निषेधाज्ञा उल्लंघन गर्ने २२ सय सवारी साधन प्रहरी नियन्त्रणमा

डिसी नेपाल
१९ असार २०७८ १७:४४

काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार २ सय ४७ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये १ हजार ८ सय ५९ वटा गाडी र ३ सय ८८ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड १९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १ सय १६ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ६० हजार ८ सय ७९ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १८ जनालाई कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा १ हजार ९ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा १ हजार ३ सय ८२ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ४४ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ४ हजार २ सय ३५ जनालाई सचेत गराइएको छ ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *