‘क्लाइमेक्स’ मा एमाले विवाद

डिसी नेपाल
१६ साउन २०७८ ७:४१

काठमाडौ। नेकपा एमालेको विवाद ‘क्लाइमेक्स’मा पुगेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले बढीमा शनिबारसम्म एकताका लागि कुर्न सकिने सन्देश प्रवाह गर्नुले पनि एमाले विवाद वार कि पारको अवस्थामा पुगेको हो। सत्ता गठबन्धनमा भएका कारण एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन दबाब पनि हुँदै आएको छ।

तर, अध्यक्ष ओलीले चेतावनीसहितको अल्टिमेटन नै दिएपछि उहाँ थप दबाबमा परेका छन्। बिहीबार पार्टीको केन्द्रीय कार्यालय पुगेर अध्यक्ष ओलीले पार्टीका महासचिव ईश्वर पोखरेल र कार्यालय सचिव शेरबहादुर तामाङलाई ढिलोमा शनिबारसम्म मात्रै एकताका लागि कुर्न सकिने सन्देश प्रवाह गर्न निर्देशन दिएका थिए।

महासचिव पोखरेलले ओलीको सन्देश प्रवाह गर्दै नेपाल पक्षलाई दोस्रो अध्यक्ष पनि दिन नसकिने अभिव्यक्ति सार्वजनिक गरेका छन्। स्वयं अध्यक्ष ओलीले दोस्रो अध्यक्ष दिन सकिने बताएका थिए। तर, महासचिव पोखरेलको सो अभिव्यक्ति फेरि एकताका लागि बाधक बन्न सक्ने चर्चा हुन थालेको छ। पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका हुन्। नेपाल पक्षले प्रस्ताव पार्टीको विधि र विधानभन्दा फरक ढंगले आएको उल्लेख गर्दै स्वीकार गर्न नसकिने बताए।

पार्टी कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले कार्यदलमा जुटेको सहमतिभन्दा बाहिर गएर एकता सम्भव नभएको बताए। कार्यदलको सहमति केन्द्रीय समितिले अनुमोदन गरिसकेकाले सोहीअनुसार एकताका काम अगाडि बढाउनुपर्ने बताए।

उनले भने, ‘पार्टीको विधि र विधानभन्दा फरक ढंगले हुन सक्दैैन । पार्टी महाधिवेशनले पारित गरेको विधान छ, नियमावली छ। हामी २०७५ साल जेठ २ गते अघि जाने कुरा गरिरहेका छौं । त्यसमा जाँदाखेरि त्यसबेलाको विद्यमान विधान र नियमावलीमा के छ ? त्यसले अनुमति दिने, त्यसले स्वीकार गर्ने, त्यसमा व्यवस्था भएका कुराहरूलाई नै पालना गर्नुपर्यो नि, सबैले ।’

माधव नेपाल पक्षबाट दैनिकजसो विभिन्न प्रस्ताव आउने गरेको उल्लेख गर्दै महासचिव पोखरेलले ती प्रस्तावबारे आफूले बुझ्न नसकेको पनि बताए। उनले पार्टीभित्र देखिएको विग्रहकारी स्थितिको अन्त्य छिटो हुनुपर्नेमा पनि जोड दिए।

त्यसका लागि जिम्मेवारीपूर्वक भूमिका खेल्न महासचिव पोखरेलको नेपाल पक्षसँग आग्रह छ। महासचिव पोखरेलले पार्टी एकताको विषयलाई टुंग्याएर पार्टीको महाधिवेशनको तयारीको कामलाई अघि बढाउन लागिएको जानकारीसमेत दिए।

विभाजित नेपाल समूह !

कार्यदलमा रहेका सदस्यहरूले वरिष्ठ नेता नेपाललाई एकताका लागि दबाब बढाइरहँदा नेताहरू नै विभाजित देखिएका छन्। ओली खेमामा रहेर देउवालाई विश्वासको मत दिएका सांसदहरू र कार्यदलमा रहेका नेता तथा सांसदहरूको मत मिल्न नसकेको हो। सुरुवातबाटै नेपाल समूहमा रहेका अधिकांश सांसदहरू ओलीसँग मिल्नुको सट्टा सरकारमा जानुपर्ने र नयाँ पार्टी बनाएर अगाडि बढ्नुपर्ने अडानमा छन्।

साथै ओलीको साथ छाडेर आएका सांसदहरू पनि सोही लाइनमा देखिएका छन् । तर, भीम रावल समेतका नेताहरू भने पार्टी विभाजन गर्न नहुने पक्षमा रहेका छन्।

नेपाल पक्षका सांसद मेटमणि चौधरी एकताको सम्भावना टर्दै गएकाले सरकारमा सहभागी हुनुपर्ने मत बहुमत सांसदहरूको रहेको बताउँछन्। समूहगत छलफलमा ओलीको नेतृत्व स्वीकार गरेर जान सक्ने अवस्था नभएकाले सरकारमा जानु उपयुक्त हुने नेताहरूको भनाइ छ रहेको छ।

तर, केही नेपाल पक्षकै सांसदहरू भने प्रेम आलेलगायतले ओलीको साथ छाडेर आएपछि आक्रोशित बनेका छन्। सुरुबाटै नेपाललाई साथ दिँदै आएका सांसद झपट रावलसमेतका सांसदहरू आलेहरूप्रति आक्रोशित देखिएका छन्। ती सांसदहरूले फ्लोर क्रस गरेर आएका सांसदहरूलाई मन्त्री बन्ने लोभमा गुट परिवर्तन गरेको आरोप पनि लगाउँदै आएका छन्। नेता नेपाललाई उहाँहरूले नै सरकारमा अहिले जान नसकिने भन्दै दबाब दिँदै आएका छन्।

देउवालाई भर छैन उपेन्द्रको, नेपाल फकाउने जिम्मा प्रचण्डलाई

प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विश्वासको मत दिएका एमाले नेपाल समूहका सांसदहरूलाई सरकारमा सहभागी गराउने प्रयत्न जारी राखेका छन्। एमाले एकताका लागि भन्दै ओली र नेपाल समूह दुवै पक्षका नेताहरू खटिएका छन्। तर, देउवाले नेपाल पक्षलाई सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन्। त्यसका लागि नेपाललाई फकाउने जिम्मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको स्रोत बताउँछ ।

पछिल्लो समय मन्त्रिमण्डल विस्तार गर्न देउवाले ढिलाई गर्नुलाई पनि नेपाल समूहलाई फकाउने प्रयास अझै जारी रहेको बुझ्न सकिन्छ। प्रचण्डले पनि नेपालसँग निरन्तर संवाद गरिरहेका छन्। जनता समाजवादी पार्टी (जसपा)ले देउवालाई विश्वासको मत दिए पनि देउवाले उनीहरूलाई भने पूर्णरूपमा विश्वास गर्न सकेका छैनन्।

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको र अहिले महन्थ ठाकुर पक्ष अदालत पुगेकाले पनि जसपाको भर पर्न नहुने देउवाको बुझाइ छ। उपेन्द्र यादवभन्दा माधव नेपाल साथमा भए ढुक्क हुने भन्दै देउवालाई नेपाललाई फकाउन प्रचण्डलाई परिचालन गरेकाे बताइन्छ।

शनिबार स्थायी कमिटी

नेकपा एमालेले शनिबार स्थायी कमिटी बैठक बोलाएको छ। महाधिवेशन केन्द्रित छलफल हुने बताइएको बैठकमा नेपाल समूहसँग एकताको सम्भावनाका विषयमा पनि छलफल हुनेछ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बैठकमा महाधिवेशनलाई केन्द्रमा राखेर छलफल हुने बताए।

यस्तै, महासचिव पोखरेलले माधव नेपाल पक्षसँगको एकताको विषयलाई छिटो टुंग्याएर महाधिवेशनमा केन्द्रित हुन आफूहरूले चाहिरहेको बताए। पछिल्लो समय पार्टी महासचिवको सो अभिव्यक्ति आउनु र नेपाल समूहभित्रै द्वन्द्व देखा पर्नुले ओली पक्ष नेपाल समूहका असन्तुष्ट नेताहरूलाई आफ्नो खेमामा तान्ने प्रयासमा रहेको बुझिन्छ। नेपाल समूहका नेताहरू ओलीले आफ्नो समूहमा फुट ल्याउन यस्तो चाल चालिरहेको बताउँछन्। हिमालय टाइम्स दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *