को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ
![को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ](https://www.dcnepal.com/wp-content/uploads/2021/07/222765649_4226666654067063_2439515661012782575_n.jpg)
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले आफै राखेका छन् ।
प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको १३ औं दिनमा कांग्रेसका समानुपातिक सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका हुन् ।
हालसम्म नेपाली काग्रेंसको तर्फबाट गृह मन्त्रीमा बालकृष्ण खाँण र कानुन मन्त्रिमा ज्ञानेन्द्रबहादुर कार्की, माओबादी केन्द्रको तर्फबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र उर्जा मन्त्रीमा पम्फा भुषाल नियुक्त भइसकेका छन् ।
स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त श्रेष्ठ मूलतः शिक्षा क्षेत्रका व्यवसायी हुन् । श्रेष्ठ २०१२ सालमा भोजपुरमा जन्मिएका व्यक्ति हुन् । ४२ वर्षअघि भोजपुरबाट काठमाडौं आएका उनी हाल शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा संलग्न छन् । हाल झम्सीखेल ललितपुरमा उनको बसोवास छ ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य रहेका उनी ललिपुरको हात्तीवनमा रहेको लिटिल एन्जल्स एजुकेशन ग्रुपका संस्थापक अध्यक्ष हुन् । उनी उच्च माध्यमिक विद्यालय एसोसिएसन हिसान र प्याब्सनका पूर्व अध्यक्षसमेत हुन् भने हाल सल्लाहकार छन् । उनी कांग्रेसमा दोस्रो पटक समानुपातिक कोटाबाट सांसद बनेका व्यक्ति हुन् । यसअघि उनी संविधानसभा सदस्य थिए ।
श्रेष्ठको नेपालको शैक्षिक क्षेत्रमा मात्रै नभएर अन्य व्यवसायमा पनि लगानी छ । उनले व्यावसायिक शुरुवातमा भने लिटिल एन्जल स्कूल खोलेर शैक्षिक व्यवसायीका रुपमा परिचय बनाएका थिए ।
उनी प्राइम कमर्सिंयल बैंकका पूर्व अध्यक्षसँगै मुख्य लगानीकर्ता पनि हुन् । उनको पछिल्लो समय जलविद्युत् आयोजनामा पनि लगानी छ । उनी पाँचथर पावर कम्पनी प्रालिका अध्यक्ष हुन् । यस्तै सानीगाड हाइड्रो पावर बझाङ, कालङगा हाइड्रो वझाङ, बुङ्गल हाइड्रो बझाङ, भिजन इनर्जी रामेछाप र माउन्टेन इनर्जी म्याग्दीका पनि उनको लगानी छ ।
यसैगरी चितवनमा होटल सिराइचुली, होटल सेन्ट्रल पार्क, धुलिखेलमा हिमालयन दृश्य रिसोर्ट र तनहुँमा घाँसी हेल्थ रिसोर्टमा पनि उनको लगानी छ । पोखरामा उनको नयाँ होटल परियोजना सुरु भएको छ । कृषि फार्म, निजी वन विकास लगायत धेरै क्षेत्रमा उनको लगानी छ । यस्तै हाउजीङ तथा रियल स्टेटमा पनि उनको लगानी छ ।
श्रेष्ठले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा पनि हात हालेका छन् । नेपालमा निजी अस्पतालमा लगानी गर्न सुरु गरेका श्रेष्ठले यस वर्ष नै ५० करोड रुपैयाँभन्दा बढी लगानीमा पाँचवटा निजी अस्पताल बनाउने तयारी गरेका छन् ।
उनी महेन्द्रनारायण निधि मेमोरियल सामूदायिक अस्पताल काठमाडौंको ट्रस्टीजको अध्यक्ष हुन् । यस्तै काठमाडौंको बालाजुमा रहेको जनमैत्री अस्पतालकासमेत उनी अध्यक्ष हुन् ।
पहिलो प्राथमिकता खोप: श्रेष्ठ
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना खोपलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार आयोजित सपथपछि संचारकर्मीसँग कुरा गर्दै उनले आफ्नो पहिलो प्राथमिकता खोप हुने बताएका हुन् ।
‘मेरो पहिलो प्राथमिकता खोप व्यवस्थापनमा हुनेछ, अहिलेको प्राथमिकता भनेको खोप हो, गरिब जनताले कसरी स्वास्थ्य सुविधा पाउन सक्छन् भन्नेतर्फ पनि मेरो ध्यान केन्द्रीत हुनेछ,’ सपथपछि संचारकर्मीहरुसँग श्रेष्ठले भने ।
उनले कोरोनाको तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि विज्ञहरुसँग छलफल गरेर दीर्घकालीन र अल्पकालीन रणनीतिसहित काम गर्ने पनि बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरबारस्थित प्रधानमन्त्रीतथा मन्त्रीपरिषद्को कार्यालयमा नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ गराएका थिए । राजधानी दैनिकबाट
Facebook Comment