सुजताद्वारा सभापतिका लागि उम्मेदवार घोषणा
![सुजताद्वारा सभापतिका लागि उम्मेदवार घोषणा](https://www.dcnepal.com/wp-content/uploads/2020/04/Sujata-Koirala.jpg)
काठमाडौं। नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले आसन्न महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहेको बताएकी छन्। मंगलबार आफ्नै निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेतृ कोइरालाले ठूलोबुबा (बिपी) र बुबा (गिरिजाप्रसाद) को सपना साकार पार्न आफू नेतृत्वमा आउनुपर्ने बताएकी हुन्।
उनले २१औं शताब्दीमा विश्वका धेरै मुलुकमा महिलाले नेतृत्व लिइसकेको अवस्थामा देशकै पुरानो र लोकतन्त्रवादी दलको नेतृत्वमा महिला आउन जरुरी भइसकेको बताइन्। उनले भनिन्, ‘अब दलमा महिलाको भूमिकालाई बढाउनैपर्छ। त्यसकै नेतृत्व लिन म अग्रसर भएकी हुँ । मेरो प्राथमिकता महिलालाई राजनीति र पोलिसी मेकिङ तहमा पुर्याउनु हुनेछ । सँगसँगै राजनीतिमा युवाको प्रतिनिधित्व बढाउन पनि मेरो उम्मेदवारी रहेको छ।’
कोइराला परिवारभित्रबाट महामन्त्री शशांक र नेता शेखरले पनि नेतृत्वको दाबी गरिरहेको सन्दर्भमा सोधिएको प्रश्नमा नेतृ सुजाताले परिवारबाट आफूमाथि सबैको विश्वास रहने दाबी गरिन्।
उनले भनिन्, ‘सवाल नेपाली कांग्रेसको मात्र होइन । समग्र मुलुकको हो।यसबीचमा मुलुक समस्याले घेरियो । लोकतन्त्रवादी शक्ति कमजोर हुँदाका बेथिति सबैले देखेकै छौँ। यो अवस्थामा मैले उम्मेदवारी दिने तय गरेकी हुँ। आफ्नो परिवारभित्रका सबैबाट पूर्ण साथ र सहयोग पाउनेमा म विश्वस्त छु।’
नेतृ कोइरालाले आफूले लोकतन्त्र बलियो बनाउने एजेण्डा पनि प्रस्तुत गर्नुभएको छ । आफू नेतृत्वमा आएमा लोकतन्त्रमा कहिल्यै कसैसँग सम्झौता नगर्ने योजना बनाएको उनले सुनाइन्।
उनले लोकतन्त्र कांग्रेसको फेस भएको बताउँदै ‘नेपाली जनता र कांग्रेस कार्यकर्ताको त्याग र बलिदानलाई कहिल्यै नभुल्ने’ बताए। आगामी चुनावमा कांग्रेसले विगतमा गुमाएको वर्चस्व फिर्ता ल्याउन पनि उम्मेदवारी दिन लागेको उहाँको तर्क छ। हिमालय टाइम्स दैनिकबाट
Facebook Comment