देउवा सरकार जोगाउने प्रयास : ​कोटेश्वरमा नेपाल र प्रचण्डको वार्ता

डिसी नेपाल
३ साउन २०७८ ६:५५

काठमाडौं। नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ। नेपाल निवास कोटेश्वरमा दुई नेताबीच एक घण्टा बढी छलफल भएको हो।

प्रचण्ड निकट स्रोतका अनुसार भेटमा पाँच दलीय गठबन्धन जोगाउने र पुनस्र्थापित प्रतिनिधिसभामा कसरी प्रस्तुत हुने भन्ने विषय केन्द्रित छलफल भएको छ। प्रचण्डले छलफलमा पाँच दलीय गठबन्धन जोगाउन नेता नेपालले साथ दिनुपर्नेमा जोड दिएका छन्।

एमाले एकता कार्यदलले १० बुँदे सहमति गरेपछि पनि ठोस रुपमा पार्टी एकता हुन सकेको छैन। पार्टी एकता हुन नसकिरहेको अवस्थामा प्रचण्डले पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पाँच दलीय गठबन्धनलाई साथ दिँदै आएका छन्। प्रचण्डले त्यसलाई निरन्तरता दिएर नयाँ ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।

पौने २ बजेतिर नेपाल निवास कोटेश्वर पुगेका प्रचण्ड करिब तीन बजे त्यहाँबाट निस्किएका छन्। एमाले नेपाल समूहका २३ सांसदको हस्ताक्षरकै आधारमा प्रधानमन्त्री बनेका देउवालाई संसदमा विश्वासको मत दिलाउने कसरतमा प्रचण्ड लागिपरेका छन्।

देउवा प्रधानमन्त्री बनेपछि बसेको पाँच दलीय गठबन्धनको बैठकमा वरिष्ठ नेता नेपाल सहभागी नभए पनि आफ्नो तर्फबाट डा. विजयी पौडेललाई सिंहदरबार पठाएका थिए। यसले नेपाल समूह पार्टी एकतामा भन्दा पाँच दलीय गठबन्धनप्रति प्रतिवद्ध भएको आरोप एमाले संस्थापन पक्षले लगाउँदै आएको छ।

एमाले एकताका लागि भएको १० बुँदे सहमतिप्रति असन्तुष्टि जनाएका नेता नेपालले देउवालाई विश्वासको मत तयारी गरेको आरोप लाग्दै आएको छ। पछिल्ला भेटघाटले आरोपलाई पुष्टि गरेको संस्थापन पक्षको दाबी छ।

संविधान अनुसार प्रधानमन्त्री बनेको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्छ। त्यसका लागि प्रधानमन्त्री देउवालाई नेपाल समूहको साथ आवश्यक पर्छ। त्यही पहलमा प्रचण्ड सक्रिय छन्।

प्रधानमन्त्री नियुक्त भए लगत्तै देउवासमेत असार ३० गते कोटेश्वर पुगेका थिए। देउवाले नेपाल निवासमै पुगेर विश्वासको मतका लागि आग्रह गरेका थिए। अन्नपूर्ण पाेष्ट दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *