४ लाख रुपैयाँ किलो आँपदेखि बुद्धजस्तो नास्पातीसम्म, यी हुन् संसारकै महंगा ११ फलफूल

डिसी नेपाल
२२ असार २०७८ १४:४८

काठमाडौं। फलफूलहरु एक किलोकै लाखौं रुपैयाँ पर्छ भन्दा हामीलाई आश्चर्य लाग्न सक्छ । तर, संसारमा केही फलहरु छन् जसको मूल्य सुनजस्तै महंगो पर्छ । यी फलफूललाई विलासी फलफूल भन्ने गरिन्छ । यिनीहरुको मूल्य यति महंगो पर्छ कि हामीलाई यसबारे सुन्दा पनि अचम्म लाग्छ । यी फलफूल १ किलो किन्ने पैसाले हामीले विलासी मोटरसाइकलदेखि कार समेत किन्न सक्छौं ।

१. सूर्यको अण्डा अर्थात मियाजाकी आँप

पछिल्लो समय भारतको मध्य प्रदेशका एक किसान चर्चामा छन् । करिब ३ हप्ताअघि उनले आफ्नो बगैंचाको आँपको सुरक्षाका लागि ४ जना सुरक्षा गार्ड र ६ वटा कुकुर तैनाथ गरेका छन् । समाचार एजेन्सी एएनआइका अनुसार उनको बगैंचामा जापानी मियाजाकी प्रजातिको आँप फलेको छ । यो आँपको मूल्य प्रतिकिलो २.७ लाख भारु (४ लाख ३२ हजार नेपाली रुपैयाँ) पर्छ । संकल्प परिहार नामका ती किसानले फलाएको यो आँपलाई सूर्यको अण्डा पनि भनिन्छ ।

२. लाफिङ बुद्धको आकार भएको नास्पाती

बुद्धजस्तो आकार भएको नास्पाती पनि संसारकै महंगो फलमध्येको एक हो । यो एउटा सानो फलको ९ डलर अर्थात १ हजार ७२ रुपैयाँ पर्छ । यो नास्पाती चीनका किसान शियानझाङ हाओले उत्पादन गर्न सुरु गरेका हुन् । उनले चीनको हेबेइ प्रान्तमा रहेको आफ्नो फार्ममा यो फल फलाएका थिए । यो फल फलाउने विधि फरक हुन्छ । यसलाई बुद्धको जस्तो आकार दिन त्यस्तै किसिमको भाँडोमा राखेर फलाइन्छ ।

३. चारपाटे खरभुजा

गर्मी महिनामा खरभुजाको माग अत्याधिक हुन्छ । तर के तपाइँ ५ किलोको खरभुजाको लागि ६० हजार भारु अर्थात झण्डै १ लाख नेपाली रुपैयाँ तिर्न तयार हुनुहुन्छ ? चारपाटे खरभुजा संसारका महंगा फलमध्येको एक हो । यसको औसत तौल ५ किलो हुन्छ र यसको मूल्य झण्डै १ लाख रुपैयाँ पर्छ । यी खरभुजालाई चारपाटे बनाउन चारपाटे बाकसभित्र फलाइन्छ ।

४. सेकाइ इची स्याउ

‘वन एप्पल अ डे, किप्स डक्टर अवे’ अर्थात दिनमा एउटा स्याउ खाँदा बिरामी परेर डाक्टरकहाँ गइरहनु पर्दैन भनिन्छ । तर, सेकाइ इची स्याउ यसरी सर्वैसाधारणले दिनहुँ खान सक्दैनन् । यो स्याउको करिब ९ सय ग्रामको मूल्य २१ डलर अर्थात नेपाली २५०० रुपैयाँ पर्छ ।

५. रुबी रोमन अंगुर

यो संसारकै सबैभन्दा महंगो अंगुर हो । यो अत्याधिक महंगो अंगुर पनि जापानमा फल्छ । यो विशेष अंगुरको नाम रुबी रोमन हो । मिडिया रिपोर्टका अनुसार गत वर्ष यो अंगुरको एक झुप्पा १२ हजार डलर अर्थात १४ लाख रुपैयाँमा बिक्री भएको थियो । यो झुप्पामा ३० वटा अंगुर थिए ।

६. ताइयो नो तामागो आँप

आँपप्रति पारखीहरुको मोह बयान गरेर सकिँदैन । त्यसैले आँपलाई फलहरुको राजा पनि भनिन्छ । ताइयो नो तामागो प्रजातिको आँप पनि अत्यन्तै महंगो पर्ने आँप हो । यो आँपका २ वटा फल राखिएको बाकस यसअघि ४ लाख जापानी येन (४ लाख ३० हजार रुपैयाँ) मा लिलामीमा बिक्री भएको थियो ।

७. सेम्बिकिया क्विन स्ट्रबेरी

१२ वटा सेम्बिकिया क्विन स्ट्रबेरीको एक प्याकेटलाई ८५ डलर (१० हजार रुपैयाँ) पर्छ । अन्य साधारण स्ट्रबेरीभन्दा यो स्ट्रबेरी महंगो पर्नुको कारण यसको रंग, स्वाद, टेक्स्चर र आकार हो ।

८. युबारी किंग मेलन

यो फल पनि जापानमै पाइन्छ र यो संसारका सबैभन्दा महंगा फलहरुमध्ये एक हो । यी मेलनहरु खासगरी जापानको युबारी क्षेत्रमा फलाइन्छ । २ वटा युबारी मस्कमेलनले २०१९ मा ४५ हजार डलर अर्थात ५३ लाख ६० हजार रुपैयाँको रेकर्ड मूल्यमा एक लिलामीमा बिक्री भएर इतिहास बनाएका थिए ।

९. डेकोपोन सुन्तला

डेकोपोन बियाँ नहुने र गुलियो हुने मेन्डारियन सुन्तालाको एक प्रजाति हो । यो सुन्तला कियोमी प्रजाति र पोनकान प्रजातिको हाइब्रिड हो । यो प्रजाति जापानमा १९७२ मा विकसित गरिएको थियो । डेकोपोन सुन्तला प्रजातिकै सबैभन्दा मिठो र महंगो सुन्तला मानिन्छ । यो सुन्तला ६ वटाको प्याकेटको मूल्य ८० डलर (९ हजार ५ सय रुपैयाँ) पर्छ ।

१०. हेलिगान भुइँकटहर

यो प्रजातिका भुइँकटहर बेलायतको लस्ट गार्डेन अफ हेलिगानमा मात्र फल्छन् । यी भुइँकटहर फलाउन धेरै मेहनत गर्नुपर्छ । यो एउटा भुइँकटहरको मूल्य करिब १ हजार पाउण्ड (डेढ लाख रुपैयाँ) पर्छ । बीबीसीका अनुसार हर्टिकल्चरिस्टहरुले यहाँको भिक्टोरियन ग्रिनहाउसमा यो भुइँकटहर फलाउन ७ वर्ष खर्च गरेका थिए ।

११. देन्सुके खरभुजा

यो कालो र थोप्ला नहुने खरभुजा जापानको होक्काइद टापुमा मात्र फल्छ । यो फल टोक्योको सेम्बिकिया स्टोरमा पाइन्छ । यो खरभुजाको तौल करिब ११ किलो हुन्छ । जापानमा एक लिलामीमा यो खरभुजा ६ हजार डलर (७ लाख रुपैयाँ) मा बिक्री भएर रेकर्ड बनाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *