बानाको साधारण सभामा राजदूत खतिवडाले गरे अमेरिकाको प्रशंसा

बाल्टिमोर, अमेरिका। अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले मानवीयताका अगाडि राष्ट्रियता गौंड हुने बताएका छन्। मानवीयताको धारातलमा मानिसहरुसँग व्यबहार गर्नुपर्ने उल्लेख गर्दै आप्रवासी समूदायलाई फराकिलो सोचाइले व्यबस्थापन गरेको र उनीहरुलाई चुनौतिपूर्ण रहेको सामाजिक सुरक्षाका कार्यक्रममा पनि आफ्ना नागरिक सरह समावेश गरेकोमा राजदूत खतिवडाले अमेरिकाको प्रशंसा गरे।
बाल्टिमोर एशोसिएशन अफ नेप्लिज इन अमेरिका (बाना) को १६ औं साधारण सभाको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। बल्टिमोर शहरको मेयरको कार्यालयका अधिकारीहरु तथा मेरिल्याण्ड राज्यका सांसदहरु र डेमोक्रेटिक एवं रिपब्लिक पार्टीका स्थानीय नेताहरुसमेत उपस्थित रहेको सो कार्यक्रममा राजदूत खतिवडाले आप्रवासीहरु डाइनामिक फोर्स हुनसक्छन् मुलुकका लागि भन्ने स्वीकार गरेर एकअर्काको मूल्य र मान्यतालाई हस्तक्षेप नगरी समाजमा समाहित गराउने कार्यको पनि प्रशंसा गरे।
उनले स्वभावैले नेपालीहरु विश्वभरि नै सजिलै स्वीकार योग्य रहेका र विश्वका विभिन्न समाजहरुमा घुलमिल हुन सक्ने भन्दै यसलाई नेपालीहरुको सबल पक्ष भएको बताएका थिए। उनले बानाका कार्यको प्रशंसा गर्दै नेपाली समूदायको आस्था र भरोसाको केन्द्र बनेकोमा बानालाई धन्यवाद पनि दिएका थिए।
बानाका अध्यक्ष सुबोध विलास पन्तको सभापतित्वमा सम्पन्न सो साधारणसभामा अबैतानिक महावाणिज्यदूत प्रेमराजा महत, नेपाल प्रहरीका पूर्व आईजीपी सर्बेन्द्र खनाल, हेम सरिता फाउण्डेसनका मुख्य संरक्षक हेम पाठक, नेपाली मुलका राज्यसभा सदस्य(डेलिगेट) ह्यारी भण्डारी, डेलिगेट कार्ल ज्याक्सन, बाल्टिमोर काउन्टी अफिसकी डेपुटी डाइरेक्टर एमेण्डा कार, बाल्टिमोर शहरको मेयर अफिसकी आप्रवासी सम्बन्धी अधिकृत कतलिना, एनआरएन आईसीसीका अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठी, एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्त र राप्रपाका सहमहामन्त्री प्रेम श्रेष्ठले बानाको साधारणसभाको सफलताका लागि शुभकामना दिएका थिए।
बानाका उपाध्यक्ष हिरालाल गुरुंगले स्वागत भाषण गरेको तथा महासचिव किरण ढकालले संचालन गरेको कार्यक्रममा कास्की समाजका कुल गुरुंग, एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुली, म्याग्दी समाजका इन्द्र थापा, नेवा अर्गनाइजेसनका यज्ञमान शाक्य, भीम विक, नारायण थापा, क्रिस घिमिरे, विजय श्रेष्ठ, अनु वन्तलगायतले बानाको साधारणसभाको सफलताको शुभकामना दिएका थिए।
बानाका अध्यक्ष पन्तले आगामी अगष्ट २१ गतेदेखि अमेरिकाव्यापी भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराए। उनले सामाजिक कार्यमा बानाको योगदानहरुको सह्राहना भएकोमा आफूलाई अझ काम गर्ने हौसला मिलेको भन्दै सबैलाई धन्यवाद दिएका थिए।
Facebook Comment