निषेधाज्ञा खोलेपछि बढ्दो क्रममा कोरोना संक्रमण, तेस्राे लहरकाे संकेत!
काठमाडौं। निषेधाज्ञा खोलेपछि दैनिक कोरोना संक्रमित हुनेहरुको संख्यामा वृद्धि भएको पाइएको छ। काठमाडौं उपत्यका भित्रका सरकारी अस्पतालहरुमा दैनिक विरामीहरु बढेर आइरहेका छन्।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक अनुप बास्तोलाले अस्पतालको आइसीयू शैया प्याक नै भएको बताए। डिसी नेपालसँग कुरा गर्दै वास्तालाले आइसीयूको २२ वटै शैयाहरु प्याक भएको बताए। दोस्रोे लहरका बेला जस्तो इमरजेन्सिमा भने अहिले भीड नभएको उनको भनाइ छ।
सिभिल अस्पतालका डा. सुमनबाबु मरहट्टा पनि अस्पतालमा बढ्ने क्रममा रहेको बताउँछन्। ‘हामीले दोस्रोे लहरको चाप भोगेकाले अहिले त खाली नै लाग्छ’, डा. मरहट्टाले भने, ‘बाहिर भीड भएपछि अस्पतालमा विरामी बढ्छ नै। हाम्रोमा पुरै प्याक नभए पनि दैनिक आउनेहरु बढेका हुन्।’
सरकारले दोस्रोे लहरलाई नियन्त्रण तथा रोकथाम गर्न गत बैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञालाई असार लागेपछि बैज्ञानिक ढंगले भन्दै विस्तारै खुकुलो पार्दै आएको छ। पछिल्लो हप्ता सवारी साधनमा लगाएको जोरविजोर पनि हटाएको छ भने ठूलो भीडहुने क्षेत्रबाहेकका सबै क्षेत्रहरु खुल्ला गरिएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. वास्तोला समूदायमा संक्रमण फैलिइसकेकाले हामीले सजगता नअपनाएको अवस्थामा तेस्रो लहरको सामना गर्नु पर्ने तर्फ संकेत गर्छन्।
डा. वास्तोलाले भने, ‘गत वर्षको अनुभवलाई हेर्दा सबै क्षेत्र खुल्ला भएपछि नागरिकले स्वयमता गुमाउँछौं। नारा जुलुसदेखि सबै भन्दा बढी कसले भीड जम्मा गर्ने भन्ने प्रतिस्पर्धाको कारण हामीले दोस्रोे लहरलाई सामना गर्नु पर्याे। अहिले पनि सबैक्षेत्र खुल्ला हुँदा सगजता गुमाएको अवस्थामा तेश्रो लहर टाढा छ भन्न सकिन्न।’
गत वर्षको अनुभवलाई हेर्दा सबै क्षेत्र खुल्ला भएपछि नागरिकले स्वयमता गुमाउँछौं। नारा जुलुसदेखि सबै भन्दा बढी कसले भीड जम्मा गर्ने भन्ने प्रतिस्पर्धाको कारण हामीले दोस्रोे लहरलाई सामना गर्नु पर्याे। अहिले पनि सबैक्षेत्र खुल्ला हुँदा सगजता गुमाएको अवस्थामा तेश्रो लहर टाढा छ भन्न सकिन्न
‘संख्यात्मक हिसाबले बैशाख जेठको अवस्था असारमा छैन,’ डा. वास्तोलाले भने, ‘तर, वृद्धवृद्धाको संख्या बढी छ। हाम्रो अस्पतालकोे कुरा गर्ने हो भने पनि यहाँ त्यस्तै देखिन्छ। इमरजेन्सिमा विरामीको चाप नभए पनि मैले अघि पनि भने आइसीयूको शैया भरिएकै छ। खाली छैन। दोस्रोे लहरको महामारीमा विरामी भएकाहरु पनि केही अहिलेसम्म संघर्ष गरिरहेका पनि छन्।’
आउने ४ हप्तामा कोरोनाको संक्रमणदर अत्याधिक बढ्न सक्ने डा. वास्तोलाको अनुभव छ। डा. वास्तोलाले भने, ‘हामीले सतर्कता अपनाएनौं भने आगामी ४ हप्तापछि कोरोनाको संक्रमण दर अत्याधिक बढ्न सक्छ। त्यसलाई तेस्रो लहर भन्न पनि सकिन्छ। तर, त्यो भन्दा पहिला भारतको अवस्था कस्तो हुन्छ त्यसले पनि नेपालमा केही असर पार्छ नै।’
डा. मरहट्टा पनि नागरिक स्तरबाट नै स्वास्थ्य सम्बन्धि मापदण्डहरुलाई कडाईका साथ पालना गरेर, आत्म अनुसाशित भइएन भने पुनः संक्रमणदर बढ्नेमा कुनै आशंका नभएको बताउँछन्। ‘पहिलाको अनुभवका आधारमा भन्ने हो भने सबैक्षेत्र खुल्ला भएपछि हामीले धैर्य गुमाउँछौं। कोरोना नभएको जसरी कार्य गर्छौ गराउँछौं। त्यसले पनि तेश्रो लहरको आशंका गरिएको हो।’
जति सकिन्छ सबै जनतालाई भ्याक्सिनेट गरिनुको विकल्प नभएको विज्ञहरुको भनाइ छ। धुलिखेल अस्पतालका डा. दिपेश ताम्राकार जतिसकिन्छ चाँडो सबैलाई कोरोना विरुद्धको खोप लगाउनु पर्ने र खोपको विकल्प नभएको बताउँछन्।
उनले भने, ‘भाइरसहरु म्यूटेन्ट भएर आएका छन्। कोरोनाको संक्रमण बढ्दै छ। विस्तारै सबै क्षेत्र खुल्ला भयो भने पुनः बढ्छ नै। हामीले सधैभरी बन्द गरेरमात्र पनि हुँदैन। खुल्ला गर्नका लागि सबैलाई खोप अनिवार्य नै हो।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यका मापदण्ड कडाईका साथ लागु गर्न/गराउन सबैलाई अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले भने, ‘हामीले सबैलाई अनुरोध गरेका पनि छौं स्वास्थ्यका मापदण्डहरु कडाइका साथ प्रयोग गर्नुहाेस्, गराउनुहोस्। सरकारले सबैलाई खोप दिन्छ नै, त्यो भन्दा पहिला हामी जति सचेत भयौं त्यो नै कोरोना रोकथामको उत्तम विकल्प हो।’
उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुको बैठले पनि स्वास्थ्यका मापदण्ड कडाइकासाथ लागु गर्ने गराउनेमा जोड दिएको छ। ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला यातायातका साधनमात्र नभएर खुल्ला गरिएका हरेक क्षेत्रमा स्वास्थ्यको मापदण्ड पालना भएका नभएको अनुगमन गरेर कारवाही गरिने निर्णय भएको बताउँछन्। उनी स्वास्थ्यको मापदण्ड सबैले पालना गर्ने कुरामा आशावादी रहेको बताउँछन्।
Facebook Comment