सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *