दाङका पत्रकार सुशील गौतम ‘अग्रज पत्रकारिता पुरस्कार–२०७७’ बाट सम्मानित

बुटवल। लुम्बिनी प्रदेश सरकारले दाङका पत्रकार सुशील गौतमलाई ‘अग्रज पत्रकारिता पुरस्कार–२०७७’ बाट सम्मान गरेको छ।
लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालयले बिहीबार बुटवलमा कार्यक्रम गरी दाङका पत्रकार गौतमलाई ‘अग्रज पत्रकारिता पुरस्कार–२०७७’ बाट सम्मान गरेको हाे। गुल्मीका जनार्दन घिमिरे, रुपन्देहीका स्वर्गीय पत्रकार हिक्मत चौधरी र बाँकेका अक्षरी पोखरेललाई ‘सिर्जनशिल पत्रकारिता पुरस्कार–२०७७’ बाट सम्मान गरिएको हो।
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरी र आन्तरिक मामिला तथा कानूनमन्त्री चेतनारायण आचार्यले पत्रकारलाई नगद राशीसहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरेका हुन्।
कोरोना सङ्क्रमणबाट मृत्यु भएका पत्रकार चौधरीलाई प्रदेश सरकारले मरणोपरान्त सम्मान गरेको हो। सम्मान चौधरीकी धर्मपत्नी उदयदेवीले ग्रहण गरिन्। अग्रज पत्रकारिता पुरस्कारको राशी रु एक लाख र सृजनशील पत्रकारिता पुरस्कारको राशी जनही रु ५०/५० हजार रहेको मन्त्रालयले जनाएको छ।
पत्रकारलाई सम्मान गर्दै मन्त्री चौधरीले प्रदेश सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए। उनले अहिले प्रदेशसभामा प्रस्तुत भएको सञ्चार विधेयकका विषयमा पत्रकारबाट गुनासो आए पनि छलफलबाट समस्या समाधान गरेर अगाडि बढ्ने उल्लेख गरे। लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री चेतनारायण आचार्यले सम्मानले पत्रकारलाई पेशाप्रति अझै जिम्मेवार बनाउने विश्वास व्यक्त गरे।
सम्मानित अग्रज पत्रकार गौतमले मुलुकको परिवर्तनमा पत्रकारिताको योगदान अमूल्य रहेको उल्लेख गर्दै सामाजिक न्याय र समानताका लागि निरन्तर लाग्ने धारणा राखे। सम्मानित पत्रकार पोखरेलले सम्मानले थप जिम्मेवारी बोध गराएको बताए।
नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले लोकतन्त्रको रक्षा र पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध हुनुपर्ने बताए। प्रदेश सरकारले पुरस्कार तथा सम्मानका लागि रुपन्देहीका अग्रज पत्रकार डिआर घिमिरेको संयोजकत्वमा विमला चौधरी र केवि घिमिरे सदस्य रहेको तीन सदस्यीय छनोट समिति गठन गरेको थियो। समितिको सिफारिसका आधारमा पत्रकारलाई सम्मान गरिएको मन्त्रालयका सचिव रवीलाल पन्तले जानकारी दिए।
Facebook Comment