लुम्बिनी प्रदेशका तीन मन्त्री जसपाबाट निष्काशित

काठमाडौं । जनता समाजवादी पार्टीले आफ्नो पार्टीबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित तीन जना सांसदलाई पार्टीबाट निष्काशन गरेको छ ।
आधिकारिकता पाएको भोलिपल्ट अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको जसपाको कार्यकारिणी समितिको बैठकले सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई कारबाही गरेको हो।
जसपाको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागि भएपछि उनीहरुलाई कारबाही गरिएको बताइएको छ। तीनै जना ठाकुर पक्षका सांसद हुन् ।
उनीहरुलाई यसअघि पनि जसपाले पार्टीबाट निष्काशन गरेको थियो । उनीहरु सर्वोच्च अदालतमा गएपछि सर्वोच्चले उनीहरुलाई थमौती दिएको थियो।
यस्तै बैठकले सोमबार सनाखत गर्दा आफ्नो पक्षमा नउभिएका १७ जनालाई पार्टीबाट निष्काशन गरेको छ ।
निर्वाचन आयोगमा सनाखत गर्दा यादवको पक्षमा ३४ जना उभिएका थिए भने ठाकुरको पक्षमा १६ जना उभिएका थिए । ५१ सदस्यीय कार्यकारिणी समितिमा रेशम चौधरी तटस्थ बसेका थिए । निष्काशनका चौधरी समेत परेका छन् ।
यसैबीच ठाकुर पक्ष निर्वाचन आयोगविरुद्ध अदालतमा जाने भएको छ । आयोगले यादव पक्षलाई पार्टीको आधिकारिकता दिएपछि ठाकुर पक्ष असन्तुष्ट बन्दै आयोगविरुद्ध अदालत जान लागेको हो।
Facebook Comment