काठमाडौंमा भारी वर्षा हुँदा केही क्षेत्र जलमग्न, अझै वर्षाको सम्भावना

काठमाडौं । मनसुनी वायुको प्रभावले राजधानी काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभार सामान्यदेखि पूर्ण बदली रहनुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन\चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
निरन्तरको वर्षाले काठमाडौंको अनामनगर, घट्टेकुलो, बिजुलीबजार, बबरमहललगायत क्षेत्रका सडक तथा होचा स्थान जलमग्न भएको छ । धोबीखोला करिडोर आसपास क्षेत्र डुबानमा परेको छ । भक्तपुरको हनुमन्ते खोलामा बाढी बढेको छ, मध्यपुरथिमिका कतिपय सडकमा पानी जमेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौंमा ६९.४ मिलीमिटर वर्षा भएको छ ।
राति देशभार सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । आइतबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । आज काठमाडौंको अधिकतम तापक्रम २९.२ र न्यूनतम ताफक्रम २०.७ डिग्रि सेल्सियस रहेको छ । रासस
Facebook Comment