कोरोना खोप अभियान कि तेस्रो लहरको लागि निम्ता !

काठमाडौं। भक्तपुर लोकन्थलीकी ४५ वर्षकी मिना लामा खोप लगाउन लाइनमा बसिन्। महेन्द्र आधारभूत विद्यालयको प्राङगणमा उनी विहान ८ बजे नै आएर लाइनमा बसेकी थिइन्। करिव ५ घण्टा लामो समय लाइनमा बसेपछि उनले खोप लगाउने अवसर पाइन्। लामो सयम लाइनमा बसे पनि खोप लगाउन पाएकोमा उनी खुसी छिन्।
उक्त लाइनमै रहेका लोकन्थलीकै राजाराम श्रेष्ठ पनि खोप लगाउने प्रतिक्षामा छन्। १०ः३० बजे बाट खोप सुरु हुने भनेर विस्तारै आएक उनी खोप लगाउन पाउने नपाउने विषयमा अनविज्ञ छन्। खोप लगाउने ठाउँको भीड र आफन्तलाई खोप लगाउने होडबाजीले उनलाई खोप पाउने/नपाउनेमा आशंका पैदा गरेको हो।
‘हामीले खोप पाउने कि नपाउने थाहा छैन,’ श्रेष्ठले भने, ‘जेष्ठ नागरिकहरुलाई भने नाम बोलाएर लगाइदिएका छन् त्यो राम्रो कुरा हो। हाम्रो पालो पनि अहिलेसम्म आउँथ्यो होला। यहाँ आफ्नो मान्छे देख्ने वित्तिकै थोरै कुराकानी गरेजस्तै गरेर अगाडी लैजानछन् र खोप लगाउँछन्।’
शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्ती भएपछि उनले सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता कोरोना विरुद्धको खोप रहेको बताएका थिए। लगत्तै उनले कोरोना खोप केन्द्रको अनुगमन पनि गरेका थिए। तर कोरोना खोप केन्द्रमा खोप लगाउनेको अव्यवस्थित भीड हेर्दा त्यहाँ खोप लगाउने भन्दा पनि धेरै कोरोना सर्ने जोखिम देखिन्छ।
महेन्द्र आधारभूत विद्यालयको प्राङ्गणमा मात्र होइन लोकन्थलीकै निर्मल ब्याङ्केटमा पनि खोप लगाउनेको उस्तै लाइन देख्न सकिन्छ। सडकसँग जोडिएको व्याङ्केटको गेट बन्द गरेर नाम बोलाउँदै जेष्ठ नागरिकलाई भित्र प्रवेश गराइएको थियो। ‘जेष्ठ नागरिकको मात्र हैन। आफन्तको पनि नाम बोलाएर भित्र लैजाने गरेका छन्,’लामो समय लाइनमा बसेकी मिना खड्काले आक्रोस पोख्दै थिइन्।
शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्ती भएपछि उनले सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता कोरोना विरुद्धको खोप रहेको बताएका थिए। लगत्तै उनले कोरोना खोप केन्द्रको अनुगमन पनि गरेका थिए। तर कोरोना खोप केन्द्रमा खोप लगाउनेको अव्यवस्थित भीड हेर्दा त्यहाँ खोप लगाउने भन्दा पनि धेरै कोरोना सर्ने जोखिम देखिन्छ।
सडकमा लागेको मान्छेको भीडले आउजाउमा समेत अफ्ठेरो पारेको थियो। कोरोना महामारी नियन्त्रणका लागि खोप लगाउन गएकाहरुको भीड हेर्दा कोरोना छैन झैं अनुभूति हुन्थ्यो। स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्डअनुसारको कुनै पनि व्यवस्था खोप केन्द्रहरुमा देखिएको थिएन।
दुई मिटरको दुरीमा बस्नु पर्छ भन्ने स्वास्थ्य मन्त्रालयको मापदण्डको खुलेरै धज्जी उडाइएको थियो। एक व्यक्तिले अर्को व्यक्तिसँग टासिँएर लाइनमा लागेका थिए। अझ भनौं एक अर्का व्यक्तिबिचको दुरीमा कमिला पनि छिर्न पाउने अवस्था थिएन।
‘यो त कोरोना फैलाउने नयाँ उपाए हो,’ नगदेश स्वास्थ्य चौकीमा खोप लगाउन पुगेका कृष्ण भक्त श्रेष्ठले भने, ‘मान्छेहरु भ्रष्ट भए। नजिक भएपछि कोरोना सर्छ भन्ने कुरा सबैलाई थाहा छ। तर, कसैले पनि मान्दैन। जेष्ठ नागरिक भनेर नागरिकता लिएका छन्। नाम आउँछ होला। म त बरु खोप लगाउँदैन। तर, नजिक जान्न।’
स्वास्थ्य मन्त्रालयले बनाएका मापदण्डहरुको ठाडो उलंघन भएको देखेपछि कृष्णभक्तलाई अन्याय महशुस भएको छ। ‘हामीले दोस्रो लहर भनेर आएको कोरोनाको त्यत्रो बिगबिगी सहेका छौं। कतिले ज्यान गुमाउनु पर्यो। किन मान्छेले यसरी सामान्य रुपमा लिएका होलान्। यस्तो अवस्था देखेर अब तेस्रो लहरलाई निम्ता दिएको झै लागेको छ।’
नगदेश भीडलाई व्यवस्थापन गरिरहेका स्वयमसेवक जति गरे पनि मान्छेले नबुझ्ने बताउँछन्। ‘हामीले विहानैदेखि भनेका छौं। दुरी बनाउँनुहोस्, मिलेर बस्नुहोस्, मास्क अनिवार्य लगाउनु होस्। तर, कसैले मान्ने नै हैन। पालो त सबैको आउँछ नि। उहाँहरु दुई मिटरको दुरी बनाएर बसे पनि भीडभाड गरे पनि खोप लगाउँने डाक्टरको समय त उही हो।’
मध्यपुरठिमी नगरपालिकाले नेपाल कोरिया मैत्रि नगरपालिका अस्पताल, निर्मल व्याङ्कैट लोकन्थली, महेन्द्र आधारभूत विद्यालय नाट्यश्वरी, ३ नम्बर वडा कार्यालय कौशलटार, बालकुमारी स्वास्थ्यचौकी, भुलांखेल, थिमी स्वास्थ्यचौकी, निकोशेरा शहरी स्वास्थ्य केन्द्र, नगदेश स्वास्थ्य चौकी र बोडे शहरी स्वास्थ्य केन्द्रलाई खोप केन्द्र बनाएर कोरोना विरुद्धको खोप अभियान संचालन गरिरहेको छ।
नगरपालिकाले ५० वर्षभन्दा माथि उमेर भएका, विदेश जानकालागि खोप अनिवार्य गरिएका, अग्रपंतिमा रहेर काम गर्ने व्यक्तिहरु, सार्वजनिकयातायातका कर्मचारी, विद्यालयमा कार्यरत कर्मचारी र पहिलो मात्रा भेरोसेल लगाएका व्यक्तिहरुलाई खोप लगाउने समूह भने पनि त्यो अनुसारले खोप अभियान संचालन हुन नसकेको स्थानीयको भनाइ छ।
विहान १०ः३० देखि खोप अभियान सुरु हुने भने पनि खोप लगाउन लाइनमा बस्नेहरु भने एका विहानै खोप केन्द्रमा पुग्ने गरेको कर्मचारीहरुको भनाइ छ। उनीहरुका अनुसार लाइनमा अगाडि बसेपछि खोप लगाउँन पाइन्छ भन्दै घरको एक जनालाई लाइनमा बस्न लगाएर अरु आएपछि त्यहीबाट सुरु गराउने गरेका छन्। त्यसो गर्दा लाइनमा पनि चिनेको जानेको घुसाउँदा पछाडी बसेकालाई सास्ती भएको उनीहरुको भनाइ छ।
Facebook Comment