बैंकिङ कसुर मुद्दामा कलाकार शिशिर राणा पक्राउ

काठमाडौं । नेपाल प्रहरीले रु ४५ लाख जरिवाना ठहर भएपछि फरार रहेका कलाकार शिशिरशम्शेर जबरालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु ४५ लाख जरिवना गरेपछि फरार रहेका ललितपुर महानगरपालिका–१ कुपण्डोलका ५० वर्षीय जबरालाई आज पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ माघ २६ को फैसलापछि १० दिन कैद र बिगो बमोजिम रु ४५ लाख जरिवनापछि फरार रहेका जबरालाई आज काठमाडौंको बिजुली बजारबाट पक्राउ गरिएको जानकारी दिए।
पक्राउ परेका उनले आफ्नो नविल बैंकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले उनलाई बैंकिङ कसूर तथा सजाया ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो ।
पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि आज ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए ।
Facebook Comment