‘म्यानपावरले पैसा दिन्छ कि भनेर आएको, हाम्रो लागि काठमाडौं विदेश गए जस्तै हो’
काठमाडौं। काठमाडौंको गोगंबुस्थित एक म्यानपावरले कन्चनपुर घर भएका तीन युवासँग २०७४ सालमा क्रोएसिया पठाइदिन्छु भनेर जनही तीन लाखका दरले ९ लाख रुपैयाँ उठाएको रहेछ।
पैसा उठाएका म्यानपावर संचालक श्रीधर लामा (नाम परिवर्तन) ले ती युवाहरुलाई आजसम्म न त पैसा नै फिर्ता दिए, न त वैदेशिक रोजगारीमा नै पठाए। पैसा दिन्छु भनेर धेरै झुल्याएर दिक्क पारेकाले अन्ततः ती तीनै जना युवा पैसा फिर्ता पाइन्छ कि भनेर न्यायको खोजीमा सम्बन्धित निकायहरु धाउन थालेका रहेछन्।
सोही घटनासँग सम्बन्धित एक महिला गत २० गते विभागको बाहिरपट्टी आगन्तुक बस्ने कुर्सीमा निराश मुद्रामा बसिराखेकी थिइन्। श्रीमानलाई कुरेर बसेको बताउने उनी (पार्वती देउवा–नाम परिवर्तन) भन्दैं थिइन्, ‘यहाँ (विभाग) म्यानपावरले खाएको पैसा उठ्छ कि भनेर आएको हो।’
उनी श्रीमान र दुई जना छिमेकी भाइसँग त्यहाँ आएकी रहेछिन्।
उनको श्रीमान् र दुई जना छिमेकी भाइसँग तीन–तीन लाख गरी ९ लाख रुपैयाँ म्यानपावर संचालक लामाले विदेश पठाउने नाममा लिएका रहेछन्। आज दिन्छु, भोलि दिन्छु भन्दाभन्दै तीन वर्ष बितिसक्दा समेत लामाले उनीहरुलाई न त विदेश नै पठाए, न त पैसा फिर्ता नै दिएका रहेछन्।
पार्वतीले भनिन्, ‘अब त म्यानपावरको मान्छेले पैसा देला भन्ने आश मलाई लाग्दैन।’ पार्वतीका अनुसार उनका श्रीमान र छिमेकी दुई भाइले काठमाडौं धेरैपटक धाउदासमेत आश्वासन बाहेक कत्ति पनि पैसा पाएका रहेनछन्। तीनै जनालाई जनही तीन लाखको चेक दिने र चेकको समय सकिएपछि त्यो चेक च्यात्न लगाएर पुनः अर्को चेक दिने गर्दै आजसम्म उनीहरुलाई लामाले पैसा दिने नाममा झुलाइ राखेका रहेछन्।
तीन जनामध्ये एक जना युवाले दोस्रो पटक चेक पाएपछि भने चेक वाउन्स गरिदिएका रहेछन्। पार्वती भन्छिन्, ‘तीन जनामध्ये एक जनाले चेक वाउन्स गराएका हुन्। तिनी उबेला यही काठमाडौंमै बस्थे अनि रिस उठेर चेक वाउन्स गरिदिएका रहेछन्। चेक वाउन्स गर्दा पनि २ वर्षसम्म केही पनि कारवाही भएको छैन।’
उनका अनुसार चेक वाउन्स गरेपछि फोन गर्छौं अनि आउनु भनिएको रहेछ। तर, जति कुर्दा पनि फोन आएनछ र उनीहरु तीनै जना वाउन्स चेक के भएछ भनेर काठमाडौं आएका रहेछन्।
वाउन्स चेक सम्बन्धमा पार्वती भन्छिन्, ‘चेक बाउन्स गरेपछि टेकुबाट भाइ तिमीलाई फोन गरेर बोलाउँछौं भनेको रहेछ। तर आज भोलि आउला भनेको त फोन नै आएन। अनि बुझ्न गएको, चेक त त्यहाँबाट सरेर अन्तै गएछ। र, सरेको ठाउँमा पनि गयौं र उहाँहरुले पेन्डिङमा राखिएको छ भन्नु भयो। पेन्डिङमा किन राखेको भनेर सोध्दा चेक वाउन्स भएको ठाउँका व्यक्तिले त्यो म्यानपावरको लामा निकै पावरवाला मान्छे हो भन्यो।’
उनले अगाडि भनिन, ‘चेक म्यानपावरवालाले नै पेन्डिङ गरेको रहेछ। म्यानपावरको मान्छेले पनि आफैं फोन गरेर भनेको रे, भाइ तिमीले चेक वाउन्स गराएका रहेछौं मैले रोक्का गरिदिएको छु भनेर।’ उनका अनुसार म्यानपावर संचालक लामा पावरफूल मान्छे भएकाले वाउन्स चेक पेन्डिङमा गराउन सफल भई उनी बिना कारवाही बसिराखेका रहेछन्।
अन्ततः चेक वाउन्सबाट पनि कारवाही नभएपछि ती युवाहरु लामाको म्यानपावर कार्यालय गएछन्। त्यहाँ नभेटिएपछि लामाकै कार्यालयको रिसेप्सनबाट फोन गरी पैसा र नागरिकता, पासपोर्ट आदि कागजात दिन भनेछन्। फेरि लामाले पहिले पहिले गर्दै आएजस्तो तिमीहरुको पैसा र डकुमेन्ट यही २० गते २ बजेभित्र दिन्छु भनि झुठो आश्वासन दिएछन्।
त्यसदिनको घटना स्मरण गर्दै पार्वती भन्छिन्, ‘उसलाई म्यानपावरमा नभटेपछि त्यही भेटिएका एक व्यक्तिले तपाईंहरु वैदेशिक रोजगार विभाग जानु भनेकाले यहाँ आएका हौं।’
म्यानपावर संचालक लामाले ती तीनै जना युवासँग जनही डेढ लाख रुपैयाँ वैदेशिक रोजगारीको नाममा बिल काटेर लिएका रहेछन् र अर्को डेढ लाख भने युवाहरुले गाउँबाट आइएमई गरिदिएका रहेछन्। जनही डेढ लाखको बिल भएकाले प्रत्येकलाई डेढ लाख रुपैयाँ भने विभागले म्यानपावरको धरौटीबाट कटाएर दिलाइदिने जनाएको रहेछ।
उनी भन्छिन्, ‘हामीसँग म्यानपावरवालाले दिएको डेढ लाखको बिल छ र डेढ लाख भने आइएमई गरेको कागज छ। अनि उसले दिएको पुरानो तीन लाखको चेक छ।’
पछिल्लो समय लामाले पैसा दिन्छु भनेकाले उनीहरु गत ८ गते काठमाडौं आएका हुन्। तर, लामाको यो पटक पनि पैसा दिने छाटकाट छैन् भन्छिन्, पार्वती।
काठमाडौं आएर होटलमा बसिराखेको बताउने पार्वती भन्छिन्, ‘एक दिन एक रात गरी दुई दिन लगाएर गाउँबाट यहाँ आएका हौं। मेरो बुढा र दुई जना भाइले २०७४ सालमा पैसा दिएका हुन्। विदेश हुन्छ भन्ने, हुन लाग्यो भन्ने गरेर यत्तिका दिन झुलायो। पुरोनो चेक आफूले राख्ने र नयाँ चेक दिने गर्दै गयो। फोन गरेर पैसा फिर्ता दिन्छु भनेकाले चेक वाउन्स गर्ने समय पनि सकियो। फेरि हिजोअस्ती उसैले फोन गरेर १० गते दिन्छु भनेर बोलाएको हो। र, फेरि २० गते दिन्छु भन्यो।’
लामाले दिएको २० गते २ बजेको समयपछि उनीहरु विभाग आएका रहेछन्। त्यसदिन उनीहरु अन्य व्यक्तिले दिएको सुझावनुसार विभागले पैसा दिलाइदिन्छ भन्ने आशमा त्यहाँ आएका रहेछन्। विभागमा उजुरी गर्न ती तीन युवाहरु भित्र गएका रहेछन् र पार्वती भने श्रीमानसहित दुई भाइलाई कुरेर बाहिर बसेकी थिइन्।
पार्वती भन्दै थिइन्, ‘आज २ बजेभित्र चेक दिन्छु अनि तपाईहरुको नागरिकता लगायतका डकुमेन्ट दिन्छु भनेको छ। हामीले २ बजेसम्म कुर्यौ र धेरैचोटी फोन हान्दा पनि नउठाएपछि यहाँ आएका हौं।’
उनी थप्छिन्, ‘सुरु सुरुमा विभागमा आएर केस गर्नुपर्छ भन्ने नै थाहा थिएन। फेरि साउदी कतार कुनै ठाउँ जाउ भने पनि आफ्नो यता पैसा फसेको छ। त्यत्रो पैसा छोड्नु त भएन, फेरि अर्को देश जान पनि पैसा चाहियो। पैसा दिइहाल्ला भनेर कुर्दाकुर्दा यत्तिका वर्ष भइसक्यो।’
पैसा फसाएका युवाहरुको बारेमा गुनासो गर्दै उनले भनिन्, ‘तीन जनामध्ये एक जनाको विवाह भएको छैन। एक जना भाईको अर्को महिनामा भिसा आउछ भनेकाले हतारहतारमा विवाह गर्यो। मेरो चाहिँ साना २ वटा छोरा छन्। अस्ति भर्खर मेरो बुढालाई पनि म्यानपावरवालाले तिम्रो अर्को ठाउँबाट भिसा आयो भन्यो। अनि बुढाले फर्निचर पसल खोल्नु भएको थियो, त्यो बेच्नु भयो तर ठगेको रहेछ। यो म्यानपावरले दिल्लीबाट विदेश पठाउँदो रहेछ। यो म्यानपावरको हेड अफिस दिल्लीमा रहेछ।’
म्यानपावरका लामाले अनेक वाहाना गरी पैसा र पासपोर्ट लगायत डकुमेन्ट पहिल्यै लिने र अवैधानिक, वैधानिक सबै तरिकाले गाउँका सोझा साझा युवाहरुलाई वैदेशिक रोजगारीमा पठाउने कार्य गर्दै आएका रहेछन भन्ने कुरा पार्वतीको कुराबाट प्रष्टिन्छ। ती युवाहरुलाई पनि लामाले अवैधानिक तरिकाले भारत हुँदै क्रोएसिया पठाउन पैसा, पासपोर्ट आदि लिएका रहेछन्।
ऋण गरेर दिएको पैसा भएको बताउँदै पार्वती भन्छिन्, ‘म्यानपावरलाई दिएको पैसा सहकारीबाट निकालेको हो। हामी यत्रो एक जनाले पाँच हजार(अहिले बढेर) गाडीको टिकट काटेर काठमाडौं आएको। होटलमा बस्दा पनि ८–९ सय बिना कोठै पाउदैन रहेछ। दिनकै यत्रो खर्च भइराखेको छ।’
उनी अगाडि थप्छिन्, ‘हामी गरिब मान्छे, पैसा दिन्छ कि भनेर काठमाडौं जस्तो ठाउँ आयौं। हाम्रो लागि त यो काठमाडौं विदेश गए जस्तै हो। हामी खेती किसान गर्ने मान्छे अहिले सम्म त्यो पैसाको ब्याज सहकारीलाई तिरिराखेका छौं । फर्निचर पसल पनि जग्गा धितो राखेर खोलेका थियौं। भिसा आइहाल्छ विदेश जाने तयारी गर्नु भनेकाले बेचिदियौं।’
उनी भने पहिलो पटक काठमाडौं आएको बताउने पार्वती दुई चार दिन बुढासँग पैसाको लागि विभिन्न ठाउँमा जाँदा धेरै दुःख पाएको बताछिन्। उनी भन्छिन्, ‘यो पैसाको लागि उहाँहरु पहिला काठमाडौं आउदा किन होला पैसा नलिई आएको भनेर कराउँथे तर यो पटक चाहीँ बुढासँग म पनि आएकोले थाहा पाए, कस्तो दुःख हुँदोरहेछ भनेर। पैसाको लागि कहिले कता, कसैले कता जा भन्छन्, हैरान भैसक्यौं तर पैसा पाउने छाटकाट छैन।’
पैसा पाउने आशमा धेरै ठाउँमा बुढासँगसँगै भौतारिकी पार्वतीलाई आफूजस्तै धेरै व्यक्ति म्यानपावरबाट पीडित भएको देख्दा भने केही मन शान्ति भएको बताउँछिन्। उनी भन्छिन्, ‘यहाँ हेर्दा सबैलाई यस्तै रहेछ भनेर थाहा भयो। म धेरै ठाउँमा गए, हामी जस्तो पीडित धेरै हुनुहुँदो रहेछ। अनि चित्त बुझ्दो रहेछ नत्र त हामीलाई मात्र यस्तो गरेको भनेर धेरै टेन्सन हुन्थ्यो।’
आफूहरु सोझो भएकोले ठगको हातमा परेको दुखेसो गर्दै उनी भन्छिन्, ‘यिनी (तीन युवा) हरु सोझा भए, चलाख भएनन् त्यसैले म्यानपावरले झुलाइराखेको छ। यस्तो हुनुभन्दा त बरु आफ्नो खेती किसानी गरो खायो त्यही नै राम्रो हुन्छ।’
‘बिचरा कस्तो सोझा रहेछन्, पहिल्यै चेक वाउन्स गराउनु पर्छ नि’, भनेर धेरैले भनेको बताउदै उनी भन्छिन्, ‘एक जना भाईलाई त पत्थरी भएको छ, अप्रेशन गर्नु पर्ने छ । पैसा दिएपछि अप्रेशन गर्ने भनेका छन्। तर म्यानपावरका मान्छे धेरै चन्डाल हुँदा रहेछन्, धेरै झुलाए, उल्टै हाम्रो यहाँ धेरै पैसा खर्च गराइसके।’
कुरा गर्ने सिलसिलामा उनी भन्छिन्, ‘एउटा हाम्रै जिल्लाको पत्रकार भाईले केही गर्देला कि भनेर फोन गरेको उसले पनि फोन नै उठाएनन्।’ पार्वती समाचारमा लेख्यो भने पैसा देलाकी भन्ने आशमा रहेछिन्। तर, उनी अपरिचित डिसी नेपालको एक प्रतिनिधि पात्रसँग खुलेर गफ गरिराखेकी हुन्छन्।
उनको कुरा सुनेपछि डिसी नेपालको तिनै पात्रले उनलाई, ‘त्यसो भए समाचारमा लेखिदिउ त?’, भन्ने जिज्ञासामा उनी झस्किन्छिन्। र, तुरुन्तै भेरे साँझमा मेरो श्रीमानसँग कुरा गर्छु अनि फोन गरौंला नि भन्छिन्।
Facebook Comment