…त्यसपछि भीम रावललाई राति बालुवाटार बोलाइयो
![…त्यसपछि भीम रावललाई राति बालुवाटार बोलाइयो](https://www.dcnepal.com/wp-content/uploads/2020/02/Bhim-Rawal.jpg)
काठमाडाैं। आइतबार राति बालुवाटारमा बोलाइएका पुनर्बहालीप्राप्त उपाध्यक्ष भीम रावलले शुरुमा माधव नेपाललाई फोनमै खबर सुनाए। र, अनुमति लिएरै पुगे पनि।
यो घटनासँग प्रधानमन्त्रीको मनमा सवार त्रासले मुख्य भूमिका खेलेको बताइन्छ। किनभने, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरिएको हस्ताक्षर फिर्ता लिने अल्टिमेटम भोलिपल्ट अर्थात् सोमबार साँझ ५ बजे सकिँदै थियो तर हस्ताक्षर फिर्ताको चालचुल केही भएन।
सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलाशमा शेरबहादुरपक्षीय रिटमाथिको सुनुवाई सकिँदै थियो (सकियो पनि) । र, मंगलबार फैसला आउने ‘पक्कापक्की’ छ भन्ने प्रधानमन्त्रीको बुझाई थियो। त्यसैले आइतबार बिहान विष्णु पौडेलसहित वार्ता टोलीका सदस्यलाई कोटेश्वरस्थित माधव नेपाल निवासमा पठाइयो।
जब विष्णु पौडेलले ‘हामी ८ बजे आउँदैछौँ’ भनेर बिहान ७ बजे फोन गरे, तब माधवले सीधै ‘आउनुस्’ भनेनन्। बरु ‘घनश्यामहरु पनि आउनुहुन्छ’ भने। अर्थात्, ओलीका मान्छे कोटेश्वर पुग्ने, आफूहरुले मात्रै भेटेर बाहिर अर्को भ्रम सिर्जना गरिदिने खतराप्रति माधव सचेत थिए। त्यसैले दुबै समूहका वार्ताकारलाई सँगै आउन भने । तर, त्यहाँ सबभन्दा पहिला घनश्याम भुषाल पुगे।
अदालतलाई प्रभाव पार्नकै निम्ति बालुवाटारबाट पठाइएको प्रस्ताव थियो, ‘हस्ताक्षर फिर्ता गर्ने कुरामा तपाईंहरु तयार नभए पनि केही फरक पर्दैन तर पार्टी एकताका निम्ति हामी प्रतिवद्ध छौँ भनेर तपाईं र केपी कमरेडको एउटा संयुक्त विज्ञप्ति आउनुपर्यो ।’ विष्णु पौडेलबाट यस्तो प्रस्ताव आएपछि माधवले घनश्यामको मुख हेरे।
‘एकता नै भन्ने विषयमा त हाम्रो असहमति हैन नि! तर, विज्ञप्ति दिएर मात्रै एकता हुँदैन। एकता हुनका लागि राखिएको हस्ताक्षर फिर्ताको शर्तमा हामी नजाने कुरा स्पष्टै छ। त्यो कुरा पनि थाती राखेर वक्तव्य दिने भन्नुभएको हो भने त दिने नि, किन नदिने ?’ अनि, माधवले कुरा फुकाए, ‘तपाईंहरु ६ जनै बसेर विज्ञप्तिको ड्राफ्ट गर्नुस्, म हस्ताक्षर गरिदिन्छु।’
त्यहाँबाट उठेर केपीपक्षीय टोली बालुवाटार पुग्यो। माधवका कुरा केपीलाई सुनाइयो तर बालुवाटारमा माधवलाई हस्ताक्षर गराउने भनिएको विज्ञप्ति पहिल्यै तयार पारिएको रहेछ। स्रोतका अनुसार, केपीकै खल्तीमा रहेको उक्त ड्राफ्टमा ‘पार्टी एकताको मूल्यमा विगतमा हामीबाट भएका सम्पूर्ण कमि–कमजोरी सच्याइने छ’ भन्ने प्रकारको भाषा थियो।
केपी पक्षीय वार्ता टोलीका एक सदस्यले भने, ‘माधव कमरेडले त यो ड्राफ्ट ६ जनै बसेर बनेको हुनुपर्छ भन्नुभएको छ। यही ड्राफ्ट लगेर छलफल गरियो भने कुरा मिल्नेजस्तो देखिँदैन।’ यसपछि केपीले ‘मिल्दैन भने मिल्दैन त, के गर्नु!’ भन्दै विरक्ति भाव दर्शाए । अर्थात्, ‘कमि–कमजोरी सच्याइने’ नाममा उही हस्ताक्षर फिर्ताको अडानलाई माधव नेपालले मानिदिनुपर्ने अडान त्यहाँ थियो। यसर्थ, त्यो विज्ञप्ति जारी भएन।
यसपछि नै हो, भीम रावललाई राति बोलाएर कार्यदल व्युँताउने सल्लाह भएको। भोलिपल्ट, अर्थात् अस्ति सोमबार पनि ५ बजेतिर ‘सिंहदरबारमा बसौँला’ भनेर कार्यदलका ओलीपक्षीय सदस्यहरुले भीम रावललाई खबर पठाए । यसमा पनि कारण थियो। जनआस्था साप्ताहिकबाट
Facebook Comment