डा.यादव बने यूएईको गोल्डेन भिसा पाउने पहिलो नेपाली

काठमाडौं । नेपालका डा.रविन्द्रकुमार यादव संयुक्त अरब इमिरेट्स (यूएई)को गोल्डेन भिसा पाउने पहिलो नेपाली नागरिक बनेका छन् । आठ वर्षदेखि यूएईमा कार्यरत विराटनगरका डा.यादवले यूएईले प्रदान गर्न सुरु गरेको सुनौलो भिसा अन्तर्गत १० वर्षे गोल्डेन भिसा मंगलबार पाएका हुन् ।
सन् २०१३ मा यूएईको अलएनको अल नुर अस्पतालबाट स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका डा.यादव अहिले आबुधाबीको रिम आइल्यान्डमा रहेको बुर्जिल अस्पतालमा चर्म रोग विशेषज्ञको रुपमा कार्यरत छन् । त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल महाराजगञ्जबाट एमबीबीएस उत्तीर्ण गरेका डा.यादवले बनारस हिन्दु युनिभर्सिटी बारानासी भारतबाट एमडी गरेका छन्।
काठमाडौंको नोबेल मेडिकल कलेजमा मेडिकल सहायक निर्देशकको रुपमा काम गरिसकेका उनले सन् २००२ मा यातनापीडित सरोकार केन्द्रको पूर्वाञ्चल क्षेत्रीय निर्देशकको रुपमा पनि काम गरेका थिए ।
उनी भारतको कुटानियस सर्जन, भारतीय प्रसाधनिक चर्म विज्ञान सोसाइटीको आजीवन सदस्य, अमेरिकन एकेडेमी एस्थेटिक मेडिसिनको वार्षिक सदस्य र अमेरिकन एकेडेमी डेर्मेटोलोजीको अन्तर्राष्ट्रिय फेलोपर्सन हुन् ।
यूएई सरकारले गएको केही महिनादेखि विशेष व्यक्ति र पेसामा आबद्ध गैर नागरिकहरुलाई गोल्डेन भिसा दिन सुरु गरेको छ । यूएईले डाक्टर, शिक्षक, शिक्षिका, वैज्ञानिक, व्यावसायिक व्यक्तित्व, कलाकार तथा यूएईलाई विशेष योगदान दिँदै आएका व्यक्तिलाई गोल्डेन भिसा दिन सुरु गरेको हो ।
यूएई सरकारले यसै वर्षबाट प्रदान गर्न सुरु गरेको गोल्डेन भिसाका लागि यूएईमा विभिन्न पेसा व्यवसायमा संलग्न २८ जना नेपाली नागरिकले गोल्डेन भिसाका लागि आवेदन दिएका थिए । काठमाडौंमा रहेको यूएई दूतावासको अनुरोधमा नेपाली बिजनेस काउन्सिलले २८ जना नेपालीको आवेदन सिफारिस गरेको काउन्सिलले जनाएको छ ।
यूएईले आफ्नो देशमा योगदान दिएका विदेशी नागरिकलाई गोल्डेन भिसा दिएर सम्मान गरिरहेको र त्यसमा नेपाली नागरिकले समेत अवसर पाउनु गर्वको विषय भएको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताएका छन् ।
Facebook Comment