असारे झरीमा पनि तारेभीरमा घुम्नेको भीड

काठमाडौं। निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौंमा चहलपहल बढेको छ। लामो समय घरभित्रै बस्दा दिक्क लागेका काठमाडौंबासी यतिबेला फ्रेस हुन विभिन्न स्थान पुग्ने गरेका छन्। यतिबेला काठमाडौं उपत्यकामा दैनिक पानी परिरहेको छ। तर मानिसहरु पानीको परवाह नगरी हाइकिङका लागि विभिन्न ठाउँहरुमा पुग्ने गरेका छन्।
काठमाडौं उपत्यकामा हाइकिङका लागि उपयुक्त धेरै ठाउँहरु मध्ये एक हो तारेभीर। काठमाडौंको गोकर्णेश्वरमा रहेको तारेभीर यतिबेला युवापुस्ताको लागि आकर्षणको केन्द्र बनेको छ।
चारैतिरको सुन्दर दृश्यले सबैको मन लोभ्याउने गर्दछ। यहाँ सूर्यास्तको दृश्य हेर्नको लागि थुप्रै आन्तरिक पर्यटक पुग्ने गर्छन्। लकडाउन खुकुलो भएसँगै तारेभीरमा घुम्न, पिकनिक, टिकटक भिडियो बनाउन जानेको भीड लाग्ने गरेको छ।
गोकर्ण, कपन, बुढानिलकण्ठबाट पनि तारेभीर जान सकिन्छ। कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै लामो समय निषेधाज्ञाका कारण घरमै बस्न बाध्य मानिसहरु अहिले खुल्ला र शान्त ठाउँहरुको खोजीमा छन्। तारेभीरको प्रकृतिको मनोरम दृश्यसँगै स्वास्थ्यका लागि पनि मानिसहरु जाने गरेको देखिन्छन्।
शनिबारको दिन काठमाडौँबाट सामाजिक दुरी पालना गर्दै पैदल यात्रा गरेको देखियो। बुढापाखादेखि लिएर बच्चाहरु परिवारसहित त्यहाँ पिकनिक मनाउँन जाने गरेका छन्। अरु बेला पनि चहलपहल हुने ठाउँ विशेष गरि शनिबारका दिन धेरै भीड हुने गरेको छ।
Facebook Comment