दबाबमा पत्रकार, बढ्दो मानसिक समस्याको जोखिम

काठमाडौँ। महामारीले पत्रकारहरुमा आर्थिक, सामाजिक र पेशागत दबाव सिर्जना भएको छ। यसकारण उनीहरु मानसिक समस्याको जोखिममा छन्। कोरियाको नामसोल विश्वविद्यालयसँगको सहकार्यमा नेपाल पत्रकार मञ्चले बुधबार आयोजना गरेको ‘कोभिडविरुद्ध खुशी रणनीति’ विषयक शैक्षिक भर्चुअल कार्यक्रमका वक्ताहरुले यो अवस्थालाई सामान्य ठान्नु नहुने बताएका छन्।
जोखिमपूर्ण घटना र ठाउँमा गएर सूचना, दृश्य र तस्विर संकलन गर्नुपर्छ। त्यस्ता ठाउँमा जाँन सामान्य मास्कबाहेक अन्यसुरक्षा सामाग्री हुँदैनन्। आज लगाए पनि भोलिका लागि थप सामाग्री हुँदैनन्। संक्रमणको जोखिमपूर्ण ठाउँमा जानुपर्छ फर्किएर आएपछि परिवारसँगै बस्नुपर्छ।
उता पेशाको सुरक्षा पनि छैन। जागिर बचे पनि समयमा पारिश्रमिक प्राप्त गर्ने पत्रकारको संख्या कम छ। किनभने बिज्ञापनको बजारमा गिरावट छ।
भर्चुअल कार्यक्रममा सहभागीहरुले आफ्नो अवस्था बताएपछि विश्वविद्यालयका प्राध्यापकहरुले ३ महिनासम्म पनि यस्ता लक्षण क्रमशः एउटै मात्रामा रहे भने समस्याको निकारणमा लाग्नु पर्ने बताए।
नामसोल विश्वविद्यालयकी सह—प्राध्यापक डा.युउन सिल किमले ‘कोभिड–१९ एण्ड मेन्टल हेल्थ’ शीर्षकमा प्रस्तुति गर्दै भनिन्, ‘हरेक नराम्रा घटनाहरुको सूचना, तस्विर वा दृश्य लिने पत्रकारहरुमा तुरुन्त मनमा खिन्नता, अपशोच जस्ता भावहरु आउन सक्छन्। कहिलेकाहीँ त पेशामा किन आउँछु भन्ने पनि लाग्न सक्छ। यो घटनाले ल्याएको संवेग र उनीहरुका लागि जोखिम पनि हो। त्यसैले पत्रकारहरु तनाब, डर, चिन्ता र डिप्रेसनदेखि चाँडै नै मानसिक स्वास्थ्यको गहिरो समस्यामा पर्न सक्छन्।’
कोभिडले हरेक व्यक्तिको उत्पादनशीलतामा ह्रास ल्याएको भन्दै उनले यसले अग्रपङ्तिमा खटिने पत्रकारहरुमा पनि आर्थिक समस्याहरु बढेको बताइन्।
अन्तरक्रियामा ‘साइकोलोजिकल इम्प्याक्ट अफ फ्रन्टलाइनर ड्यूरिङ अ प्यान्डामिक’ शीर्षकमा अध्ययनपत्र प्रस्तुत उप—प्राध्यापक डा. सिर्जना थापाले, यसबाट जटिल खालको मानसिक समस्या आउनेतर्फ आजै सोच्नु पर्ने सुझाव दिइन्। सामान्य अवस्थालाई छिट्टै र औषधिको प्रयोग विना नै सुधार गर्न सकिने भन्दै उनले त्यसैले अरुले भनेका भरमा औषधि प्रयोग नगर्न सुझाव दिइन्।
‘पत्रकारले समाचार तयार पार्ने प्रक्रिया अन्तर्गतका काम गर्ने हो। पहिले हामीले पत्रकारका दायित्वलाई यसरी बुझेका थियौँ। तर यतिले मात्र नपुग्ने भयो। अब समाचार लेख्नेसँगै सञ्चार गृह जोगाउने पनि सोच्नु पर्ने भयो’, महामारीले पत्रकारमाथिको दबाबका विषयमा कुरा गर्दै नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले भने। उनले महामारीकै कारण प्रिन्टबाट डिजिटल पत्रकारितामा गएको र यसले धेरै पत्रकारको रोजीरोटीका सवालमा समस्या भएको उल्लेख गरे। उनले भने, ‘यो पत्रकारहरुका लागि तनाबको विषय हो।’ विष्टले, पत्रकारको पेशागत सुरक्षाका लागि नीति पैरवी र नेतृत्व गरिरहने बताए।
‘महामारी शुरु हुँदा खान थिएन, लगाउन थिएन, औषधि थिएन तर सूचना थियो। यो पत्रकारले गरेको योगदान हो’, कार्यक्रममा नेपाल टेलिभिजनकी नायव महाप्रबन्धक एवं सञ्चालक समितिकी सदस्य आरती चटौतले भनिन्, ‘सामान्य अवस्थामा मानिसहरुको ध्यान मनोरञ्जनमा र विपदमा सूचनातिर हुने तथ्यलाई विर्सन मिल्दैन।’ गएको ३ बर्षमा करीव १८ हजार व्यक्तिले आत्महत्या गरेको, यसमा पहिलो बर्षभन्दा दोस्रो र तेस्रो बर्षमा बढ्दै गएको अङ्कले व्यक्तिहरुमा मानसिक समस्या बढ्दै गएको प्रमाणित भएको उल्लेख गर्दै यस्ता घटना रोक्न सतर्कता र सचेतामुलक कार्यक्रमको खाँचो रहेको उनले बताइन्।
पत्रकारहरुको यो योगदानका कारण कोडिडका विषयमा जनताले सूचित हुने मौका पाएको वक्ताहरुको भनाइ थियो।
प्रेस काउन्सिलले गरेको अध्ययनअनुसार ८३ प्रतिशत पत्रकारले कोविडकासमयमा आफूलाई पेशामा असुरक्षित भएको महसुस गरेको बताएका छन्। ३५ प्रतिशतले तनाब छ। ३८ प्रतिशतको तलब घटाइएको छ।
सञ्चार गृहमा काम गर्ने ५० प्रतिशत महिलाले आफूलाई लैङ्गिक असमानता महसुस भएको बताएका छन्। ६२ प्रतिशत महिलाले घर र कार्यालयको तारतम्य मिलाउन कठिन भएको बताएका छन्। ६४ प्रतिशतले जिम्मेवारी बहन गर्न कठिन भएको बताएका छन् भने ७५ प्रतिशत महिलाले तनाब बढेको बताएका छन्।
यो अध्ययनपछि देखिएको जटिलता सम्बोधन गर्न कुनै पक्षबाट कुनै खालका कार्यक्रम आएनन्। पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले कोविड–१९बाट प्रभावित पत्रकारहरुलाई राज्यले वेवास्ता गरेको आरोप लगाए। उनले भने, ‘यस्तो जटिल परिस्थितिमा अग्रभागमा क्रियाशील रहेर समाजलाई सुसूचित गर्ने कार्यमा लाग्ने पत्रकारहरुलाई खोप लगाउन समेत अदालतमा मुद्दा हाल्नुपर्ने अवस्था सिर्जना भयो। यो अत्यन्त लाजमर्दाे अवस्था हो।’
भर्चुअल कार्यक्रममा उपत्यकासहित वीरगञ्ज, सिराहा, मोराङ्, कास्कीसहित विभिन्न ठाउँबाट १ सय पत्रकारले भाग लिएका थिए।
Facebook Comment