फेरि बढ्न थाल्यो कोरोना संक्रमण, हेलचेक्र्याइँ नै प्रमुख कारण
![फेरि बढ्न थाल्यो कोरोना संक्रमण, हेलचेक्र्याइँ नै प्रमुख कारण](https://www.dcnepal.com/wp-content/uploads/2021/04/corona-1.jpg)
काठमाडौं । सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको छ । गत २० असारदेखि सरकारले निषेधाज्ञा खुकुलो गराएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । संक्रमण बढेसँगै तेस्रो लहर आउन सक्ने आँकलन गर्न थालिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ असारदेखि बुधबारसम्म २ लाख ७० हजार ४ सय ८९ जनाको कोरोना परीक्षण गर्दा ५९ हजार १ सय ७७ जनामा संक्रमण देखिएको छ । यसरी हेर्दा नेपालमा संक्रमणको अवस्था २१ दशमलव ८७ प्रतिशत हुन आउँछ ।
२० असारयता बुधबारसम्म ४४ हजार १ सय १ सय ४२ जनाको कोरोना परीक्षण गर्दा ९ हजार ८ सय ३८ जनामा संक्रमण देखिएको छ । यसरी हेर्दा २२ दशमलव २८ प्रतिशत संक्रमणदर रहेको हुन आउँछ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ असारदेखि २३ असारसम्म १ लाख ६७ हजार २ सय ७८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा ३९ हजार ७ सय ७३ जनामा संक्रमण देखिएको छ । यस्तै, सोही अवधिमा १ लाख ३ हजार २ सय ११ जनामा एन्टिजेन परीक्षण गर्दा १९ हजार ४ सय चार जनामा पोजेटिभ देखिएको छ ।
भौतिक दूरी कायम नहुँदा र आवतजावतका क्रममा मास्कको समुचित प्रयोगमा ध्यान नदिँदा पनि जोखिम बढेको जनस्वास्थ्य विज्ञ बताउँछन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले संक्रमितको संख्यामा कमी देखिए पनि जोखिम यथावत् रहेको बताए । उनले भने, ‘संक्रमणको जोखिम टरेको छैन । जनस्वास्थ्यका मापदण्डलाई पूर्णतः कार्यान्वयन गरौं ।’
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन संक्रमणबाट जोगिन मास्कको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ र भौतिक दूरी कायम नै अचुक उपाय रहेको बताउँछन् ।
कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशले जनस्वास्थ्य मापदण्ड उल्लघंन गर्नेहरूलाई ६ महिनासम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुने उल्लेख भए पनि कार्यान्वयनमा आएको छैन । यस्तै मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरे पटकैपिच्छे एक सय रुपैयाँ जरिमाना भनिए पनि नियमनकारी निकायले उल्लघंन गर्नेलाई कारबाहीको दायरामा ल्याउन नसकेको पाइएको छ ।
यस्तै, देशभर बुधबार २ हजार ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ८ सय ३५ जना पीसीआर परीक्षण गर्दा २ हजार ७७ र ४ हजार ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९ सय २ जनामा संक्रमण पुष्टि भएको हो ।
देशभर बुधबार १ हजार ३ सय ३३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २८ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार २ सय ९१ जना संक्रमितको निको भइसकेका छन् ।
यस्तै, बुधबार काठमाडौं उपत्यकामा मात्रै थप ५ सय ४३ कोरोना संक्रमण देखिएको छ । थपिएका संक्रमितमध्ये काठमाडौंमा ३ सय ९०, भक्तपुरमा ६७ र ललितपुरमा ८६ जना रहेका छन् । देशभरका अस्पतालमा ५ सय ७१ जना आईसीयू र १ सय ६१ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
भोलि चीनबाट १० लाख मात्रा खोप आउँदै
सरकारले चीनसँग कोरोनाविरुद्ध खोप खरिदका लागि गरेको ‘नन डिस्क्लोजर एग्रिमेन्ट’अन्तर्गत पहिलो चरणमा १० लाख मात्रा भेरोसेल खोप भोलि शुक्रबार नेपाल आउँदै छ ।
नेपाल बायुसेवा निगमको फ्लाइट सेडुअलअनुसार आज (बिहीबार) खोप लिन निगमको जहाज चीन प्रस्थान गर्नेछ । सरकारले चीनबाट भेरोसेल खोप खरिदका लागि सम्झौता गरेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म चीनबाट मात्रै १८ लाख मात्रा खोप प्राप्त भएको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलका अनुसार भेरोसिल खोप उमेर समूहको प्राथमिकताका आधारमा लगाइने बताए ।
डा. पोखरेलका अनुसार अबको प्राथमिकतामा ६० वर्षमुनिका नागरिक पर्नेछन् । कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणमा ५५ वर्ष र माथिका नागरिक, ४० देखि ५४ वर्षको उमेर समूहमध्ये तोकिएका दीर्घ रोग भएका व्यक्ति पर्छन् ।
यस्तै, वैदेशिक रोजगारबाट नेपाल फर्केका र नेपालमा रहेका शरणार्थीमध्ये दीर्घ रोगी भएका व्यक्ति पनि दोस्रो प्राथमिकताको सूचीमा पर्छन् । ६० वर्षमाथिका केहीले अझै खोपको पहिलो मात्रा नलगाएको भन्दै उनीहरू पनि प्राथमिकतामा पर्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार निकट भविष्यमै कोभ्याक्स सुविधाअन्तर्गत जोन्सन एन्ड जोन्सनबाट उत्पादित १५ लाख ३४ हजार ८ सय ५० डोज खोप आउनेछ । खोप कहिले आउने भन्ने ठोस भने भएको छैन ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले २४ असारबाट खोप आपूर्ति सुरु भई तत्पश्चात् साप्ताहिक रूपमा विभिन्न चरणमार्फत् खोप आपूर्ति हुनेछ । सरकारले आगामी पुसभित्र आमनागरिकलाई कोरोनाविरुद्ध खोप लगाइसक्ने लक्ष्य राखेको छ । राजधानी दैनिकबाट
Facebook Comment