बाढीपहिरो र डुबानमा परी जेठ ३१ यता ४४ जनाको मृत्यु, ६० जना घाइते तथा २७ जना बेपत्ता

डिसी नेपाल
२३ असार २०७८ १७:५४

काठमाडौं। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बुधबार दिउँसोसम्म ४४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा २४ जना पुरुष, १३ जना महिला, ४ जना बालक र ३ जना बालिका रहेका छन्।

सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पा र गोरखामा ३–३ जना, चितवन, तनहुँ, प्युठान, धादिङ, म्याग्दी, दाङ र रौतहटमा २–२ जना, ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १–१ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा म्याग्दी मंगला गाउँपालिका–५ छिस्बाङस्थित थम बहादुर बुढाथोकीको घर बाढीले भत्किँदा सोही घरमा पसल गरी बस्ने मालिका गाउँपालिका–६ दुखु घर भएका २३ वर्षीय गजिन रोका र उनकै श्रीमती १९ वर्षीया बिना रोकाको मृत्यु भएको छ।

बाढीपहिरो र डुबानमा परी उक्त अवधिमा ६० जना घाइते भएका छन्। तीमध्ये ३२ जना पुरुष, १४ जना महिला, १० जना बालक र ४ जना बालिका रहेका छन्। उनीहरुमध्ये तनहुँमा १० जना, धादिङमा ६ जना, सिन्धुपाल्चोक र रोल्पामा ५र५ जना, धनुषा र सर्लाहीमा ४–४ जना, खोटाङ, कास्की, म्याग्दी र डोटीमा ३–३ जना, जुम्ला, चितवन र गोरखामा २–२ जना, पाँचथर, रौतहट, स्याङ्जा, हुम्ला, अछाम, दार्चुला, बाजुरा र सल्यानमा १–१ जना रहेका छन्। घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ।

बाढीपहिरोमा परी २७ जना बेपत्ता भएका छन्। तीमध्ये १७ जना पुरुष, ६ जना महिला, ३ जना बालक र १ जना बालिका रहेका छन्। उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना, पर्वत २ जना तथा बाजुरा र बाग्लुङमा १ जना रहेका छन्। वेपत्ताको खोजी कार्य जारी छ।

बाढीपहिरोमा परेका १ हजार २ सय ५० जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ। उद्धार गरिएकामध्ये मनाङमा ६ सय ५६ जना, चितवनमा ४ सय २ जना, सिन्धुपाल्चोकमा १ सय २३ जना, दोलखामा ३५ जना, लमजुङ र सल्यानबाट ८–८ जना, जाजरकोटमा ७ जना, गोरखा र दाङमा ४–४ जना र कञ्चनपुरमा ३ जना रहेका छन् । उद्धारपश्चात उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो।

बाढीपहिरोको कारण अवरोध भएका विभिन्न स्थानका सडक प्रहरी समेतको पहलमा सुचारु गराइएको छ। साथै वर्षाको कारण रसुवा, मुस्ताङ, बाजुरा, सिन्धुपाल्चोक, पर्वत, म्याग्दी, बाग्लुङ, कास्की लगायतका स्थानहरुमा बुधबार पहिरो गई अवरोध भएका सडक पहिरो हटाइ सुचारू गराउने कार्य जारी छ।

बाढीको कारण १ हजार ४ सय २८ वटा घर डुबानमा परेका छन्। ५ सय ४५ वटा घर, ९७ वटा गोठ, ३९ वटा पुल, ३ वटा विद्यालय र १३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने ८ सय ३६ वटा पशु चौपायको मृत्यु भएको छ। उक्त अवधिमा भएका जम्मा ४ सय ९६ वटा विपद्‍का घटनाबाट १ हजार १ सय ५४ वटा घर परिवारका ५ हजार ३ सय ८५ जना मानिस विस्थापित भएका छन्।

उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन्। साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *