शक्ति बाँडफाँटमा अड्कियो : एमाले एकताको हलो !
![शक्ति बाँडफाँटमा अड्कियो : एमाले एकताको हलो !](https://www.dcnepal.com/wp-content/uploads/2021/05/kp-oli_1538443690.jpg)
काठमाडौं। नेकपा एमालेका सांसदहरूले पार्टी एकताका लागि दबाब अभियान सुरु गरेका छन्। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले एकताका लागि दबाब अभियान सुरु गरेका हुन् ।
आइतबार सांसदहरूले कार्यदलका सदस्यहरूसँग पनि छलफल गरेका छन्। करिब ३६ जना सांसदहरूले पार्टी एकताका सन्दर्भमा देखा परेका समस्या र ती समस्याको समाधानका लागि चाल्नुपर्ने कदमलगायत विषयमा छलफल भएको सांसद दीपकप्रकाश भट्टले बताए।
कार्यदलले तयार गरेको १० बुँदे सहमतिको प्रस्ताव एकताको आधार भए पनि बाँकी कुराहरूमा शीर्ष नेतृत्वलाई ‘कन्भिन्स’ गरेर अगाडि बढ्न दबाब दिनुपर्ने विषयमा छलफल भएको हो। ‘कार्यदलको १० बुँदे सहमतिअनुसार अगाडि बढ्न सबै तयार देखिएका छन्।
पछिल्लो समय नेताहरूका अभिव्यक्तिहरू पनि नरम हुन थालेका छन्’, उहाँले भन्नुभयो, ‘पार्टी जुनसुकै अवस्थामा पनि एकताबद्ध भएर जान्छ। तर, केही मिल्न बाँकी रहको कुराहरूमा अझै पनि छलफल जारी रहेको छ।’
आइतबार सिंहदरबारमा दुवै पक्षका सांसदहरू र कार्यदलका सदस्यहरूबीच छलफल भएको हो। अन्तरिक एकतालाई सुदृढीकरण गर्दै अगाडि बढ्न सहयोग पु¥याउने हिसाबले दबाब अभियान सुरु भएको उनले बताए।
सांसद कृष्णप्रसाद दाहालले पार्टी एकतालाई मजबुत बनाउनका लागि दबाब अभियान सुरु गरिएको बताए। उनले भने, ‘पार्टी एकतालाई मजबुत बनाउनका लागि हामी दबाब दिन्छौं । त्यसका लागि सल्लाह पनि दिनेछौं। विघटित पार्टी एकता कार्यदललाई विश्वास पनि गर्दछौं । शीर्ष तहका समस्या समाधान भने त्यसलाई पनि मिलाउनुहोस् । हामी तपाईँहरूको साथमा छौं । पार्टीभित्रको समस्या समाधानभन्दा बाहिर, पार्टी एकताभन्दा बाहिर कसैलाई पनि जाने अनुमति छैन । हामी जान दिँदैनौं।’
सांसदहरूले देश, जनता, राष्ट्र र लोकतन्त्रका लागि पनि एमाले विभाजित हुन नहुने तर्कसमेत गरेका छन् । उनीहरूले विघटित पार्टी एकता कार्य दलका नेताहरूलाई पार्टी एकताभन्दा बाहिर जाने अनुमति नेताहरूलाई नभएको पनि सचेत गराएका छन्। छलफलमा विघटित पार्टी एकता कार्यदलका संयोजक तथा सदस्यहरूले १० बुँदे सहमतिकोमहत्व र त्यसको कार्यान्वयनका आवश्यकताबारे सांसदहरूलाई जानकारी गराएका थिए।
१० बुँदे सहमति कार्यान्वयन गर्दै पार्टीलाई एकताबद्ध बनाउन सांसदहरूले आफूहरूलाई आग्रह गर्नुभएको विघटित कार्य दलका माधव नेपाल पक्षका संयोजक भीम रावलले जानकारी दिए। उनले पार्टी एकताबद्ध हुनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया पनि दिए।
उनले भने, ‘हामीले १० बुँदे सहमतिको महत्व र त्यसको कार्यान्वयनको स्थितिबारे उहाँहरूलाई जानकारी गरायौं । र उहाँहरूले पार्टीलाई एक मतले एकताबद्ध बनाएर अघि लैजान जोड दिए। त्यसका लागि उहाँहरूले संघीय संसद्का पार्टीका सबै सांसदहरू कटिबद्ध भएर लागिपर्ने बताउनुभयो । १० बुँदे सहमति कार्यान्वयनमा पनि भूमिका खेल्नुस् भन्नुभयो । हामीहरूले एमाले एकताबद्ध भएर अघि बढ्ने विश्वास दिलायौं ।’
ओली पक्षका नेता सुवास नेम्वाङले कुनै पनि अवस्थामा एकता भएरै छाड्ने बताएको उनले जानकारी दिए। नेम्वाङको भनाइ उद्धृत गर्दै उनले भने, ‘कुनै पनि हालतमा पार्टी एकता हुन्छ । नेताहरूबीच केही मतभिन्नता भए पनि वार्ताका माध्यमबाट त्यसलाई टुंगोमा पु¥याइन्छ । एकताका लागि नै कार्यदलमा निरन्तर छलफल भइरहेको छ।’
पार्टीलाई एकताबद्ध बनाउन दोस्रो तहका नेताहरू सक्रिय
एमालेलाई एकताबद्ध बनाएर अगाडि बढाउनुपर्ने दोस्रो तथा तेस्रो तहका नेताहरू सक्रिय भए पनि सफल हुन सकेका छैनन् । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले एक-अर्कालाई निषेध गर्न खोज्ने प्रवृति पनि देखिएको छ। ओली र नेपालले एक-अर्काको कडा आलोचनासमेत गर्दै आएका छन् । अहिले कार्यदलमा भएको १० बुँदे सहमति मान्न दुवै पक्ष तयार भए पनि मुख्य विषय शक्ति बाँडफाँटमा गएर अड्किएको छ ।
कार्यदलमा सो विषयमा छलफल भए पनि शीर्ष नेताहरूबीच सहमति नजुट्दासम्म सम्भव नभएको भन्दै नेताहरू ब्याक भएका थिए । नेपाल पक्षले ओली सरहको क्षेत्राधिकार हुनुपर्ने माग गर्दै आइरहेको छ । औपचारिक रूपमा नेपाल पक्ष भने यसलाई स्वीकार गर्दैन । ओलीले नेता नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको बताउँदै आएका छन्।
नेता नेपालले भने दोस्रो अध्यक्षभन्दा पनि समान निर्णयको अधिकार मागेको बुझिएको छ। आइतबार सांसदहरू र कार्यदलका सदस्यहरूबीच पनि सो विषयमा कुराकानी भएको थियो । छलफलमा पार्टीका हरेक निर्णयमा अध्यक्ष ओलीसँगै वरिष्ठ नेता नेपालको हस्ताक्षर पनि अनिवार्य गरी अगाडि बढ्ने गरी सहमति जुटाउने विषय उठेको सहभागी एक सांसदले बताए।
उनले भने, ‘कार्यदलको सहमति त लगभग कार्यान्वयनको अवस्थामा आइसकेको छ । अब कुरा पार्टीमा नेता नेपालाई पनि समान निर्णयको अधिकार दिनुपर्छ भन्ने हो । सहमति त शीर्ष तहमा जुटाउनुपर्ला । तर एमालेमा एकल हस्ताक्षर मान्य नहुने समझदारी भयो भने एकता सम्भव हुन्छ।’
कार्यदलका सदस्यहरूसँग छलफलमा रहेका सांसदहरूले अझै अरू सांसदहरू पनि अभियान जोडिने बताएका छन् । दुवै पक्षमा रहेका अधिकांश सांसदहरू पार्टीलाई एक बनाएर अगाडी जानुपर्छ भन्ने पक्षमा रहे पनि बोल्न नसकेको अवस्थामा अभियानले ठूलो सहयोग गर्ने नेताहरूको विश्वास छ।
ओली केही नरम, तर घोचपेच उस्तै
आफ्नै पार्टीले नेतृत्व गरेको सरकार ढालेर गबठन्धनमा सामेल भएको भन्दै नेता नेपालको चर्को आलोचना गर्दै आउनुभएका अध्यक्ष ओली पछिल्लो समय केही नरम देखिनुभएको छ । ओलीले नेता नेपाल पक्षहरू आफ्नो गल्ती स्वीकार गरी पार्टीमा आए माफी दिने बताएका थिए।
तर, आइतबार भने उनी केही नरम बनेका छन्। नेता नेपालले ओलीको उक्त अभिव्यक्तिलाई महाराजधिराजको संज्ञा दिएपछि ओलीले गल्ती गर्नेलाई कारबाही र माफी गर्ने काम आफ्नो नभई पार्टीको भएको बताए।
अखिल नेपाल महिला संघको जारी पहिलो सचिवालय बैठकमा भर्चुअल सम्बोधन गर्दै ओलीले भने, ‘माधव नेपाललाई माफी दिने म को हुँ ? दिए पार्टीले दिन्छ ।’
उनले पार्टी एकताका लागि प्रयास जारी रहे पनि नेताहरू गठबन्धनको बैठकमा सहभागी हुनु उचित नभएको बताए।
ओलीले पार्टीभित्रकै नेताहरूको व्यक्तिगत स्वार्थका कारण पार्टी फुटको अवस्थामा पुगेको पनि बताए। उनले नेपाली राजनीतिमाथि दीर्घकालीन असर पार्ने गरी संविधानको व्याख्या भएको उल्लेख गर्नुहुँदै परमादेशमार्फ प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रियामा विदेशी शक्तिको पनि दबाब रहेको बताए।
उनले नेता नेता नेपाललाई हरियो सर्पको संज्ञासमेत दिए। नेता नेपालले पार्टीमा पनि परित्याग नगर्ने र पार्टीभित्रै रहेर षड्यन्त्र गरिरहेको उनको आरोप थियो। उनले भने, ‘घाँसको मुठो पनि नछोड्ने र त्यहीँभित्र लुकेर अनेक षड्यन्त्र गर्ने हरियो सर्पलाई सबैले चिनौं।’ हिमालय टाइम्स दैनिकबाट
Facebook Comment