एमाले विवादः ओली र नेपाल आन्तरिक परामर्शमा

डिसी नेपाल
२० असार २०७८ २०:५३

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरिएको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाई अन्तिम चरणमा प्रवेश गरेपछि सत्तारुढ दल एमालेको आन्तरिक विवाद पनि पेचिलो बन्दै गएको छ।

एमालेका माधव समूहका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको रिटमा हस्ताक्षर गरेकाले सर्वोच्चबाट आउने फैसलाले एमालेलाई पनि प्रभावित पार्ने भएपछि विवाद पेचिलो बन्दै गएको हो।

आइतबार सभामुख अग्नि सापकोटाका कानुन व्यवसायीको बहस सकिएपछि रिट निवेदकको जवाफी बहस शुरु भएको छ। सम्भवत सोमबार सर्वोच्चमा देउवालगायतको रिटमाथिको बहस सकिनेछ। त्यसपछि अदालत फैसलाको प्रक्रियामा अगाडि बढ्ने भएकाले एमालेको विवादमा सर्वोच्चको फैसला अघि नै कुनै नयाँ घटनाक्रम देखिने संकेत देखिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ आफू निकट नेताहरुसँग बालुवाटारमा परामर्श गरेका छन्। आइतबार साँझ बालुवाटारमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य तथा लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलसँग परामर्श गरेका हुन्। ओलीले यी दुई नेतासँग साढे ४ बजेदेखि करिब २ घण्टा छलफल गरेको बालुवाटार स्रोतले बतायो।

छलफलमा आइतबार बिहान नेम्वाङलगायत ओली पक्षीय नेताले वरिष्ठ नेता माधवकुमार नेपालसँग उनकै निवास कोटेश्वर पुगेर गरेको छलफलबारे नेम्वाङले ब्रिफिङ गरेका थिए। सर्वोच्चमा दायर रिटमा माधव पक्षीय सांसदहरुको हस्ताक्षर फिर्ता गराउने उद्देश्यले भएको सो भेटमा कुनै प्रगति नभएको नेम्वाङले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन्।

माधव समूहले हस्ताक्षर फिर्ता नलिए के गर्ने र सर्वोच्चको फैसला कस्तो आउँछ भन्ने विषयमा सो छलफल केन्द्रित रहेको स्रोतले बतायो। शुक्रबार र शनिबार दुई दिनसम्म चलेको एमाले केन्द्रीय कमिटीको बैठकमा ओलीले हस्ताक्षर फिर्ता नलिनेहरु एमालेको नेता हुन नसक्ने बताएका थिए।

माधव समूहले बहिस्कार गरेको सो बैठकले सोमबार बेलुका ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन अल्टिमेटमसमेत दिएको छ। तर माधव समूहले हस्ताक्षर फिर्ता नलिने जवाफ आइतबारको कोटेश्वरको भेटमा ओली पक्षलाई जवाफ दिइएको छ। ओली सर्वोच्चको फैसला आएपछि असाधारण निर्णय लिनेसमेत बताएकाले अबको कदमबारे पनि आइतबार ओलीले आफू निकट नेताहरुसँग परामर्श गरेका हुन्।

उता वरिष्ठ नेता माधवकुमार नेपालले पनि आइतबार आफू निकट नेतासँग परामर्श गरेका छन्। आफ्नो निवास कोटेश्वरमा आइतबार साँझ नेता नेपालले उपाध्यक्ष भीम रावलसँग छलफल गरेको स्रोतले बतायो। कोटेश्वरमा साँझ पाँच बजेपछि करिब १ घण्टा उनीहरुको छलफल भएको थियो। छलफलमा आइतबार बिहान ओली पक्षीय नेताहरुसँग भएको भेट, सर्वोच्चको सम्भावित फैसला र त्यसपछिको रणनीतिबारे छलफल भएको स्रोतले बतायो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *