प्रहरीका सई, असईका पक्षमा
पंक्तिकारको लागि द्वन्द्वकाल अविस्मरणीय रह्यो। किनभने लगातार फिल्डमा खट्टिने अवसर जुर्यो। संरक्षणप्रेमी मित्रहरुको जोडदार सिफारिस र माग चितवन राष्ट्रिय निकुञ्जमा गणपति होस् भन्ने थियो। दैनिक जस्तो चोरीसिकार हुने गैंडाहरुको दिगो रक्षाको लागि। तर भयो उल्टो।
न गैंडा न बाघ बचाउ जिम्मेवारी। आफ्नै दाजुभाइबीच चलेको द्वन्द्वका बेला अप्रिय जिम्मेवारीमा तत्कालीन पूर्वी आधार क्षेत्रको शिर–पुच्छर (खोटाङ–सिराहा)मा २५ महिना अहोरात्र खट्टिनु पर्याे। ‘द्वन्द्व स्मरण’ सविस्तार आफ्नो भावी पुस्तकमा जानकारी गराउने अभिप्राय राखेको छु।
सई, असई र हबल्दारहरुसँगका दिन
द्वन्द्वकालले युनिफाइड कमाण्डरको अवधारणा लागू र अभ्यास गर्ने अवसर दियो। आफूलाई युनिफाईड् सहकर्मीहरु नजिकबाट चिन्ने जान्ने अपूर्व अवसर प्राप्त भयो। प्रायः ब्यारेक नबस्ने र सधैँ अपरेसनमा पहिलो स्काउट बनेर हिँड्ने साहसिक लत बसेकोले हुनुपर्दछ युनिफाईडको भित्र–बाहिर रुप–सार बुझ्ने मौका पाएको थिएँ।
आफूलाई दिइएको नेपाल तारा लामो संवाद र प्रयासपछि त्याग गरेर वास्तविक फिल्ड कमाण्डरलाई दिलाएँ। युनिफाइड सहकर्मीहरुको सेवा–सुविधा, बढुवा र शान्ति सेनाको लागि क्षेत्रीय र केन्द्रिय कार्यालयसम्म निरन्तर लबिङ गरिरहें।
इतिहासको सबै कालखण्डमा सबै शासकका अगाडि सेना नजिक र प्यारो, प्रहरी टाढा र कम प्यारो भएको महसुस गरेको गणपतिले सबैलाई एक भान्छा, एउटै लाइन, अपरेसनमा एक साथ भाग लिने अनौठो कमाण्ड गर्न पाएँ।
जनसम्पर्कमा पारखी, खबर सूचना ल्याउन माहिर, पूर्वानुमान लगाउने क्षमताका धनी, राम्रो अनुसन्धानकर्ता, खोजकर्ता, अभिलेखकर्ता, प्रमाण जुटाउन माहिर नेपाल प्रहरीका सई असई र हवल्दारहरुको परिपक्व जनशक्ति देखेर मलाई ताजुब लाग्यो।
आफूले राम्रो शारीरिक तन्दरुस्ती र दुरुस्त फायरिङ्ग क्षमता बढाइदिएपछि त्यो फौज हामीलाई बरदान भयो। आफ्नो क्षति रोकथाम गर्ने र अपरेसन सफलताको चाङमाथि चाङ लगाउने अचुक अस्त्र साबित भयो युनिफाईड कमाण्ड।
माया, कल्याणकारी सेवा सुविधा, वृत्ति विकासको समान अवसर र कदरयोग्य कामको सम्मान र पुरस्कार दिने नीतिगत परिपाटी हुने हो भने यो जस्तो बिलक्षणकारी, साहसिक र आज्ञाकारी प्रहरी फोर्स संसारमै छैन भन्ने गहिरो आत्मविश्वास पलायो। मेरो सो कार्यकालमा हामी नङमासु भएर बस्यौं। हाम्रो सम्बन्ध र सहकार्यको साक्षी सहकर्मीहरु आज पनि जीवितै हुनुहुन्छ।
पंक्तिकारलाई सफलता, कदर, सम्मान, पुरस्कार, विभुषणको ओइरो पहिरो लाग्यो। तर मैले निडरसाथ त्यसको श्रेय युनिफाइड कमाण्डलाई दिइराखे। आफ्नो संगठनलाई युनिफाइड् कमाण्डको कमाल बारे बराबर प्रष्टिकरण दिइराखे।
जनसम्पर्कमा पारखी, खबर सूचना ल्याउन माहिर, पूर्वानुमान लगाउने क्षमताका धनी, राम्रो अनुसन्धानकर्ता, खोजकर्ता, अभिलेखकर्ता, प्रमाण जुटाउन माहिर नेपाल प्रहरीका सई असई र हवल्दारहरुको परिपक्व जनशक्ति देखेर मलाई ताजुब लाग्यो।
आफूलाई दिइएको नेपाल तारा लामो संवाद र प्रयासपछि त्याग गरेर वास्तविक फिल्ड कमाण्डरलाई दिलाएँ। युनिफाइड सहकर्मीहरुको सेवा–सुविधा, बढुवा र शान्ति सेनाको लागि क्षेत्रीय र केन्द्रिय कार्यालयसम्म निरन्तर लबिङ गरिरहें।
नङमासुको त्यो दुःखको घडीको सम्बन्ध आजसम्म ताजै छ। युनिफाइड फौजप्रतिको त्यो अटल विश्वास, भरोसा र गुनको अमिट आत्मविश्वास आज पनि मानसपटलमा ताजै छ।
लडाइमा अग्रमोर्चा, पदोन्नति शून्य
द्वन्द्वकालको यो स्मरण २०५९, ६० र ६१ सालको हो। त्यो अवधिका सई सहकर्मीहरुले आजसम्म बढुवाको अवसर नपाउनु कति पीडादायी कुरा होला। संसारमा कहीँ कतै नभएको जात्रा किन हाम्रो पूण्य भूमिमा?
सई र असई राज्यको दूरदराजमा शान्ति सुरक्षा अमनचयन कायम राख्ने महत्वपूर्ण जनशक्ति हुन्। यत धेरै भीभीआईपीहरु र भीआईपीको व्यक्तिगत र निवास सुरक्षाको इन्चार्जहरु पनि हुन्। तमाम विधायकहरु चयन गर्ने निर्वाचन बुथको इन्चार्जहरु पनि हुन्।
विकट भूगोल र विषम मौसममा सशरीर खटिएर अपेरशन, इन्भेष्टिगेशन, भेरिफिकेशन र डकुमेण्टेशनको जटिल काम पूरा गर्ने फिल्ड तथा आउटडोर चुस्त जनशक्ति पनि हुन्।
मुलुकको महत्वपूर्ण र सम्वेदनशील क्षेत्रमा कुना कुनामा राज्यको उपस्थिति जनाउने वैधानिक फ्रण्टलाइन जनशक्ति पनि यही हो। पिरामिड आकारको सांगठनिक स्वरुपमा विशाल जनशक्ति प्रहरी र शक्तिशाली नेतृत्व बीचको पुलको काम यही महत्वपूर्ण जनशक्तिले गरिरहेको हुन्छ।
पिरामिडको सर्वोच्च चुचुरो धान्ने जग र खम्बा भुईमा प्रहरी जवानको हो भने बिचको बलो निदाल उनै जुनयिर अधिकृतहरु हुन्। तिनको वृत्ति विकास तसर्थ अत्यन्त महत्वपूर्ण सांगठनिक अभिभारा र कर्तव्य हो। अन्यथा, त्यसको नकरात्मक प्रभाव सईदेखि ४ तह तल प्रहरी जवानसम्म पर्ने डर हुन्छ।
वृत्ति विकासको वर्तमान समस्याले कतिपय प्रहरीहरुलाई निरासमात्र बनाएको छैन, आपराधिक गतिविधितर्फ धकेलिरहेको छ। अपराधी समक्ष शरण लिन बाध्य पारिरहेको छ। यो अर्को अशान्ति, सरकार विघटन र राज्य विखण्डनको बिजारोपण र मलजल हो। किनभने मुलुकमा गुण्डाराज मौलाइरहेको छ। भविष्यको शासन सत्ता गुण्डा र अपराधीले कब्जा गर्ने संकेत विगत र वर्तमानले गरिसकेको छ।
सेवाप्रतिको आकर्षण र उत्साह घट्ने र सेवाबाट बाहिरिनेको संख्या त बढ्छ नै संगठनप्रतिको बिकर्षणले भर्नामा योग्य मान्छेको खडेरी पर्ने डर हुन्छ। वर्तमान संगठन सायद यी र यस्ता समस्याबाट गुज्रिरहेको हुनुपर्दछ। जुन संगठनलाई निस्तेज र धाराशायी बनाउने ऋणात्मक एवं दुःखद् संकेत हुन्।
फरक संगठन, पृथक तालिम, भिन्न संकार र अलग जिम्मेवारी भएता पनि सम्वेदनशील एवं कठिन घडीमा बुट साटेर लगाएको र एउटै थालमा भात खाएको आफ्नो फौजको वृत्ति विकासमा बिर्को लाग्दा कसरी पीडा बोध नहोस्? सँगैको आफ्नो फौजले ३ पटक बढुवा पड्काउदा सहकर्मी जहाँको तहीँले कसरी चिन्ता नचुलियोस्? एउटा पदबाट अर्को पदमा उक्लिने अन्तर्राष्ट्रिय अभ्यास समय ५ वर्ष र ढिलोमा १० वर्ष हो।
तर १७/१८ वर्ष एउटै पदमा कुँजिनुपर्ने र ऐन नियमले दिएको ६०/४० प्रतिशत बढुवाको प्रावधान वर्षेनी समय घर्केर खेर जाने र रिक्त दरबन्दी सधैं रिक्त रहेर समग्र संगठनको वृत्ति विकासमा तगारो लागिरहने ढिलासुस्ती तथ्य विकृतिको तत्काल उपचार खोज्न जरुरी छ।
अति भो, अझै आएन पालो
१८ वर्षमा कति प्रधानमन्त्री, गृहमन्त्री, गृह सचिव र संगठन प्रमुख फेरिए? किन जवान र जुनियर अधिकृतहरुको बुटको किलाले वहाहरुलाई घोचेन? किन सबै आ–आफ्नो दुनो सोझ्याएर बिदा भए?
आधारभूत र अनिवार्य अभिभारा पूरा गर्न किन चेन अफ कमाण्डको कुनैपनि तहको नेतृत्वले पहलकदमी लिएन? अथवा, महत्वपूर्ण विशाल फौजको मन मस्तिष्क जित्न र अविश्मरणीय गुन लगाउन किन सबै चुके ? यी सम्वेदनशील प्रश्नहरुको उत्तर खोज्न र संगठनको दिर्घरोगको उपचार खोज्न धेरै बिलम्ब भईसकको छ।
जुन राष्ट्रिय हित र राष्ट्रिय सुरक्षालाई कमजोर पार्ने एउटा कडी हुन सक्दछ। स्वदेश होस् वा विदेश, सीमा चौकी होस् वा अन्तर्राष्ट्रिय विमानस्थल सीमा विवाद द्वन्द्व होस् वा शान्ति वार्ता र नेगोसिएसन, नेपाल राज्यको पहिलो प्रतिनिधित्व जहातही उही प्रहरी हो।
उसको रासन, पोशाक, टर्नआउट, गेट्अप, बियरिङ, मनोबल, हौसला र ब्यवसायिक दक्षता नै राज्यलाई मापन गर्ने वास्तविक ऐना हो। राज्यको राजनैतिक, आर्थिक, सामाजिक र सुरक्षा हैसियत जाहेर गर्ने सफा ऐना नै प्रहरी फोर्स हो।
वृत्ति विकासको वर्तमान समस्याले कतिपय प्रहरीहरुलाई निरासमात्र बनाएको छैन, आपराधिक गतिविधितर्फ धकेलिरहेको छ। अपराधी समक्ष शरण लिन बाध्य पारिरहेको छ। यो अर्को अशान्ति, सरकार विघटन र राज्य विखण्डनको बिजारोपण र मलजल हो।
किनभने मुलुकमा गुण्डाराज मौलाइरहेको छ। भविष्यको शासन सत्ता गुण्डा र अपराधीले कब्जा गर्ने संकेत विगत र वर्तमानले गरिसकेको छ।
पंक्तिकारले केवल आफ्ना द्वन्द्व सहकर्मीहरुको एउटा मात्र समस्या उप्काए। संगठनका समस्या अरु धेरै हुन सक्दछन्।
प्रजातन्त्र र गणतन्त्रको अभ्यास गरिरहेको मुलुकका प्रधानमन्त्रीले प्रहरी संगठन र सकल दर्जाले बेहोरिरहेको विविध समस्या सुन्न बुझ्न र गाँठो फुकाइदिन जरुरी छ। प्रहरी संगठन प्रमुखलाई शान्तिकालमा महिनाको एकपटक १ घण्टा समय छुट्याउन जरुरी छ।
यो फ्रण्टलाइन संगठनलाई सेनाको चस्मा र गृहमन्त्रीको चस्माबाट हेर्नु मूल्यांकन गर्नु सरासर भुल हुने छ र त्यही भइरहेको छ । सईहरुको बढुवा श्रावण ६ अगावै भइसक्नुपर्ने प्रावधान छ। जसको लागि २ हप्ताको समयावधि पनि छैन। तर कर्मचारी प्रशासन शाखाले विभिन्न विकल्पसहित तयार पारेर राखेको गृहकार्य पूरा गर्न गरौं भन्ने हो भने २ घण्टा समय पनि लाग्दैन।
संगठन प्रमुखका बोझ र गुनासो तमाम हुन सक्दछन्। सुरक्षा निकायहरु मध्ये सबैभन्दा धेरै पीडाबोध, हिनताबोध, समयभाव र तनावको भारी बोक्नुपर्ने नेतृत्व प्रहरी संगठनको हो भन्ने पंक्तिकारको बुझाइ रहेको छ।
अपराधिक गिरोहको छायामा लत्रेको नुहेको राजनीति र त्यस्तो विकृत राजनीतिक हस्तक्षेपको सिकार भएर बिलखबन्दमा परेको संगठनको शीघ्र उद्धार र सुधार गर्न जो सुकै होस् प्रधानमन्त्रीको हस्तक्षेप जरुरी छ।
लेखक सुरक्षा विद् हुन् ।
Facebook Comment