साउन महिनामा हरियो पहिरनमा सजिँदै नारी

सप्तरी। साउन महिनाको शुरूवातसँगै नारीहरूको हातमा हरियो चुरा बज्न थालेको छ।उनीहरू हरियो पहिरणमा देखिन थालेका छन्।
राजविराज नगरपालिका १ कि २१ वर्षीया राधा कुमारी चौधरी हरियो पहिरणमा देखिइन्। हातमा पनि हरियो चुरा टलक्क टल्कि रहेको थियो ।
उनले भनिन्, ‘मलाई सम्झना भएदेखि साउन लागेपछि हरियो लुगा र चुरा लगाउँदै आएकी छु।’ उनीलाई साउनमा हरियो लुगा र चुरा किन लगाइन्छ भन्ने थाहा नपाएपछि प्रत्येक साउनमा हरियो चुरा कपडा लगाउँदै आएकी छन्। आमा, आफन्त र साथीहरूले लगाएको देखेर आफूले पनि लगाउँदै आएको चौधरीले बताइन्।
राजविराज नगरपालिका वडा नं ७ कि ४५ वर्षीया साधना कर्ण राजविराज हटियामा बिहीबार हरियो चुरा किन्दै गर्दा भेटिइन्।
उनले भनिन्, ‘साउन महिना शुरू हुने बित्तिकै हाम्रो परिवारका हरेक महिला र साथीहरूले हरियो चुरा लगाउँदै आएकोले मैले पनि लगाउँदै आएकी हुँ।’
साउन महिना जताततै हरियो, प्रकृतिको रमणीय वातावरण हुन्छ। साउन महिना विशेष गरि महादेवको महिना भएकोले यस महिनामा हरियो पहिरण लगाएमा महादेव खुशी हुने र चिताएको पूरा हुने जनविश्वास रहेको छ।
सप्तरी महदेवा गाउँपालिका १ कि ४३ वर्षीया अनिता देवी यादव राजविराजको एक कपडा पसलमा हरियो लुगा छान्दै गरेको अवस्था भेटिइन्।
उनले हरियो लुगा उनको १७ वर्षीया छोरी कुशुमको लागि छानी रहेकी थिइन् । हरियो लुगा नै किन भनेर प्रश्न गर्दा उसले भनिन्, ‘खास गरी छोरीको लागि हरियो कुर्ता सुरूवाल र चुरा किन्न बजार आएकी हुँ ।’
अनिताको आमाले साउन महिनामा चुरा अनिवार्य रूपमा लगाउँदै आएकोले आफूले पनि त्यसै गर्दै आएको अनिताले बताइन्। तर अरूको हेरेर छोरीले दुई वर्षदेखि हरियो चुरासँगै लुगापनि लगाउँदै आएको उनको भनाइ थियो। उनले थपिन्, ‘पुर्खा र समाजले जे गर्छन् ,गर्ने पर्यो गर्दिन भनेर हुँदोरहेनछ।’
उनीहरू मात्र नभएर साउन महिनाको शुरूवातसँगै नारीहरू हरियो पहिरणमा सजिन थालेका छन्। राजविराज हटियामा रहेको पुजा बस्त्रालयका संचालक जयकुमार गुप्ता भन्छन्, ‘अरू समयमा सबै रंगको लुगा बिकेपनि अहिले अधिकांस ग्राहकले हरियो लुगा खोज्ने र किन्ने गरेका छन्।’
पसलेहरूले साउन महिनामा हरियो रंगको कपडाको माँग बढि भएकोले हरियो रंगलाई प्राथमिकता दिने गरेको स्थानीय रिता साह बताउँछिन्।
उनी भन्छिन्, ‘अहिले लुगा वा चुराको पसल छिर्यो कि पसलेहरू हरियो रंगको देखाउँन् थाल्छन्।’ साउन महिनामा हरियो रंगको महत्त्व अहिले देखि नभएर पुर्खौंदेखि रहेको स्थानीय ६० वर्षीया पिंकी झाको भनाइ रहेको छ।
Facebook Comment