पाँच मन्त्रालय सम्हाल्दा नया अनुभव महसुस भयो : कृष्णगोपाल श्रेष्ठ

रासस
२९ असार २०७८ १८:५२

काठमाडौं । पाँच मन्त्रालयको नेतृत्व समालेका मन्त्री कृष्णगोपाल श्रेष्ठ आजबाट बिदाइ भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण, युवा तथा खेलकूद र श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले उनलाई बिदाइ गरेको हो ।

मन्त्री श्रेष्ठले १९ दिनमा शिक्षा मन्त्रालयबाहेक चार मन्त्रालयमा करिब एक दर्जन बढी महत्वपूर्ण काम गर्न सफल भएका छन् । बिदाइ समारोहमा उनले अमेरिकी सरकारले कोभ्याक्स सुविधाअन्तर्गत उपहारस्वरुप दिएको जोन्सन एण्ड जोन्सन कम्पनीको खोप ल्याउन आफू सफल भएको भन्दै चीनबाट करीब ४० लाख खोप खरिद गर्न सम्झौता गरिसकेको बताए । स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हालेलगत्तै उनले यो वर्षभित्र सबै नागरिकलाई खोप उपलब्ध गर्ने प्रतिबद्धता जनाएका थिए ।

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले मन्त्री श्रेष्ठको कार्यशैलीका कारण काम गर्न सहज भएको बताए । उनको कार्यकालमा तीन मुलुकबीचको फुटबल खेलमा पहिलो स्थान हासिल गर्ने फुटबल खेलाडीलाई नगद पुरस्कार र युवा परिषद्को बैठक सम्पन्न भएकोे थियो ।

मन्त्री श्रेष्ठले गत असोज २९ गतेबाट शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । गत पुस १२ गतेबाट शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका मन्त्री श्रेष्ठले मन्त्रालयअन्तर्गत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको गत वर्ष स्थगित कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरेका थिए । उनको कार्यकालमा विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिसहितका पदाधिकारी नियुक्त भएको थियो ।

मन्त्री श्रेष्ठले आफूले जे जस्तो काम गरे मन्त्रालयका सचिवलगायत कर्मचारीको सहयोगले सम्भव भएको बताए । “सबै क्षेत्रमा आमूल परिवर्तन गर्ने सोच थियो, तर कम समय भएकाले सम्भाव भएन, जति काम सम्पन्न गरे, त्यसमा मलाई खुशी लागेको छ”, उनले भने, “पाँच वटा मन्त्रालयको बारेमा सिक्ने मौका पाए, एक पटकमा पाँच मन्त्रालयको जिम्मा पाएर इतिहास कायम गर्न सफल भएको महसुस गरेको छु ।”

कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले आफूले १४६ दिनसम्म काम गर्ने मौका पाउँदा मन्त्री श्रेष्ठसँग धेरै विषयमा जानकारी हासिल गर्न पाएको बताए । तीनदिन अघि मात्रै विज्ञान मन्त्रालयको कार्यभार सम्हालेका विज्ञान सचिव सुरेश आचार्यले मन्त्रीको कार्यशैलीको बारेमा आफूलाई जानकारी भएको बताए ।

युवा मन्त्रालयका सचिव केदार न्यौपाने, श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, वन मन्त्रालयका सचिव प्रेम कँडेल, स्वाथ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल र शिक्षा मन्त्रालयका सचिवद्वय रामप्रसाद थपलिया र सुरेश आचार्यले बिदाइ भएर जान थालेका मन्त्रीलाई आगामी यात्राको शुभकामना व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *