मुसहर समूदायकाे चौतर्फी विकासको बाधक रक्सी

सप्तरी। सप्तरीको विष्णुपुर गाउँपालिका ६ कि ६५ वर्षिया अशिया देवीसदा (मुसहर)लाई अहिले पनि छोराछोरीलाई शिक्षित बनाएको हेर्न र उमेरपुगेपछि छोराछोरीलेको विवाह गरेको हेर्न कल्पना बाहिर छ।
दलितमा पनि अन्य जातजाति विस्तारै शिक्षित हुदै कोल्टे फेरेको देख्दा गर्व महशुस भएपनि आफ्नो जात सदा (मुसहर) मा त्यसो नभएको देख्दा उनलाई रातदिन चिन्ताले सताउन थालेको छ।
दुई छोरा तीन छोरीकी आमा र ८ जना नातानातिनीका हजुरआमा रहेकी अशियालाई छोराछोरी भन्दा नातिनातिनालाई पढाउन नसकेकोमा चिन्ता लागेको हो।
उनको नातिनातिनाको शुरूमा बिद्यालयमा भर्ना गरेपनि उनीहरूले पढन सकेनन्।उनले भनिन् , ‘छोराछोरीको पालोमा पढाइका लागि केही गर्न सकिएन।’
नातिनातिनाको अवस्थामा पनि केही परिवर्तन हुन नसकेपछि अब यो समुदायमा शिक्षामा पहुँच भएर फेरिने हो कि होइन? यस बिषयमा उनीलाई चिन्ताले सताएको छ।
उनले भनिन्, ‘समयको माँग अनुसार गर्न सकिएन भने दुःख पाईदो रहेछ। व्यक्ति परिवार र समाज नै पछाडि पर्दोरहेछ।’
सोही ठाउँकि ६० वर्षिया कागती देवी सदाका ३ छोराका १२ जना छोराछोरी छन्। जेठाको ८ जना, माहिलोको दुई र कान्छाका दुई गरि उनको १२ जना नातिनातिना छन्। जसमध्ये माहिलोको एक जना छोराले एसईई पास गरेर उच्च शिक्षा अध्ययन गर्दै छन्। उक्त वडामा उनको जातका चार जनाले गरेको एसईई पास मध्ये उनी एक हुन्।अन्यले एकदुई कक्षा पढ्दापढ्दै छोडी दिएको कागतीको भनाइ छ।
कागती भन्छिन्, ‘कसैको आर्थिक अवस्था राम्रो छैन्। पढ्ने माहोल छैन्। अनि कसरी पढोस् बालबालिका ?’
े
मुसहर समूदायको कुनै एउटा निश्चित पेशा नै छैन। न त उनीहरूसँग कुनै सीप नै छ। उनीहरूको एउटामात्र मान्यता मजदुरी गरेर खानुपर्छ भन्ने छ।
श्रीमान् श्रीमती दुबैले दुई छाक पेट भर्नका लागि मजदुरी गर्न बाध्य भएपछि घरमा भएका केटाकेटीले भाईबहिनीलाई हेर्नुपर्ने ,बाख्रा पाठा चराउँदै घरधन्दा गर्ने काममा व्यस्त हुनुपरेको कागती बताउँछिन्।
वडामा रहेको १ सय १० मुसहर समूदायको घरमा चार जनाले मात्र एसईई पास गरेका छन्।अन्य बालबालिका पढ्न बिद्यालय जादैनन्। एकसय दश परिवारमा करिब ४ सय बालबालिका शिक्षाबाट बञ्चित रहेका छन्। केहीको बिद्यालयमा भर्ना रहेपनि बिद्यालय पढ्न जाँदै नजाने गरेको सोही ठाउँकी ५० वर्षिया भुलु देवी सदा बताइन्।
उनले थपिन्, ‘हाम्रो जातको सबैभन्दा ठूलो समस्या रक्सी हो। रक्सी नै हाम्रो जातको चौतर्फी विकासको बाधक हो। श्रीमानले दिनभर मजदुरी गरेर कमाएको पैसा बेलुका भट्टीमा सक्ने गरेपछि छोराछोरीलाई कसरी वढाउँने, बीस वर्षसम्म विवाह नगरी केका लागि घरमा राख्ने?’ रक्सीको समस्या अन्त्य नभएसम्म मुसर समुदायको समस्या समाधान नहुने भुलुको बुझाइछ।
वडामा १ सय १० घर मुसहर परिवार छन्। जसमध्ये अधिकांश सुकुम्वासी छन्। अर्काको जग्गामा बस्दै आए पनि भने जस्तो घर र दुई छाक राम्ररी खान पाउने अवस्था नरहेको स्थानीय ४५ वर्षिया नेपु सदाले बताइन्।
चेतनाको अभावमा यो समुदायका पुरूषहरू जन्मेपछि कमाउने र खाने भन्ने मान्यताका कारण यो समूदायको उभो लाग्न नसकेको दुखेसो नेपुको रहेको छ।
उनले भनिन्, ‘रक्सी खान कहि जानू पर्दैन समुदायमै भएको पसल पसलमा रक्सी पाउँनाले बेलुका कमाएर आउने बित्तिकै पुरूषहरूले त्यहीँ गएर बुझाउँछन्।’
जिविकोपार्जनका लागि छेउमा रहेको ईंटा भट्टामा महिलाहरू पनि गएर काम गर्छन्। त्यहाँ पनि विभेद छ। महिलाहरूले दिनभर काम गर्दा तीनसय मात्र पाउँछन् भने पुरूषहरूले दिनको पाँच सय पाउँदै आएको स्थानीयले बताए।नेपुले थपिन्, ‘रक्सी बालबालिका पढन नपाउनु मुख्य बाधक भएकोले रक्सी मुक्त मुलुक नभएसम्म मुसहर परिवारको उभो लाग्न सक्दैन्।’
‘अहिले कोरोनाकाल छ भन्छन्। बिद्यालय बन्द छ बन्दले यहाँ कुनै बालबालिका र अभिभावकलाई केही फरक परेको छैन्’, यस सम्बन्धमा अशिया देवी सदाले भनिन् , ‘खुलेको बेला पनि बालबालिका बिद्यार्थी जादैन्थ्ये,अहिलेपनि जादैनन्। हाम्रो बस्तीमा कोरोनाले शिक्षामा कुनै प्रभाव नपारे पनि दुई छाक हातमुख जोर्न पक्कै प्रभाव पारेको छ।’
स्थानीय ६० वर्षिया कमली सदाले थपिन् , ‘विवाह भएर य हाँ आएको पाँच दशक पुग्न लागेको छ। बीस बर्ष पुगेर विवाह भएको कसैलाई यो आँखाले हेर्न पाएक छैन।’नपढेपछि गरिवीको कारण कति चाँडोभन्दा चाँडो विवाह गर्न सकिन्छ भन्ने मानसिकताका कारण २० वर्ष भित्रै छोराछोरीको विवाह गर्दै आएको बताइन्।
वडा अध्यक्ष बाहादुर सदा भन्छन्, ‘चेतनाको अभाव र गरिबीका कारण हाम्रो समुदाय एकदमै पछाडि परेको छ।’ कम उमेरमा विवाह गरेमा सजाय हुन्छ भन्ने जानकारी भएपनि उमेरै नपुगी विवाह गर्दै छन्।
Facebook Comment