साउन ३ गतेका लागि बोलाइयो संसद अधिवेशन

डिसी नेपाल
३१ असार २०७८ १९:४०

काठमाडौं। प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आगाामी साउन ३ गतेका लागि आव्हान गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार संसदका दुबै सदनको अधिवेशन आव्हान गरेकी हुन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आव्हान गरेकी हुन्।

मन्त्रिपरिषदको विहीबार बसेको बैठकले संसद अधिवेशन आव्हानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। गत जेठ ८ मा विघटन गरिएको प्रतिनिधिसभाको अधिवेशन सर्वोच्च अदालतले बदर गरेपछि पहिलो पटक बोलाइएको हो।

सर्वोच्च अदालतले गत सोमबार प्रतिनिधिसभा विघटन बदर गर्दै साउन ३ गते अधिवेशन बोलाउनसमेत फैसला गरेको थियो। सर्वोच्चको सो फैसला अनुसार साउन ३ गते अधिवेशन बोलाउनुपर्ने आवश्यक थियो। त्यसैले मन्त्रिपरिषदले राष्ट्रपति समक्ष अधिवेशन आव्हानका लागि सिफारिस गरेको थियो।

नेपालको इतिहासमा दुई पटक विघटन भएर दुबै पटक पुनःस्थापना भएको यो पहिलो प्रतिनिधिसभा हो। तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक गत पुस ५ मा र दोस्रो पटक जेठ ८ मा प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनाव घोषणा गरेका थिए। तर, सर्वोच्चले पहिलो पटक फागुन ११ मा र दोस्रो पटक गत सोमबार प्रतिनिधिसभालाई ब्यूउँताउने फैसला गरेको हो।

सर्वोच्चले गत सोमबार काँग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश दिएपछि देउवा मंगलबार प्रधानमन्त्री नियुक्त भएका छन्।

यसअघि विपक्षी रहेको काँग्रेस अब सत्तारुढ दल बनेको छ भने यसअघिको विपक्षी रहेको नेकपा एमाले अब विपक्षी बनेको छ। एमाले संसदमा पहिलो पटक विपक्षीको बेन्चमा देखिनेछ। भर्खर सत्ता त्याग्नुपरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली आक्रोशित छन्। अब संसदमा सत्ता पक्ष र विपक्षबीच कडा घोचपेच हुने अनुमान छ। यसअघि विपक्षीमा रहेको काँग्रेसको प्रस्तुति कमजोर भएको विश्लेषण हुँदै आएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *